May 31, 2026, Sunday
२०८३ जेष्ठ १७ आईतवार

एआई एक्सरे विधिबाट ५२ जना क्षयरोगका बिरामी फेला परे

Advertisement

बर्दिया–क्षयरोग जाँचमा एआई (कृतिम बौद्धिकता) एक्सरे विधिको प्रयोग निकै प्रभावकारी देखिन थालेको छ । एआई एक्सरे विधिको प्रयोगबाट क्षयरोगका थप बिरामी फेला पर्न थालेका छन् ।

Advertisement

पछिल्ला केही दिन यता एआई एक्सरे विधिको प्रयोगबाट पाल्पा, बाँके, बर्दिया लगायत् लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा क्षयरोगका नयाँ बिरामी फेला परिसकेका छन् । लुम्बिनी प्रदेशका सवै जिल्लामा एआई एक्सरे विधिको प्रयोगबाट क्षयरोगको जाँच तथा खोजपड्ताल हुन भने बाँकी नै छ ।

पछिल्लो पटक एआई एक्सरे विधिबाट भएको क्षयरोग जाँच शिविरबाट बर्दिया जिल्लामा ५२ जना क्षयरोगका बिरामी फेला परेका छन् । बर्दियाको तीन वटा पालिकामा गरिएको क्षयरोग जाँच शिविरमा ती बिरामी भेटिएका हुन् ।

शिविरमा गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकाका ४ हजार ५ सय ८७ जनालाई ए आई एक्सरे विधिबाट क्षयरोग जाँच गरिएको थियो । जसमध्ये १ हजार १ सय ६३ जना व्यक्तीहरू शङ्कास्पद क्षयरोगका बिरामी भेटिएका थिए । उनीहरूलाई जि एक्सपर्ट विधिबाट खकार जाँच गर्दा ५२ जनामा क्षयरोग फेला परेको बिराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णध्वज चन्दले जानकारी दिए ।

उनका अनुसार राजापुर नगरपालिकामा २ हजार १ सय ४ जनाको जाँच गर्दा २३ जना, बारबर्दिया नगरपालिकामा १ हजार ७ सय १८ जनाको जाँच गर्दा १८ जना र गुलरिया नगरपालिकामा ७ सय ६५ जनाको रगत जाँच गर्दा ११ जना क्षयरोग पोजेटिभ फेला परेको हो ।

क्षयरोग फेला परेका बिरामीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । जसमध्ये, ४९ जना बिरामीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा आएर औषधी खान सुरु गरिसकेको संयोजक चन्दले बताए ।

बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले यस वर्ष १ हजार ७ सय १८ जनाको एआई प्रविधिबाट क्षयरोग जाँच गरिएको र आगामी वर्षमा पनि क्षयरोग जाँचका लागि कार्यक्रम राखिने जनाए । खकार जाँच महँगो पर्ने र एआई एक्सरे प्रविधि लुम्बिनी प्रदेशमा एउटामात्र भएकोले नियमित जाँचमा समस्या भएको भनाइ उनको छ ।