रूपन्देहीमा अर्को आदेश नहुँदासम्म रातिमा कर्फ्यु र दिउँसोमा निषेधाज्ञा


भैरहवा– जिल्ला सुरक्षा समिति, रुपन्देहीले दिउँसोमा निषेधाज्ञा र रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । यसअघि प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले पब्लिक कुरासँग कुराकानी गर्दै निषेधाज्ञा र कर्फ्यु हटाइएको बताएका थिए । बिहीबार साँझ लगाइएको कर्फ्यु आज बिहान ७ बजे सकिएपछि अर्को निर्णय भएको थिएन ।
तर, मध्यान्न बसेको जिल्ला सुरक्षा समिति बैठकले दिउँसोमा निषेधाज्ञा र रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले जारी गरेको आदेशमा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ र उपदफा ३ (क) बमोजिम यही २७ गतेदेखि अर्को आदेश नभएसम्म दिउँसोमामा निषेधाज्ञा र रातिमा कर्फ्यु आदेश गरिको छ ।
सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश हरेक दिन राति १० बजेदेखि बिहान ६ बजेसम्म लागू गरिएको छ । यो निर्णय अर्को आदेश नआउँदासम्म लागू हुनेछ । कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन ।
यस्तै, निषेधाज्ञा हरेक दिन विहान ६ बजेदेखि राति १० बजेसम्म लागू गरिएको छ । निषेधाज्ञा पनि अर्को आदेश नहुँदासम्म यथावत रहने पाण्डेले बताए । निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन । यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कडा भन्दा कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।
सुचारु हुन थाल्यो भैरहवा नाका, भन्सारद्वारा अत्यावश्यक वस्तुको जाँचपास सुरु








प्रतिकृया दिनुहोस्