June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

राजनीति र उद्यममा अब्बल पुनम, उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकांक्षी

Advertisement

भैरहवा– राजनीतिसँगै उद्योग संचालन गर्दै आएकी भैरहवाकी पुनमकुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षी छन् । सिद्धार्थनगर–८ निवासी उनी लामो समयदेखि रास्वपामा सक्रिय छन् । बिहीबार रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमा पुनमको नाम पनि छ । पार्टीले अनलाइनमार्फत् उम्मेदवार बन्न चाहनेलाई फर्म भर्न आह्वान गरेको थियो ।

Advertisement

आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा रास्वपाले जसरी पनि जित निकाल्ने रणनीति बनाएको छ । जसअनुसार उम्मेदवारहरुको सर्टलिस्ट पनि सार्वजनिक गरेको छ । सबै प्रक्रिया पुर्याएर पार्टी उम्मेदवार टुंग्याउने जनाइएको छ । रास्वपाले सार्वजनिक गरेको नौं जना आकांक्षीहरुमा मधेशी महिलाहरुबाट पुनम एक्लो दावेदार देखिएकी छन् ।

मारबाडी समुदायकी उनी किन रास्वपाको उम्मेदवार बन्न लागेकी हुन् ? पार्टीमा कहिलेदेखि आबद्ध भइन् ? उनको योग्यता र क्षमता के छ ? के उनले टिकट पाइन् भने रास्वापको पक्षमा निर्वाचन परिणाम पार्लिन् ? धेरैले यसबारे सोधीखोजी गरिरहेका छन् ।

पुनम निकटहरुका अनुसार उनी विगत दुई वर्षदेखि पार्टी सदस्य भएर काम गर्दै आएकी छन् । यस्तै, पार्टी सिद्धार्थनगरको नगर सचिव समेत भएर काम गरिन् । पार्टीको विधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलाई अध्ययन गरेकी छन् । पुनमले लामो समयदेखिको मुलुकको राजनीति, नेतृत्व र विधिबारे अध्ययन गरेको उनी निकटहरुको दावी छ । ‘हाम्रो पार्टीले अघि सारेका एजेण्डा, पार्टी सभापतिको कुशल नेतृत्व र मुलुकको विकासप्रतिको स्पष्ट दृष्टिकोणले गर्दा उहाँले रास्वपा रोज्नु भएको हो’, रास्वपा सिद्धार्थनगरका एक स्थानीय नेताले भने, ‘पुनमजी योग्य हुनुहुन्छ, उहाँले उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता छ । तर, पार्टीको कुरा हो, कसले टिकट पाउँछ भन्न सकिँदैन ।’

पुनम विगतमा एक राष्ट्रिय पार्टीका तर्फबाट सामानुपातिक सांसदको सूचिमा समते थिइन् । भने, सिद्धार्थनगरको प्रमुख (मेयर) मा समेत उम्मेदवार बनेकी थिइन् । यसले गर्दा उनको राजनीतिप्रतिको लगावलाई थप बलियो बनाएको मात्रै छैन, यहाँका मतदातासँग समेत घुलमिल गराएको ती नेताले बताए । पुनमले पब्लिक कुरासँग कुराकानी गर्दै भनिन्– ‘रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताको मात्रै होइन मैले समग्र जिल्लाको सम्भावना बुझेकी छु । यहाँका समस्यासँग परिचित छु, समस्या समाधानका उपायहरु पनि बुझेकी छु । यसैले मैले रास्वपाबाट उपनिर्वाचन लड्न चाहेकी हुँ ।’

आफूले राजनीतिलाई पेसा नभई सेवा ठान्ने बताइन् । उनी युवा उद्यमी समेत हुन् । ‘राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना गर्दै मुलुकको समृद्धिमा टेवा पुर्याउन निरन्तर लागेकी छु । उद्यमसँगै मैले राजनीतिलाई निरन्तरता दिँदै रास्वपाको अभियानमा लागेकी छु’, उनले भनिन्, ‘हाम्रो परिवारको लगानीमा नेपालमै पहिलो रुपन्देहीमा ग्रोमोर दानेदार अग्र्यानिक मल उद्योग संचालित छ । यसँगै अन्य व्यवसायिक फर्ममा समेत लगानी गरी रोगारी सिर्जनामा लागेकी छु । तर, राजनीति छाडेकी छैन ।’

उनी यही अग्र्यानिक मल उद्योगका कारण ‘मान्छे र माटोको स्वास्थ्य’ जोगाउने उद्यमीको रुपमा मुलुकको अग्रणी मिडिया हाउस अनलाइनखबरको ५० प्रभावशाली महिलाहरुमा पर्न सफल भई राष्ट्रियस्तरकै सम्मान समेत पाएकी छन् । मेडिकल बायोलोजीमा स्नातकोत्तर (डिग्री) अध्ययन गरेकी छन् । उनले विगतमा भैरहवा मेडिकल कलेज र देवदह मेडिकल कलेजमा केही समय अध्यापन समेत गराएकी थिइन् । ‘मैले खुल्ला प्रतिस्पर्धाबाट भारत सरकारले दिँदै आएको पीएचडी स्कलरको विद्यार्थी हुने मौका समेत पाएकी छु’, उनले भनिन्, ‘मसँग अन्य धेरै क्षेत्रमा काम गरेको अनुभव पनि छ ।’

नेपाल–भारत मैत्री केन्द्रको केन्द्रीय कमिटी सदस्य समेत हुन् । यसबाहेक विभिन्न सामाजिक संघसंस्थाहरुसँग जोडिएर समाजसेवा पनि गर्दै आएकी छन् । गरिब, विपन्न र असाहयहरुका लागि आर्थिक, सामाजिक र विभिन्न सामाग्री समेत सहयोग गरिरहेको उनी बताउँछिन् । ‘हेर्नुस्, मैले जानकारीमा आएको हरेक कुरा अध्ययन गर्छु’, उनले पब्लिक कुरासँग भनिन्, ‘मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र वैदेशिक गतिविधिबारे अध्ययनरत छु । रास्वपाले उठाएका राष्ट्र, राष्ट्रियता, सुशासन र विकासका योजनाबारे ज्ञान राख्छु ।’

उनले ठूला दलका नेताहरुका कारण मुलुक आज जर्जर अवस्थामा आएको सुनाइन् । ‘मुलुकमा ब्याप्त भ्रष्टाचार, कुसाशन छ । हाम्रो सभापति रवि लामिछानेर्ला प्रतिसोधकै कारण थुनामा राखिएको छ’, उनले भनिन्, ‘मुलुकको सम्भावना, विकास र समृति तथा राजनीतिक प्रतिसोधबारे हाम्रो पार्टीले उठाएका एजेण्डालाई थप स्थापित गर्न म उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षा राखेकी हुँ ।’

क्षेत्र, यहाँका जनताको मनोभावना, विकास, सम्भावना र समस्यासँग ज्ञान राख्ने भएकाले पनि उम्मेदवारीका लागि दावी गरेकी उनले सुनाइन् । ‘मेरो दावी हो, बाँकी कुरा पार्टीले डिसिजन गर्ला’, उनले भनिन् । मिश्रित समुदायको बसोबास र व्यापारिक थलो रहेको यो क्षेत्रमा मधेशी समुदायको बाहुल्यता छ । मधेशी, युवा, उद्यमी र राजनीतिककर्मी समेत भएकाले क्षेत्रका अधिक नागरिकसँग परिचित भएको उनले सुनाइन् । ‘मेरो हरेक समुदायका मानिससँग परिचय छ, चिनजान छ, राजनीति बाहेक व्यवसायिक र सामाजिक कामले पनि घुलमिल छु’, उनले सुनाइन् ।

उनले आफू जस्ता महिलालाई अवसर दिए स्थानीय र राष्ट्रियस्तरमा क्षेत्र, पार्टी तथा मुलुकको वतदिन सकिने बताएन । ‘पार्टीका योजना, सभापतिमाथि भएका राजनीतिक प्रतिशोध, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास, सुशासन र समृद्धिका पाइलाबारे स्पष्ट खाका कोर्न सक्छु’, उनले भनिन् । क्षेत्रका जनताको मनोभावना र पार्टीको विश्वासलाई थप बलियो बनाउन पनि आफूलाई योग्य उम्मेदवारका रुपमा प्रस्तुत गरेको उनले जनाइन् ।

यी हुन् रास्वपा रूपन्देही–३ को उपनिर्वाचनका लागि आकांक्षी