May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

कथाः छोरीहरू किताब हुन्

Advertisement

न्यायाधीश मुसुक्क हाँस्नु भयो । भन्नुभयो– यो त अविश्वास भयो । तपाईंहरू एक आपसमा विश्वस्त हुनुहुँदो रहेनछ । बहस सुन्न बसेका धेरै सहभागी हाँसे । प्रवीणा हाँसेनन् ।

Advertisement

उनीहरू अर्थात् प्रवीणा नहाँसेपछि न्यायाधीशले सोध्नुभयो– “यदि मसँग रसरङ्गको चेतना हुँदैनथ्यो भने उहिल्यै आत्महत्या गरिसकेको हुन्थेँ” यो भनाइ सुन्नुभएको छ, कसले भनेका हुन् ?

दुवैले टाउको हल्लाए–‘थाह छैन ।’

‘गान्धीजीले, महात्मा गान्धीले’ न्यायाधीशले हाँस्दै भन्नुभयो– “हाँस्नुहोस् र आत्महत्याको भयङ्कर बाटो छाड्नुहोस् ।”

आत्महत्या अपराधमात्र होइन पाप पनि हो…..न्यायाधीशले बोल्न थालेपछि अधिकांश सहभागी छक्क परे– न्यायका कुरा गर्लान् भनेको त पाप र पुण्य ! धर्मका कुरा ।

प्रवीणा, खासमा उनीहरू प्रवीण र वीणा थिए । प्रेममा एउटा नयाँ अभ्यासस्वरूप प्रवीण र वीणा शब्दको सन्धिबाट उनीहरूले आफूलाई प्रवीणा बनाएका थिए । उनीहरूले अदालतको बयानमा आफ्नो नाम क्रमशः प्रवीण उर्फ प्रवीणा र वीणा उर्फ प्रवीणा बताउँदा धेरै सहभागी छक्क परेका थिए, कस्ता जिनिस आएछन् यहाँ !

न्यायाधीशले बयानको कारवाही अगाडि बढाउन आदेश दिए ।

प्रवीणले पहिला चारैतिर र पछि न्यायाधीशलाई एकोहोरो हेरेर भने– ‘तिमीले मलाई जलाउन सक्दैनौ, त्यसैले मैले आफैँलाई समाप्त गरेँ’ भनेर भगवानलाई चुनौती दिन मानिसले रोजेको बाटो हो आत्महत्या ।

“अँ यो भनाइ कहाँबाट लिनुभयो ?”

विल महेर (जन्म २० जनवरी १९५६), अमेरिकी कमेडियन । ‘सेन्स अफ ह्युमर भएका मानिसले आत्महत्या गर्दैनथे भने यो संसारमा कसैले पनि आत्महत्या गर्दैनथे न्यायाधीश साप…’ प्रवीणले सोधे, ‘सेन्स अफ ह्युमर नभएका पनि मानिस हुन्छन् र ?’

बन्द ओठमाथि दुई औँला राखी आँखा चिम्लेका न्यायाधीशले थप भनाइ राख्न प्रवीणलाई सङ्केत गरेपछि प्रवीणले भने–

कलेस्ती बजारबाट दोभान र मादीको एकुवार हुँदै छाङ्गे बराहतलका ठूला ठूला ढुङ्गा र गल्छेडो पार गरी परेवा रहमाथि रहेको पहराको खोचमा पुग्यौँ ।

साउने झरी एकनास थियो ।

“सबै सल लेऊ”, मैले भनेँ । उनले दिइन् ।

मादीमा माछा मार्न सक्रिय लोग्ने मानिस र मादीले बगाएर ल्याएका दाउरा टिप्न आतुर दिदीबहिनी देखेर हामी रोमाञ्चित थियौँ । लोग्ने मानिसले एउटा लँगौटी मात्र लगाएका थिए । महिलाले छाती र अधोअङ्ग मात्र ढाकेका थिए । आखिर नाङ्गो हुनु र नहुन पनि समयसापेक्ष सन्दर्भ रहेछ !

वीणातिर सङ्केत गर्दै प्रवीणले सम्झिए–उनका बाबाले कृष्णाष्टमीको दिन छोरीले पकाएको चिचिण्डोको तरकारी र भुजा खाने भन्नुभएको थियो रे….।

हाम्रो टाउकोमाथि केही परेवा उडेका थिए । केही घुरिरहेका थिए । केही प्रेमातुर देखिन्थे । केही चुच्चो चुच्चो जोडेर निश्चल थिए; शायद कसैले नसुन्ने गरी सल्लाह गर्दै थिए कि !

यसैबीच मैले चारैवटा सललाई एकएक गाँठो पारेर लामो बनाएँ ।

“पुग्छ होला ।” उनले भनिन् ।

“आऊ, अल्लि यता । मसँगै टाँसिएर बस ।” उनी र म छाती टाँसेर उभियौं ।

पहराबाट तप्तप पानी चुहिएको थियो । मादी सुसाइरहेको थियो, मानौँ गीत गाएको थियो । त्यो पनि तीजका विरह लाग्दा गीत । चराहरू कराइरहेका, उडिरहेका थिए, यस्तो कि उनीहरू कोही गाइरहेका, कोही नाचिरहेका थिए ।

उनी र म टाँसिएपछि उनको छातीले मलाई घचेटेजस्तो, घोचेजस्तो भयो । कपाल, सिर्रर्र हावाले मेरो मुखमा ल्यायो । मैले बिस्तारै उनको कपाल हटाएँ ।

म जान्न चाहन्थेँ– “उनलाई कस्तो अनुभव भइरहेको छ ?”

मैले उनलाई छातीमा टाँसिन आग्रह गर्दै सलले फनफन्ती हामीलाई बेरेँ, पटुका बाँधेजस्तै । हामी एकाकार भयौँ । उनको र मेरो नाकनाक, मुखमुख, छातीछाती, नाभीनाभी र घुँडाघुँडा जोडिए । केही वर्षअघि जन्त जाँदा सुनेको–

प्राणस्ते प्राणान् सन्दिधामि

अस्थिमिस्ते अस्थानी सन्दिधामि

मांसस्ते मांसानी सन्दिधामि

त्वच्वा ते त्वच्वं सन्दिधामि ।

धार्मिक मन्त्रोच्चारणको याद आयो । शुरुमा मैले यसको अर्थ बुझेको थिइनँ । पछि शब्दको अर्थ मात्र नभएर यसको तात्पर्य, भावार्थ, व्यञ्जना वा बक्रोक्ति बुझेँ । मेरा पिताजीले बताइदिनुभएको थियो ‘प्राणमा प्राण, हड्डीमा हड्डी, मासुमा मासु र छालामा छाला समाहित होस् । एकाकार होस्,एकीकृत होस् ।’ हो हामी एकाकार हुन चाहन्थ्यौँ ।

दुवैजना मिलेर गाँठो कस्यौं ।

“फुस्कँदैन होला है ?”, उनले सोधिन् ।

“फुस्कँदैन । हामीले कसेको गाँठो अरूले फुस्काउन सक्ने कुरै भएन ! अब त हामीले पनि फुस्काउन सक्दैनौँ”, मैले भनेँ । त्यही विवाहमा यसरी नै कसिएको आँचल गाँठो देखेर म रोमाञ्चित थिएँ ।

उनको निधार र नाकबाट पानी चुहिएको थियो । मैले पुछिदिएँ ।

भुइँमा बस्न नमिलेपछि हामी छेवैको अग्लो ढुङ्गामा आढेस लिएर उभियौँ । लडियो भने एकैचोटि मादीमा खसिने भीर छ तल ।

जीवनको यो खण्डमा आइपुग्दा मैले कहिल्यै सोचेको थिइनँ, यस्तो क्षण पनि आउने छ ।

प्रवीणले स्कुलका दिन सम्झिए–

स्कुलबाट साँझ घर फर्कंदा आमाले मलाई घाँसको भारीमाथि राखेर फर्कनुहुन्थ्यो । कहिले वीणाका बाबा लिन आउनुहुन्थ्यो र हामी दुवैलाई डोर्याउँदै घर ल्याउनुहुन्थ्यो । घरबाट लिन नआउँदासम्म हामी सिसमटार स्कुलको वरको फेदमा कहिले विवाह गरेको, कहिले लोग्नेस्वास्नी भएको, कहिले ढुङ्गालाई छोराछोरी बनाएर सँगै सुतेको, कहिले मास्टर भएर पढाएको अभिनयमा खेल्थ्यौँ । कतिपटक मैले उनको सर्टभित्र मेरो झोला राखिदिएको थिएँ, ताकि उनी आमा र म बा हुन खोजेको दृश्य देखियोस् । कापीका पाना च्यातेर मैले उनको छातीमा स्तन बनाइदिन्थेँ । उनले बच्चालाई त्यो चुसाउँथिन् । म बिरामी भएका बेला उनले मलाई औषधी खुवाउँथिन् । मैले पनि यस्तै गर्थेँ । उमेर बढ्दै गयो । पहिला जस्तो खेल्न नमिले पनि असाध्यै माया गर्थ्यौं एकअर्कालाई ।

प्रवीण रोकिएसँगै न्यायाधीशको सङ्केतपछि वीणाले पुराना घटना सुनाइन्–

आमालाई हरेपले टोक्दा प्रवीणले मानिस खोजेर दमौली अस्पताल पुर्याउन सहयोग गरे । आमालाई कुरेर रातभरि हामी अस्पताल बसेका थियौँ । हामी दुवैको टाउकोमा हात राखेर आमाले, “तिमीहरू सँधै सँगै रहनू”, भन्नुभएको थियो तर हामी हार्ने अवस्था आयो । जित्ने कोसिसस्वरूप दुवैजना सलमा बाँधिएर बग्न चाहेका थियौँ ।

यही हो सल… झोलाबाट झिक्दै प्रवीणले देखाए– “हामी एक सेकेण्ड पनि छुट्टिएर बाँच्न नसक्ने भएपछि यसरी एउटै बन्धनमा बाँधिएर मर्न चाहन्थ्यौं ।” हामी परेवा रहमा एकैपटक हामफाल्न र मर्न चाहन्थ्यौँ । त्यसका निम्ति हामीले सलले बाँधिने निर्णय गयौँ ।

हामीलाई कसैले पनि विवाहका लागि सोधपुछ गरेनन् । हामीले पनि हाम्रा कुरा घरपरिवारमा भन्न सकेनौँ । जब कि समाज, घरपरिवार कोही पनि हाम्रा विरुद्ध थिएनन् ।

वीणाले थपिन्–

बरु कहिलेकाहीँ मान्दा मानिसले जिस्क्याउँथे– “कहिले दिने त बिहेको निम्ता ?” र पनि हामीलाई, हाम्रो उमेर र हाम्रा जिज्ञासा कसैले पढेनन् मानौँ हामी एउटा उपेक्षित पुस्तकमा रहेको एक थान कथा थियौँ । र थियौँ कथाका दुई थान अस्वीकृत पात्र । मसरहका सरला, विमला, विनु, चिनु र नन्दिका सबैको विवाह भइसकेको थियो ।

मेरो विवाहका बारेमा बाले चिन्ता गरेको सुनेकी थिएँ– “यो वर्षसम्मको सञ्चय कोष झिकेर भुइँचालोले भत्काएको घर बनाएँ, त्यसै वर्ष बर्खाले खेत बगायो, कच्ची घर भएकाले बैंकले धितो राख्न मानेनन्….. कसरी गर्ने छोरीको विवाह !?”

प्रवीणले भने–

“हो, सलले बाँधिने र सँगै बग्ने निर्णयपछाडि वीणाको धेरै दबाब थियो । उनी बाँच्न चाहन्नथिन् ।”

प्रवीणलाई रोक्दै वीणाले भनिन्– “मेरो विवाहको कारण बाबा तनावमा हुनुहुन्थ्यो ।”

वीणा निःशब्द भएपछि प्रवीणले थपे–

हामी एउटै सलमा बाँधिएर बग्न चाहेका थियौं । आफूसँगै सपना बगाउन चाहेका थियौं । सलमा बाँधिएपछि उनी निःस्वास मेरो काँधमा चिउँडो अड्याएर उभिइन् । म पनि त्यसरी नै उभिएँ । मानौँ हामी सजीव तर हावा नचलेका बखतका दुई वृक्ष थियौं । यसैबीच मैले भनेको याद छ– वीणा हामीले युगल आत्महत्याको अठोट गर्यौं र यज्ञ जित्यौं । मनसा, वाचा कर्मणा हामी सँगसँगै मरिसके । यो कुनै अनुष्ठानमा गरिएको भन्दा कम प्रतीज्ञा होइन । अठोट पनि आफैँमा यज्ञ हो । हामीसँग जीवन छ । जगत छ । हामीसँग यौनका अज्ञात उत्सुकता छन् । हामी यौनबाट यज्ञमा प्रवेश गर्न सक्नुपर्छ । मर्ने होइन ।

अहँ उनी मानिनन् ।

परेवा रहमा हामफाल्नुअघि मैले वीणालाई सकेसम्म च्यापेँ । उनले पनि मलाई त्यसै गरिन् ।

यस्तै अवस्थामा केही मानिसले हामीलाई पक्राउ गरे । पक्राउमा नपरेको भए हामी मादीमा हामफाल्न सक्थ्यौँ । सार्वजनिक स्थलमा सामाजिक मर्यादा भङ्ग हुनेगरी यौनजन्य कसुर गर्यौं भन्ने अभियोगमा हामीलाई पक्रिएको रहेछ  ।

“श्रीमान् ! प्रहरीको जाहेरीअनुसार सरकारी वकिल म आनन्द विवेक शर्मा घटनाका बारेमा केही बताउन चाहन्छु ।” रोष्टममा उभिएका एक व्यक्ति बोले– “प्रत्यक्षदर्शी बोटेहरूले देख्दा उनीहरू वस्त्रविहीन थिए । उनीहरूले सार्वजनिक स्थल पहरामुनि यस्तो अवस्थामा घन्टौँ बिताएका थिए, सामाजिक मर्यादा विपरीत । पछि मात्र सलले बाँधिएका हुन् ।”

प्रवीणले सङ्केत गरेपछि न्यायाधीशले उनलाई बोल्ने समय दिए । न्यायाधीशतिर फर्कंदै प्रवीणले भने–

हामी कस्तो अवस्था, मुद्रा वा स्वरूपमा मेटियौँ थाह छैन । हामी खुबै डराएका थियौँ । कसरी बोल्यौँ, हाम्रो अनुहार वा मनोदशा कस्तो थियो त्यो पनि हामीलाई थाह भएन तर हामीले ऊर्ध्व र अधो दुवै प्रकारका वस्त्र लगाएका थियौँ । नाङ्गो हुनु, नहुनु देख्नु, नदेख्नु समयसापेक्ष बुझाइ रहेछ । मान्नुहोस्, हामी लाश भएका थियौँ भने चितामा सुतेको कुन लाशले लाज मानेर आफूलाई छोप्न चाहन्छ ? आफ्ना अङ्ग लुकाउन चाहन्छ ? हामीले भन्दा कम लुगा लगाएर मादीमा जाल हान्ने वा दाउरा बटुल्ने एकले अर्कोलाई नाङ्गो देखेका थिएनन् शायद ।

लामो मौनतापछि वीणा भक्कानिइन् – “बाबालाई चिचिन्डोको तरकारी दिन पाइनँ ।” अश्रुपूर्ण उनी अवरुद्ध भइन् ।

वीणाको कुरा सुनेर बहस कक्ष स्तब्ध भयो । प्रहरी–प्रहरी हेराहेर । वकिलहरू हेराहेर । सहभागीमा चट्पटी र दिग्दारीको लामो सास ।

“अँ, वीणाका अभिभावकको डायरीको सङ्क्षेपीकरण प्रस्तुत गर्नुहोस्” न्यायाधीशले आदेश दिए ।

डायरीका केही लिखत हाइलाइट गरेर न्यायाधीशलाई देखाइयो–

मलाई सञ्चय कोषको ऋण थियो । खासमा त्यो हाम्रै पैसा थन्क्याइदिए बापत सञ्चय कोषले २००७ सालअघिका मुखिया, जिम्मुवालले जसरी चक्रवृत्ति व्याज लिन्छ, पत्रिकामा नाम निकाल्छ, लिलामीको सूचना जारी गर्छ । यही ऋणको व्यवस्थापन गर्दागर्दै छोरी हुर्केको, उसमा आएका शारीरिक तथा मानसिक परिवर्तन र आवश्यकता बुझ्नै सकिनछु । ऊ शिष्ट र शालीन छोरी हो । मलाई औधी माया गर्थी । यो सारा घटना मेरो कमजोरी र अज्ञानताले भएको हो । गल्ती मेरो, दण्ड उनीहरूले पाउने भए ! ऊ सिर्जनशील थिई । यो घटनापछि मैले उसको कोठामा दर्जनौँ प्रेमिल उपन्यास र कथाका किताब पाएँ । उसले प्रवीणलाई लेखेका चिठीहरू सिद्धहस्त साहित्यकारका उत्कृष्ट रचनाजस्ता लाग्थे ।

आमाको अभावमा वीणाले यो बाटो लिएकी हुन सक्छ । ऊ सात वर्षकी हुँदा आमा हरेपको टोकाइले थलिएर मरी । बाबाहरूले छोरीलाई बाहिरबाट मात्र पढ्न सक्दा रहेछन् । एउटा ठूलो किताबको एक अनुच्छेद जसरी । रहस्यले भरिएको त्यो किताब मैले पढ्न सकिनँ । मेरो अज्ञानता, जतिजति छोरी ठूली हुँदै गई उति म ऊसँग टाढाटाढा भएँ । एकदिन छोरी खाना खान आइन । धेरै बोलाएँ । रिसाएर झर्किएँ । गाली गरेँ । आफ्नो पुर्पुरोमा हत्केलाले हिर्काउँदै भनेँ–मेरो फुटेको कर्म, दिनभरि दुःख गरेर आएको छु…पकाएको खाना पनि खान नआउने । त्यसमाथि तेरो गनगन ।

“बाबा म आउन्न भान्सामा, खान्न खाना”, छोरीले रुँदै भनेकी थिई ।

भोलिपल्ट छोरीले साथी चिनुलाई भनेकी रहिछ–पहिलो पटक नछुने भएर ऊ भान्सामा नआएको कुरा । यस्तो अवस्थामा उनका साथीहरूको सबै व्यवस्थापन आमाहरूले गरिदिन्थे होला । उसले के गरी होला ? कसरी व्यवस्थापन गरी आफूलाई ?! म बाबु, बारको काठ ! त्यो दिन छोरी भोकै सुती । मलाई अहिले पनि खेद छ । छोरीका सन्दर्भमा हरेक बाबु आधा मानव पो हुन् कि भन्ने लागिरहन्छ । म त आधा नै हो ।

डायरीका पानाबाट आँखा झिक्दै गर्दा न्यायाधीश भित्रभित्रै उकुसमुकुस हुन्छन्–

“बाबालाई चिचिण्डोको तरकारी दिन नपाएकामा छोरीलाई पश्चाताप, छोरी भोकै सुतेकीमा बाबुलाई खेद, मैले कसलाई न्याय दिनुपर्ने हो, कसरी न्याय दिनुपर्ने हो ?”

सेतो कपाल, पावरदार चस्मा, केही शिथिल अनुहार, अन्यमनस्क, छटपट देह–भाषाका न्यायाधीश प्रहरीको मागदाबी पढ्न धेरैबेर निहुरिए । रातो कलमले ती मागदाबीमा अन्डरलाइन गरे ।

पहिला बिस्तारै र क्रमशः ठूलो स्वरमा न्यायाधीशले फैसला सुनाउँदै गए–

यो मुद्दामा कसैले जितेको छ भने प्रवीणाले जितेका छन् । अरू सबै हारेका छौँ । म न्यायाधीश पनि यस मानेमा हारेको छु कि मैले पनि छोरी नामका धेरै पुस्तक पढेको रहेनछु  । उनीहरूको मनोविज्ञान, विशेष आवश्यकता र सुसुप्त चाहना नेपाली समाज तथा परिवारले यथेष्ठ पढेको पाइँदैन । आज म फैसला र आदेशभन्दा पनि सबै बाबुहरूका नाममा आग्रह जारी गर्छु – “छोरीलाई पढ्नुपर्छ । छोरीहरू किताब हुन् ।”

सच्चा प्रेमका खातिर आवेगमा आएर, संवेगात्मक मनोद्दीपमा उनीहरू एउटै डोरीमा बाँधिएर मर्न चाहेका देखियो । मनसाय खराब देखिएन ।

आज उप्रान्त सबै बाबुहरूलाई आमाजस्तै भएर छोरीलाई बुझ्न, पढ्न र उनीहरूसँग अन्तरक्रियात्मक (इन्टरएक्टिभ) हुन आग्रह गर्छु । विद्वान् मनोविज्ञानवेत्ता श्री भीमशेखर कर्णलाई वीणाको मनोविज्ञान अध्ययन गरी सामाजिक उपचारार्थ उनका बाबुलाई सुझाव दिन आग्रह गर्छु ।

प्रहरीको दाबीअनुसार यी दुई व्यक्तिले फौजदारी कार्यविधि संहिताको दफा १२२ बमोजिम सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गरेको वा यौनाङ्ग देखाएको वा अश्लील शब्द बोलेका वा इसारा गरेको मुनासिव प्रमाण देखिएन । यसैगरी, फौजदारी कार्यविधि संहिताको दफा १८५ अनुसार कारबाही माग भएकामा यहाँ कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिने वा त्यस्तो काम गरेको परिस्थिति खडा भएको उचित प्रमाण पनि भेटिएन । यस्तो अवस्थामा यो मुद्दामा मुलुकी अपराध संहिता ऐन, २०७५ आकर्षित हुने अवस्था रहेन । फैसलाको पूर्ण पाठ तयार गर्न आदेश गर्छु ।

“अदालती फैसलाको पूर्णपाठ तयार होला कि हाम्रो आत्मकथा तयार होला” प्रविण सानो स्वरमा बोले ।  -sahityapost