May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

कपिलवस्तुका स्थानीय तहको बेरुजु १८ करोड

Advertisement

कपिलवस्तु— स्थानीय सरकारको बेरुजु घटाउन चुनौंती देखिएको छ । गत वर्ष पनि कपिलवस्तुका स्थानीय तहको उलेख्य बेरुजु देखिएको छ । गत वर्ष कपिलवस्तुका १० स्थानीय तहका १८ करोड रुपैयाँ भन्दा बढी बेरुजु पाइएको छ ।

Advertisement

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१–८२ मा सबैभन्दा बढी यशोधरा गाउँपालिका र वाणगंगा नगरपालिकाको कम बेरुजु देखिएको हो । जिल्लाका १० स्थानीय तहले १८ करोड २४ लाख १९ हजार रुपैयाँ वित्तीय अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । १० स्थानीय तहका १९ अर्ब ७३ करोड ६१ लाख २८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा सो बेरुजु देखिएको हो ।

सबैभन्दा बढी बेरुजु यशोधरा गाउँपालिका र सबैभन्दा कम बेरुजु वाणगंगा नगरपालिकाको छ । यशोधराको १ अर्ब ३९ करोड ३९ लाख ९ हजार रुपैयाँको लेखा परीक्षणमा ४ करोड ४१ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ । विजयनगर गाउँपालिकाको १ अर्ब ४७ करोड ७१ लाख १२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड ५९ लाख ३५ हजार रुपैयाँ बेरुजु पाइएको हो ।

शुद्धोधन गाउँपालिकाको १ अर्ब ३७ करोड ५८ लाख ७९ हजार रुपैयाँ लेखा परीक्षणमा १ करोड ६४ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । मायादेवी गाउँपालिकाको १ करोड ७२ लाख ७५ हजार रुपैयाँ बेरुजु छ । मायादेवीको १ अर्ब ६४ करोड ६२ लाख ७५ हजार रुपैयाँ लेखा परीक्षण भएकामा १.०५ प्रतिशत बेरुजु देखिएको छ ।

शिवराज नगरपालिकाको बेरुजु शून्य दशमलव ७५ प्रतिशत रहेको छ । २ अर्ब ३० करोड ३५ लाख ६८ हजार रुपैयाँ लेखा परीक्षण गरिएकामा १ करोड ७३ लाख ६८ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु उल्लेख गरेको छ । कपिलवस्तु नगरपालिकाको २ अर्ब ३० करोड ८० लाख ५९ हजार रुपैयाँ लेखा परीक्षण गर्दा शून्य दशमलव ६८ प्रतिशत अर्थात् १ करोड ५६ लाख ८४ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यसैगरी, कृष्णनगर र महाराजगन्ज नगरपालिकाको बेरुजु समान शून्य दशमलव ६१ प्रतिशत छ ।

कृष्णनगर नगरपालिकाको १ अर्ब ८७ करोड २४ लाख ९९ हजार रुपैयाँ लेखा परीक्षण गर्दा १ करोड १४ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ । महाराजगन्ज नगरपालिकाको १ अर्ब ९९ करोड ८७ लाख ९० हजार रुपैयाँ लेखा परीक्षण गर्दा शून्य दशमलव ६१ प्रतिशत अर्थात् १ करोड २१ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बुद्धभूमि नगरपालिकाको २ अर्ब २५ करोड ९८ लाख ७४ हजार रुपैयाँ लेखा परीक्षण गरेकामा शून्य दशमलव ५८ प्रतिशत अर्थात् १ करोड ३० लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ । वाणगंगा नगरपालिकाको ३ अर्ब १० करोड १ लाख ६३ हजार रुपैयाँ लेखा परीक्षण गर्दा ८८ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम वाणगंगाको बेरुजु शून्य दशमलव २९ प्रतिशत रहेको छ ।