पूर्वाधार मन्त्री लम्सालको भनाईबिरुद्ध ज्ञापनपत्र


भैरहवा- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आइतबार निर्माण व्यवसायीका वारेमा दिएको अभिव्यक्ति लगायतका विषयलाई लिएर लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले निर्माण व्यवसायीको सम्मान, सुरक्षा तथा निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्याल मार्फत मंगलवार सरकारलाई आठ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
मन्त्री लम्सालले आइतबार नौबिसे–मलेखु सडकखण्ड निरीक्षणका क्रममा बिजुलीको पोल सार्ने जिम्मा पाएका ठेकेदारको खुट्टा भाँचिदिनु भनेर दिएको अभिव्यक्तिप्रति संघले गम्भीर असन्तुष्टि जनाएको छ । उक्त अभिव्यक्तिले सम्पूर्ण निर्माण व्यवसायीको आत्मसम्मानमा चोट पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । निर्माण व्यवसायी राष्ट्र निर्माणका प्रमुख साझेदार भएकाले उनीहरूलाई अपराधी वा राज्यको विरोधीका रूपमा चित्रण गर्नु उचित नभएको संघका सचिब राजन ज्ञवालीले बताए ।
ज्ञापनपत्रमा निर्माण सामाग्रीको मूल्यवृद्धि, बजारमा हुने कालोबजारी, आवश्यक सामाग्रीको अभाव, बैंकिङ क्षेत्रको समस्या, श्रमिक अभाव, इन्धन तथा ढुवानी खर्चमा वृद्धि, सरकारी निकायबाट समयमा भुक्तानी नहुनु र सार्वजनिक खरिद प्रक्रियाका जटिलताका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गरिएको छ।
संघले निर्माण व्यवसायीको सुरक्षा र सम्मानको प्रत्याभूति गरिनुपर्ने, सम्पन्न योजनाको रोकिएको भुक्तानी तत्काल उपलब्ध गराउनुपर्ने, निर्माण सामाग्रीको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्ने, आवश्यक निर्माण सामाग्रीको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने तथा कानुन बमोजिम पाउनुपर्ने मूल्य समायोजन तत्काल उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकार, सरोकारवाला निकाय र निर्माण व्यवसायीबीच उच्चस्तरीय संवादको व्यवस्था गर्न तथा निर्माण क्षेत्रलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा स्वीकार गरी सोही अनुसार नीति तथा कार्यक्रम ल्याउन पनि संघले आग्रह गरेको छ । संघका अध्यक्ष रमेश बेल्बासेले मन्त्रीको अभिव्यक्तिपछि अबको दिनमा काम गर्ने वातावरण नरहेको बताए । कानुनी राज्यमा मन्त्रीबाट खुट्टा भाँच्ने अभिव्यक्तिले निर्माण व्यवसायी असुरक्षित भएको उनले जनाए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले मन्त्रीको अभिव्यक्तिबारे आफूलाई जानकारी नभएको जनाए । उनले संघसँगको सहकार्यमा आगामी दिनमा काम गर्ने बताए । ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पठाउने उनको भनाई छ । ज्ञापनपत्र बुझाउन संघका पदाधिकारी तथा सदस्यहरु प्रशासन कार्यालय पुगेका थिए ।








लेखकको सम्वन्धमा