अब पाँच मिनेटमै हेल्मेट किटाणु रहित र सफा


भैरहवा– के तपाईंले प्रयोग गरिरहेको हेल्मेट मैलो र दुर्गन्धित छ ? त्यसो हो भने अब पिर नलिनुस् । तपाईंको सहरमा हेल्मेट किटाणु रहित र सफा बनाउने मेसिन आइसकेको छ । गैरे फ्रेशपोड नेपालले बिहीबार बुटवलमा सार्वजनिक गरेको मेसिनले हेल्मेट सफा मात्र बनाउँदैन, धुलो, दुर्गन्ध र जीवाणु हटाएर सफा, स्यानिटाइज्ड र सुगन्धित बनाउँछ ।
नेपालमा पहिलोपटक यस्तो मेसिन भित्र्याइएको हो । भारतमा उत्पादन गरिएको मेसिनले अन्तर्राष्ट्रिय रुपमा प्रशंसा बटुलिरहेको छ । बुटवलमै मुख्यालय रहेको गैरे प्रतिष्ठान अन्तर्गतको फ्रेशपोड नेपालले यो मेसिन भित्र्याएको हो । कम्पनीले बिहीबार बुटवलमा कार्यक्रम आयोजना गरेर उक्त मेसिन सार्वजनिक गरेको हो ।
कार्यक्रममा गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे र नाडा अटोमोबाइल एशोसियसन नेपालका सचिव मेघराज पौडेलले मेसिन सार्वजनिक गरेका हुन् । भारतको प्रतिष्ठित कम्पनी फ्रेशपोड इन्डियाले उत्पादन गरेको मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेशपोड प्रालि छ । बुटवल–१९, कालिकानगरस्थित गैरे फ्रेशपोड प्रालिले विशेष छुट सहित मेसिन विक्री थालेको छ । हेल्मेट सफाई गर्ने मेसिनको नेपालमा करिब ६ लाख रुपैयाँ मूल्य पर्छ । मेसिनले पाँच मिनेट भित्र हेल्मेट सफा गरिसक्छ ।
त्यसका लागि क्यूआरबाट पैसा तिर्ने व्यवस्था मिलाइएको छ । एकपटकको एक सय ७५ रुपैयाँ भुक्तानी गरेपछि मेसिनको ढोका आफैं खुल्छ । लगत्तैं मेसिनमा राखेको हेल्मेट पाँच मिनेट भित्र किटाणुरहित र सफा हुने कम्पनीको दाबी छ । प्रतिष्ठानका अध्यक्ष गैरेका अनुसार लामो समय हेल्मेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जम्ने समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्र्याइएको हो ।
मेसिनमा अनलाइन क्यूआर भुक्तानी प्रणाली समेत जडान गरिएको उनले जानकारी दिए । नगद बोक्नुपर्ने झन्झट बिनै ग्राहकले डिजिटल माध्यमबाट सहज रुपमा सेवा शुल्क भुक्तानी गर्न सक्ने उनको भनाई छ ।
भारतमा सन् २०२५ मे ४ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले उक्त मेसिनको औपचारिक उद्घाटन गरेका थिए । छोटो समयमै भारत, श्रीलंका तथा अफ्रिका लगायतका देशमा विस्तार भएको फ्रेशपोडले अहिलेसम्म २ सय भन्दा बढी मेसिन बिक्री गरेर ५ लाखभन्दा बढी हेल्मेट स्यानिटाइज गरिसकेको कम्पनीले जनाएको छ ।
फ्रेशपोडले भारतमा गुणस्तरीय सेवाका लागि गोल्ड मेडल, सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीमा समेत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको संस्थापक भास्करकुमार लकजुले बताए । गैरे प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेका अनुसार मेसिनले जम्मा ५ मिनेटमा हेल्मेट भित्रको धुलो, दुर्गन्ध र जीवाणु हटाई सफा, स्यानिटाइज्ड र सुगन्धित बनाउँछ । मेडिकल ल्याब परीक्षणबाट प्रमाणित प्रविधिबाट स्यानिटाइज गरिएको हेल्मेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यस्तो सेवा विशेषगरी मोटरसाइकल चालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेल्मेट प्रयोगकर्ताका लागि उपयोगी हुनेछ । नियमित हेल्मेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास पनि गैरे फ्रोशपोडले व्यक्त गरेको छ । कम्पनीले अब नेपालभर सेवा सुरु गरेको जनाएको छ । आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल तथा टू–ह्वीलर डिलर एंड सर्विस सेन्टर नेटवर्कमार्फत सेवा विस्तार गरिने जनाएको छ । प्रतिष्ठानका निर्देशक गैरेका अनुसार हेल्मेट स्यानिटाइजिङ मेसिनको मूल्य भ्याटसहित ५ लाख ९५ हजार रुपैयाँ छ । एक वर्षको म्यानुफ्याक्चरिङ वारेन्टी समेत उपलब्ध छ ।








प्रतिकृया दिनुहोस्