September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

अर्घाखाँची सिमेन्टका कर्मचारी र मजदुरद्वारा बाढीपीडितका लागि ६ लाख ७५ हजार सहयोग

Advertisement

भैरहवा– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडमा कार्यरत मजदुर तथा कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

Advertisement

उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले आफ्नो पारिश्रमिक कटाएर उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । विपद्का बेला पीडितलाई थोरै भए पनि साथ दिनुपर्छ भन्ने भावनाका साथ सहयोग गरिएको उनीहरूले बताएका छन् ।

उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्की र नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेका अनुसार उद्योगका तर्फबाट यसअघि नै करिब सवा करोड रुपैयाँ बराबरको सहयोग गरिएको छ । त्यसबाहेक उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले व्यक्तिगत रुपमा रकम संकलन गरी बाढी प्रभावितका लागि सहयोग गरेका हुन् ।

रुपन्देहीको सियारी गाउँपालिकामा रहेको अर्घाखाँची सिमेन्टमा नेपाली र भारतीय गरी मजदुर तथा कर्मचारीसहित २ सय ९५ जना कार्यरत छन् । कार्यरत जनशक्तिमध्ये प्राविधिक कर्मचारी करिब ५० प्रतिशत भारतीय नागरिक छन् ।

विपद्का समयमा उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत मजदुर र कर्मचारीले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि सहयोग गरिएको महाप्रबन्धक कार्की र नायब महाप्रबन्धक पाण्डेले बताए । उनीहरुले अन्य उद्योग तथा प्रतिष्ठानमा कार्यरत मजदुर र कर्मचारीलाई समेत सक्दो सहयोग गर्न आग्रह गरे छन् ।

रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ । उक्त संकलित रकम मंगलबार राहत कोषमा जम्मा गरिएको छ ।

अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग