June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

यी हुन् रास्वपा रूपन्देही–३ को उपनिर्वाचनका लागि आकांक्षी

Advertisement

भैरहवा– रुपन्देही–३ को आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ९ जना आकांक्षी देखिएका छन् । रास्वपाले आह्वान गरेको अनलाइन आवेदनमा नौजनाले उम्मेदवार बन्न इच्छा व्यक्त गरेका हुन् । रास्वापा निर्वाचन आयोगले अनलाइनमार्फत् दर्ता भइ सदर भएका आकांक्षीहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । साउन ७ गतेदेखि २१ सम्म उम्मेदारले आवेदन दिने समय थियो । रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यले काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी निर्वाचन आयोगबाट प्राप्त नामावली सार्वजनिक गरेका हुन् ।

Advertisement

रास्वपाले सार्वजनिक गरेको नामावली अनुसार पार्टीका केन्द्रीय सदस्य कुशुम महर्जन, रुपन्देही क्षेत्र नं. ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य तथा २०७९ मा सोही क्षेत्रका उम्मेदार जितबहादुर गुप्ता (शेखर), पार्टी जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्री, पार्टी सिद्धार्थनगर सचिव तथा भैरहवाकै महिला उद्यमी पुनमकुमारी अग्रवाल, भैरहवाका डा. लेखजंग थापा, भैरहवाकी ज्ञानु पौडेल, अमेरिकाबाट निर्वाचनकै लागि आएका बुटवल सेमलारका शुलभ खरेल, भैरहवाकै पार्थिवेन्द्र उपाध्यायले आवेदन दिएका छन् ।

सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्यले अब उम्मेदार छनोटको विधिअनुसार अघि बढ्ने जनाए । ‘यसका लागि साउन २३ र २४ गते उम्मेदारको दावी विरोध, २५ गते नामावाली प्रकाशनपछि छलफल गर्ने र भदौ ११ सम्म उम्मेदारसँग विभिन्न विषयमा प्रशिक्षण गरिने छ’, उनले भने, ‘भदौ १२ र १३ मा आन्तरिक निर्वाचन गरी १५ गते उम्मेदारको घोषणा गरिने छ ।’

२०७९ को आमनिर्वाचनमा रुपन्देही–३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जीतबहादुर गुप्ताले ५ हजार ७९६ मत ल्याएका थिए । त्यो निर्वाचनमा एमाले र राप्रपाको तालमेलबाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई बोहराले पराजित गरेका थिए । करिब १ डेढ लाख मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । समानुपातिक र स्थानीय तहको मतका आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो दल देखिन्छ ।

चैत महिनादेखि रास्वपा सभापति रवि लामिछाने रुपन्देही कारागारमा छन् । यो यही निर्वाचन क्षेत्रमै पर्छ । लामिछानेलाई भेट्न आउने नेता तथा कार्यकर्तासमेतले यहाँ रास्वपाको चहलपहल बढाएको छ भने यहाँ रहेका सबै वडालाई केन्द्रित गरेर शीर्ष नेताहरुले चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् । नेताहरुलाई भेट्दा पनि लामिछानेले यो उपनिर्वाचनलाई जसरी पनि आफ्नो पक्षमा पार्नेगरी अगाडि बढ्न निर्देशन गरिरहेका छन् । कारागारबाटै उनले पार्टीका सबै कमिटीलाई योजना दिइरहेका छन् । लामिछानेको योजनाअनुसार रास्वपाले संसदीय दलको बैठकसमेत यहीँ क्षेत्रमै राखेको थियो ।

पार्टीका जिल्ला नेताहरुका अनुसार आवेदन धेरैको परे पनि ४–५ जनाभित्रै मुख्य प्रतिस्पर्धा हुनेछ । ‘मुख्य दावेदारी ४–५ जनाबीचकै हुनसक्छ अरुको दावी त रहने भयो तर आन्तरिक निर्वाचन भए फिल्डमै धेरै समय काम गर्न नसक्नुभएका नेताहरु भाग नलिन सक्नुहुन्छ’, एक नेताले भने, ‘यो सदस्यहरुबाट निर्वाचन भएर जाने विधि पूर्णरुपमा लागू भए भूगोल बाहिर काम गरेकालाई समस्या हुनेरहेछ ।’

ती नेताका अनुसार आकांक्षी धेरै भएपनि मुख्य दावी गरेर फिल्डमा धेरै खटिएकामध्ये क्षेत्रीय सभापति तिलोत्तमाका मधु अर्याल, अमेरिकाबाट निर्वाचनकै लागि आएका र रवि लामिछाने तथा स्वर्णिमलाई धेरैपटक सहयोग गरेका बुटवल सेमलारका अधिवक्ता शुलभ खरेल, भैरहवा घर भई काठमाडौंमा बस्ने केन्द्रीय सदस्य कुशुम महर्जन (जो यसअघि समानुपातिक सूचिमा नाम भएर उम्मेदारीका लागि त्यसबाट हटाउन पार्टीमा निवेदन दिएकी थिइन्), नगर सचिव पुनमकुमारी अग्रवाल, भैरहवाकी महिला नेतृ ज्ञानु पौडेल, यसअघि सोही क्षेत्रबाट उम्मेदार बनेका भैरहवाका जितबहादुर गुप्ता (शेखर) को दवाव बढी रहेको छ ।

यसैगरी भैरहवाकै पार्टीको जिल्ला कोषाध्यक्ष रचना क्षेत्री, डा. लेखजंग थापा र पार्थिबेन्द्र उपाध्याय पनि स्थानीयको हिसाबले बलिया उम्मेदार हुन् । तर भूगोलमा कम काम गरेको र अरु जिम्मेवारीमा भएकाले आन्तरिक निर्वाचन भए कार्यकर्ताको रोजाईमा पर्न नसकिने त्रासले सबै मैदानमा नजान पनि सक्ने नेताहरुको आंकलन छ ।