भैरहवामा रोलरले च्यापिएर र पौडी खेल्दा तीनजना बालकको मृत्यु


भैरहवा–पौडी खेल्ने क्रममा डुबेर र खेल मैदानमा राखिएको रोलरले च्यापिएर भैरहवामा एकै दिन तीनजना बालकले ज्यान गुमाएका छन् । उनीहरुमध्ये, १४ महिने एक नाबालक र दुईजना किशोर अवस्थामा स्कुले बिद्यार्थी हुन् ।
भैरहवास्थित सिद्धार्थ रङ्गशालाभित्र रोलरले च्यापिएर १४ महिने नाबालकको मंगलवार साँझ मृत्यु भएको हो भने मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मंगलवार दिउँसो दुईजना बिद्यार्थीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने दुवैजना कक्षा ८ मा अध्ययनरत बिद्यार्थी हुन् ।
मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६, खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डी बस्ने १३ बर्षीय प्रिन्स चौधरी र रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिलमा भाडामा बस्ने १६ बर्षीय सुरज गुप्ता छन् । प्राप्त जानकारी अनुसार, उनीहरु साथी साथी हुन् । गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा कक्षा ८ मा र चौधरी भैरहवास्थित लिलाराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बिद्यार्थी रहेको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी दिनेश कुँवरले दिए ।
उनीहरु डुबेको जानकारी पाउनासाथ उद्धारका लागि घटनास्थल प्रहरी पुग्दा उनीहरुको मृत्यु भैसकेको थियो । डुबेको अवस्थामैं प्रहरीले दुवैजनाको शब निकालेको हो । भीम अस्पताल भैरहवामा पोष्टमार्टम गरेपछि एकजनाको शव मंगलवार एकजनाको शव बुधवार घरपरिवारले बुझेर लगेका छन् ।
यसैगरी, सोमबार बेलुकी सिद्धार्थनगर नगरपालिकास्थित सिद्धार्थ रङ्गशालाभित्र मिनि रोलरले च्याप्दा १४ महिने नाबालकको मृत्यु भएको हो ।
सोमबार बेलुकी अन्दाजी ६ः२० बजे रङ्गशालाभित्र चावी खुल्लै राखिएको अवस्थामा एउटा मिनि रोलरमा खेल्ने क्रममा जुम्ला जिल्ला पाटा रासी गाउँपालिका–७ घर भई हाल रुपन्देही बस्ने नमु बुढाका छोरा १४ महिने बालक आयुष बुढा च्यापिन पुगेका थिए । नमु बुढा त्यही रङ्गशालामा काम गर्ने मजदुर हुन् ।
नमु बुढाका ४ वर्षीय छोरा आशिष बुढाले खेल्ने क्रममा अचानक उक्त रोलरको ह्यान्डिल चलाउँदा चावी खुलेपछि रोलर अचानक गुड्दा उनका १४ महिने भाइ आयुष रोलरमा च्यापिन पुगेका थिए । च्यापिएर टाउकोमा गम्भीर चोट लागेको आयुषको उपचारको क्रममा भीम अस्पतलामा मृत्यु भएको हो ।
रोलरको चावी यत्तिकै छोडेको आरोपमा रोलर चालक सिद्धार्थनगर नगरपालिका वडा-१ बेलहियाका ६५ वर्षीय जंगबहादुर थापालाई नियन्त्रणमा लिएको र थप अनुशन्धान जारी रहेको कुँवरले बताए ।








प्रतिकृया दिनुहोस्