May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नलाई हराएपछि जेआरलाई रेलिगेशनबाट जोगिने आश

Advertisement

भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ । उसले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले हराउँदै जित निकालेको हो । हारका बाबजुत मेलवर्न सेमिफाइनल पुगिसकेको छ भने आजको जितले जेआर रेलिगेशनबाट जोगिने झिनो आशा अझै बाँकी छ ।

Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मेलवर्नले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९० रन बनायो । उसलाई सस्तैमा रोक्न जेआरका विनय जिसीले ४, अनमोल श्रीस थापाले ३ र दिनेश विष्टले २ विकेट लिए । मेलवर्नका अशोक धामीले २६, आदित्य यादवले २४ र अस्मान थारुले २० रन बनाए । उसका ५ खेलाडी शून्य रनमै पेभेलियन फर्किए ।

जवाफी ब्याटिङ गरेको जेआरले ३० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विशाल भुसालले २७, खडक बोहराले २० र डालबहादुर क्षेत्रीले अविजित १९ रन बनाए । मेलवर्नका अशोक धामी र विपिन आचार्यले ३–३ तथा रामजी कुर्मीले २ र आरिफ अहमदले १ विकेट लिए । खेलमा विनय जिसी प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।