May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बसाइँ सरेर आउने चरालाई वासस्थानकै समस्या

Advertisement

भैरहवा– यतिबेला नेपालका वनपाखामा विभिन्न मुलुकबाट बसाइँ सरेर थरीथरी चरा आइसकेका छन् । सयौं माइल पार गरेर आएका चरालाई यहाँ भने सुख छैन । उनीहरुका लागि सुरक्षित वासस्थानको अभाव छ । बासस्थान संकुचन तथा सिमसार अतिक्रमण, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग र वन डढेलोले संकट निम्त्याइरहेको छ ।

Advertisement

यस्तो संकटका कारण चराको दैनिकी, प्रजनन् र जीवनयापनमा चुनौती थपिएको छ । चरा पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्यका भए पनि पछिल्लो समय जलवायु परिवर्तनले चराको बसाइँसराइँको चक्रलाई प्रभावित बनाएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । आगन्तुक चरा रैथाने बन्न पुगेका छन् । जलवायु परिवर्तनले बचेराले राम्रो आहारविहार नपाउदा हुर्काउन समस्या भई चरा संकटमा पर्न थालेको उनले बताए ।

नदी ताल प्रदुषित हुँदै जानु, जलस्रोतमा विषादीको प्रयोग, वातावरण प्रदुषण र अबैध चोरी शिकारीले बसाइँसराई गरि आउने चरा सकसमा छन् । चराले निर्वाधरुपमा आवागमन गर्न पाउने वातावरण बनाउन बसँइसराइँ गर्ने चराको दिगो संरक्षण, तिनको आहारविहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि बिश्वव्यापी रुपमा हातेमालो गर्दै सचेतना अभिवृद्धि गर्न चराको विश्व बसँइसराइ दिवस मनाइन थालेको चराविद् कृष्णप्रसाद भुषालले बताए ।

जाडो सुरु भएसंगै हिउँदमा सिमसार क्षेत्रमा पानी हास र अन्य जलपन्छीले भरिभराउ देखिन्छन्, तर गर्मीयाम लाग्दै जाँदा ती चराहरू आफ्नै थातथालोमा फर्किन्छन् । त्यसैगरी गर्मी सुरुभएसँगै वन, बुट्यान घाँसेमैदान र कृषिभूमि मन पराउने चरा आउँछन् । चराले प्रजनन् क्षेत्रबाट चरन क्षेत्रसम्म हरेक वर्ष मौसम अनुसार नियमितरुपमा यात्रा गर्छन् । जसलाई चराको बसाइँसराइ भनिन्छ । अनकुल मौसम, सुरक्षित बासस्थान, अहारविहार र प्रजननका लागि चरा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँसरी आउनेजाने गर्छन् ।

हिउँदमा चखेवाचखेवी, खोया, नकटा, खडखडे, फुर्के, सिन्दुरे, नादुन, सुनजुरे र बेल्चाठुडे लगायत एकसय ५० बढी प्रजातिका चरा बसाइँसराई गरेर नेपालमा आउँछन् । रुस, चीन, मङ्गोलिया, किर्गिस्तानका साथै युरोप, कोरिया र तिब्बतीबाट जाडो छल्न नेपालमा हिउँदे आगन्तुक चरा आउँछन् । त्यस्तै गृष्ममा स्वर्गचरी, राजचरी, निलपुछ्रे र कटुसटाउके मुरलीचरा, जुरे कोईली, चित्रक र गाजले पिट्टा, रानी चरी र लालचुच्चे ठेउवा लगातय ६२ बढी प्रजातिका चरा आउँछन् । वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, मलेसिया र इण्डोनेशियासम्मबाट चरा यहाँ आई पुग्छन् । हिउँदे आगन्तुक चरा गर्मीयामको सुरुवातसँंगै आफ्नो बासस्थान फर्किसक्दा गृष्म आगन्तुक चरा बसाइँसराई गर्दै यहा आउँछन् ।

विश्वमा पाइने ११ हजार बढी चरा प्रजाति मध्ये करिव ४० प्रतिशत नियमित रुपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म बसँइसराइ गरिरहन्छन् । बसँइसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा र बाटो पहिचानका लागि सूर्य तथा ताराहरुको अवस्थितीको सहयोग लिएर उड्छन् । त्यस्तै नदी, भौगोलिक श्रृङ्खला र चुम्बकीय दिशा आदिको सहारा लिएर उड्ने गरेको विश्बास गरिन्छ । त्यस्तै बसाइँसराइका लागि उत्प्रेरित गराउने बंशाणुगत गुण पनि चराका बंशजमा स्थान्तरण हुँदै जान्छन् । चराले बसाइँसराइको बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई–वे) भनिन्छ । नेपालमा अहिलेसम्म ९ सय ३ प्रजातिका चरा पाइएको अभिलेख छ ।