May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

नेपाली सेनाद्वारा नवनिर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण

Advertisement

भैरहवा–बिद्यालयका केही कक्षा कोठा जीर्ण भएर पठनपाठनमा समस्या आउन थालेपछि नेपाली सेनाले रुपन्देहीको रोहिणी गाउँपालिका–२, मैनिहवास्थित श्री राम आधारभूत विद्यालयमा दुई कक्षाकोठाको भवन निर्माण गरेको छ ।

Advertisement

नव निर्मित उक्त भवनको बुधवार उद्घाटन गरि समुदायमा हस्तान्तरण गरिएको छ । नेपाली सेनाको ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत श्री तारादल गणद्वारा निर्माण सम्पन्न गरिएको उक्त भवनको मध्य पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी हिम्मत बहादुर विष्टले उद्घाटन गरि हस्तान्तरण गरेका हुन् ।

नवनिर्मीत उक्त भवनको उपरथी विष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई औपचारिक रूपमा हस्तान्तरण गरे ।

विद्यार्थीको चाप समेत बढ्दै गइरहेको उक्त विद्यालयका केही कक्षाकोठाहरू चर्केर जीर्ण अवस्थामा पुगेको थियो । जीर्ण भवनका कारण पठन पाठनमा जोखिमयुक्त समस्या आउन थालेको जानकारी पाएपछि नेपाली सेनाले शीघ्र प्रभावी आयोजना अन्तर्गत दुईकोठे भवन निर्माण गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले सामुदायिक आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, खानेपानी र सामुदायिक पूर्वाधार लगायतका क्षेत्रमा स्थानीय समुदायसँग निरन्तर समन्वय गर्दै विभिन्न जनमुखी कार्यहरू सञ्चालन गर्दै आइरहेको उपरथी हिम्मत बहादुर विष्टले बताए ।

नयाँ भवन निर्माण भएसँगै अब विद्यार्थीहरूले सुरक्षित, व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्न पाउने भएका छन् । यस कार्यबाट मैनिहवा क्षेत्रका स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

यो नयाँ पूर्वाधारले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र बालबालिकालाई ढुक्क भएर पढ्ने वातावरण बनाउन ठूलो योगदान पु¥याउने विश्वास स्थानीयको छ ।