स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली कस्तो हुनु पर्ने ?


भैैरहवा–स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीलाई मर्यादित, जवाफदेही, अनुशासित तथा सदाचारिता बनाउन सरकारले आचारसंहिता जारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेको हो । उक्त आचारसंहिता कार्यान्वयन गर्न मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
आफ्नो कार्यप्रति जिम्मेवार र लगनशील रहनुपर्ने, स्थानीय तहको कार्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा रहनु पर्ने, जनप्रतिनिधि, सेवाग्राही र सरोकारवालासँग सहयोगीका रूपमा इमानदार रही सेवाप्रवाहमा प्रतिबद्ध रहनुपर्ने गरी मन्त्रायले आचारसंहिता बनाएको हो ।
स्थानीय तहको कामबाट व्यक्तिगत लाभ हासिल गर्ने उद्देश्यले कुनै स्थान वा कसैको निवासमा सेवाग्राही, सेवाप्रदायक वा व्यवसायीसँग भेटघाट गर्न नहुने, स्थानीय तहको कामसँग सम्बन्धित कुुनै पनि व्यक्ति र संस्थाबाट कार्यपालिका र मन्त्रालयको स्वीकृति बेगर कुनै प्रकारको उपहार आतिथ्यता स्वीकार गर्न तथा आफूलाई गैरकानुनी रूपमा फाइदा पुग्ने कुनै पनि काम गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
कार्यालय होटेल रेस्टुरेन्ट तथा अन्य सार्वजनिक स्थानमा अस्वाभाविक र भड्किलो व्यवहार प्रदर्शन गर्न नहुने, कार्यालय समयको अतिरिक्त समयमा मन्त्रालयका सचिव तथा स्थानीय तहका प्रमुखबाट कानुन अनुसार कुनै काम गर्न निर्देशन प्राप्त भएमा तोकिएको प्रक्रिया पूरा गरी त्यस्तो कार्यलाई प्राथमिकता दिएर सम्पादन गर्नुपर्ने हुन्छ ।
योजनाको अनुगमन तथा भ्रमणमा जाँदा स्थानीय तहको अध्यक्षलाई जानकारी गराएर मात्र जानुपर्ने, भ्रमणबाट फर्केर आएपछि त्यसवारे लिखित प्रतिवेदन स्थानीय तहको कार्यपालिकामा पेस गर्नुपर्ने, कार्यालय समयमा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने, कसैको भनसुन र आग्रहबाट प्रभावित हुन नहुने प्रावधान आचारसंहितामा छ ।








प्रतिकृया दिनुहोस्