May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

सारस बन्यो कागजी नगरपन्छी, लुम्बिनीमै असुरक्षित

Advertisement

लुम्बिनी – लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपन्छी घोषणा गरेको छ । तर, सारस नगरपालिका भित्रैं असुरक्षित बनेको छ । नगरपालिकाले पन्छी संरक्षणमा ध्यान दिएको छैन । यतिसम्म कि एक साता अघि लुम्बिनी विकास कोषको १२ नम्बर गेटबाट उड्दै बाहिरिने क्रममा बिजुलीको नाङ्गो तारमा अल्झेर मरेको सारसको व्यवस्थापनसम्म गरेन । ‘नगरपन्छी’ मरेको ३ दिनसम्म नहटाउँदा उक्त क्षेत्र दुर्गन्धित बनेको थियो । पछि संरक्षणकर्मीले उक्त पन्छीको व्यवस्थापन गरेका थिए ।

Advertisement

लुम्बिनी साँस्कृतिक नगरपालिका–१२, आमागाउँ नजिक दुई महिना अघि तोरीबारीमा जीपीएस जडान गरिएको सारसको एउटा बचेरा मृत फेला परेको थियो । कुनै जनावरले आक्रमण गरेर उक्त बचेरा मारेको थियो । यी दुई उदाहरण मात्र हुन् । पछिल्लो समय लुम्बिनी क्षेत्रमासारस मर्ने क्रम बढिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सामु जोड्ने ‘ब्राण्ड’का रुपमा सारसलाई नगरपन्छी घोषणा गरिएको थियो ।

नगरपालिकाले सारसलाई कागजी नगरपन्छी बनाएर अपहेलना गरेको लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले बताए । ‘जनप्रतिनिधि कार्यकर्ता पोस्न तल्लिन छन्,’ उनले भने, ‘बोल्न नसक्ने सारसको आवाज कसले सुन्न ? ।’ चरा, प्रकृति र वातावरणको महत्व बुझ्न नसक्ने नगरपालिकाका पदाधिकारीका कारण लुम्बिनीमा सारसको अस्तित्व संकटमा पर्ने अवस्था रहेको उनको भनाइ छ ।

लुम्बिनी आसपास सारस संरक्षणमा काम गर्दै आएका कैलास जयसवालले २०८१ र २०८२ दुई वर्षमा ८ वटा सारस बिजुलीको तारमा ठोक्किएर करेण्ट लागेर मरेको भेटेको बताए । जनावरको आक्रमणबाट पनि १–२ वटा मरेका छन् । पछिल्लो १२ वर्षमा लुम्बिनी आसपास मात्रै बिजुलीको तारमा अल्झिएर ४२ वटा सारस मरेका जयसवालले बताए । गत ११ माघ र ३ पुसमा कपिलवस्तुको जगदीशपुर ताल नजिकै ११ हजार भोल्टको बिजुलीको नाङ्गो तारमा ठोक्किएर २ वटा सारस मरेको वरिष्ठ वाईल्डलाईफ फोटो पत्रकार राजेश ढुंगानाले बताए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाले २०७५ मंसिर १० गते लुम्बिनीस्थित वेबी बुद्धमा कार्यक्रम गरेर सारसलाई नगरपन्क्षी घोषणा गरेको थिए । नगरपन्छी घोषणाको ७ वर्ष भईसक्दा पनि सारस मारिने क्रम रोकिएको छैन । जसको नाममा नगरपालिकाले गर्व गरेर नगरपन्छी घोषणा गर्छ, त्यसको संरक्षणका लागि बजेट र योजना नबनाउनुले अवहेलना गरेको देखिने संरक्षणकर्मी अर्जुन कुर्मीले बताए । यसले सारसप्रति नगरपालिका कति संवेदनशील छ उदाङ्गो भएको उनको भनाइ छ ।

इन्टरनेश्नल क्रेन फाउन्डेशन (आईसिएफ) र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले २०८० मा मुलुकभर अध्ययन गर्दा ६९० सारस फेला परेको थियो । त्यसमध्ये ८० प्रतिशतभन्दा बढी रुपन्देही र कपिलवस्तुमा भेटिएका थिए । वरिष्ठ चाराविद् डा. हेमसागर बरालले सारस ‘हट स्पट’मा बिजुलीका नाङ्गा तार टागिँदा समस्या भएको बताए । ‘सारस पाइने ठाउँहरू चरा–मैत्री छैनन् । सारस अग्लो हुने भएकाले धेरै उचाइमा उड्न पनि सक्दैन,’ उनले भने, ‘यो हाइ अल्टिच्यूडमा उड्दैन, लो अल्टिच्यूडमा उड्ने हुँदा धेरै पर जाँदैन ।’ बजुलीको तार सारसको ठूलो शत्रु हुने गरेको उनले बताए ।