May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मानव तस्करीको बदलिँदो स्वरुपः चार महिनामा पुरुषसहित ११५ जनाको उद्धार

Advertisement

भैरहवा–चेलीबेटी बेचबिखन तथा मानव ओसारपसार विरुद्ध कार्यरत संस्था शुभ अवसर ग्राम नेपाल, भैरहवा शाखाले पछिल्लो चार महिनामा बेचबिखन र शारीरिक श्रम शोषणको उच्च जोखिममा परेका ११५ जना नेपाली नागरिकको उद्धार गरेको छ ।

Advertisement

सन् २०२६ को जनवरीदेखि अप्रिल महिनासम्मको अवधिमा रुपन्देहीका विभिन्न सीमा नाका र भारतका विभिन्न सहरहरूबाट उनीहरूको उद्धार गरिएको शुभ अवसर ग्राम नेपाल, भैरहवा शाखाका परियोजना प्रमुख सत्य नारायण यादवले बताए । उद्धार गरिएकामध्ये २६ जनालाई भारतका विभिन्न सहरहरूबाट उद्धार गरी स्वदेश फर्काइएको हो । ८९ जनालाई अवैध रूपमा भारततर्फ लैजान लागिएको अवस्थामा रुपन्देहीका विभिन्न सीमा नाकाहरूबाट नियन्त्रणमा लिई उद्धार गरिएको हो । भारतबाट उद्धार गरिएका २६ जना नेपालका विभिन्न २७ जिल्लाका हुन् । जसमा ९ जना पुरुष समेत रहेका छन् ।

संस्थाले भारतमा मानव बेचबिखन विरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ सँग सहकार्य गरी जोखिममा परेकाहरूको उद्धार, स्वदेश फिर्ती र पुनस्थापनाको कार्य गर्दै आएको छ । यसअघि सन् २०२५ मा यस शाखाले ३ सय ४९ जनाको उद्धार गरी १ सय ९७ जनालाई पारिवारिक पुनर्मिलन गराएको थियो । परियोजना प्रमुख यादवका अनुसार पछिल्लो समय चेलीबेटी बेचबिखन र मानव तस्करीको स्वरुप तथा शैली बदलिएको छ । ‘पहिले महिला, किशोरी र बालबालिका मात्र बेचबिखनको निसानामा पर्थे’ यादवले भने, ‘तर अहिले पुरुषहरू पनि बेचबिखन र विभिन्न खाले श्रम शोषणमा पर्न थालेका छन् ।’

तस्करहरूले पछिल्लो समय अपनाएको शैली झन् भयानक छ । नेपालबाट पुर्याइका किशोरी र बालिकाहरूलाई भारतका विभिन्न सहरका फ्ल्याटहरूमा दुई–तीन वर्षसम्म बन्धक बनाएर राख्ने र सामाजिक सञ्जालको माध्यमबाट यौन धन्दामा लगाउने गरिएको पाइएको छ । त्यसपछि मात्र उनीहरूलाई व्यावसायिक वेश्यालयहरूमा पुर्याउने गरेको पाइएको यादवले जनाए ।

विगत पन्ध्र वर्षदेखि भारतमा रहेर श्रम शोषण र बेचबिखनमा परेका नेपालीहरूको उद्धारमा सक्रिय ‘किन इन्डिया’ का संस्थापक नवीन जोशीले भारतमा नेपाली बालबालिकाहरूको अवस्था निकै दयनीय र जोखिमपूर्ण रहेको बताए । उनका अनुसार नेपाली बालबालिकालाई भारतमा सर्कस, भीख माग्न र लागुऔषध ओसारपसार जस्ता अति जोखिमपूर्ण कार्यमा प्रयोग गर्ने गरिएको छ । रोजगारीको बहानामा नेपालबाट जान प्रतिबन्ध रहेका मुलुकमा जान भारत हुँदै जाने प्रचलनले झन् जोखिममा पर्ने गरेका छन् ।

भारतमा प्रान्त अनुसार फरक–फरक कानुन हुने र धेरै प्रशासनिक निकायहरूसँग समन्वय गर्नुपर्ने लगायत्को कानुनी र प्रशासनिक जटिलताले भारतबाट नेपालीको उद्धार गर्ने काम सहज नभएको भनाइ उनको छ । कतिपय स्थानमा उद्धार गर्न जाँदा तल्लो तहका स्थानीय प्रहरीकै तस्करहरूसँग मिलोमतो हुने गरेको अनुभव उनको छ ।

नागरिकको सुरक्षा र उद्धारको मुख्य दायित्व सरकारको भए पनि नेपाल सरकार यसप्रति गम्भीर हुन नसकेको भनाए जोशीको छ । जोशीले उद्धार गरिएका नेपाली नागरिकलाई स्वदेश फर्काएर बुझाउँदा समेत सरकारी निकायहरूको असहयोगका कारण अनेक बिन्तीभाउ गर्नुपर्ने तितो यथार्थ सुनाए ।

‘हराएका तथा बेपत्ता भएका आफ्ना नागरिकको खोजी र उद्धार गर्ने मुख्य दायित्व सरकारकै हो’ जोशीले भने, ‘यस क्षेत्रमा कार्यरत सँस्था भनेको सरकारको सहयोगी मात्र हो । बेपत्ता भएका र जोखिममा परेकाको खोज तथा उद्धार गर्नका लागि सरकारी स्तरबाट बजेट लगायतका  कुनै सहयोग र सुविधा उपलब्ध छैन ।’