June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

फलोअपः तस्करसँग साठगाँठ गर्ने रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मी परिवर्तन

Advertisement

भैरहवा– रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरले विवादित बडिगार्ड र निवास सुरक्षाका खटिएका दुईजना प्रहरी कर्मचारी परिवर्तन गरेका छन् । सिडिओको सुरक्षार्थ खटिएका बडिगार्ड र निवास सुरक्षामा खटिएका प्रहरी कर्मचारीले रुपन्देहीमा तस्करहरुसँग साठगाँठ गरेर रकम असुली र बार्गेनिङ धन्दा चलाएको बारे मंसिर ३ मा पब्लिक कुरा डटकमले समाचार प्रकाशन गरेको थियो ।

Advertisement

सिडिओको बडिगार्ड र सुरक्षामा प्रहरी हवल्दार दुजमान भण्डारी मगर, हवल्दार रेशम राना र जवान प्रकाश सारु खटिएका थिए । उनीहरुले रातिराति तस्करी नियन्त्रणको नाममा जिल्लाका सीमा क्षेत्रमा पुगेर तस्करहरुसँग बार्गेनिङ गर्ने र असुली गर्ने गरेको तथ्य प्रमाण पब्लिक कुराले प्राप्त गरेको छ । यही आधारमा समाचार पब्लिक कुरामा प्रकाशित भएको थियो ।
सिडिओ घिमिरेले हवल्दार मगरलाई यथावत राखेर अर्का हवल्दार रेशम राना र जवान प्रकाश सारुलाई परिवर्तन गरेको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ । उनीहरुको ठाउँमा नयाँ प्रहरी कर्मचारी खटाइएको रुपन्देही प्रहरीले बताएको छ । तर, मगरलाई परिवर्तन नगरिएको र आफूहरुलाई मात्रै निसानामा पारिएको भन्दै राना र सारु रुष्ट बनेका छन् ।

मगर र सारु मिल्ने साथीहरु हुन् । यही कारण सारुले जिल्ला प्रहरी कार्यालयमा ड्यूटी गरे पनि बस्न भने प्रशासन कार्यालयमै जाने गरेका छन् । ‘मुख्यम नाइकेलाई राखेर दुईजनालाई मात्रै परिवर्तन गरियो’, प्रशासनका एक कर्मचारी भन्छन्, ‘मगरले यसअघिका सिडिओहरुको पावर लगाएर अहिलेका सिडिओलाई कन्भिन्स गरेको हुनुपर्छ ।’

रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मीको ‘तस्करहरूसँग साठगाँठ’

असुली धन्दाले प्रहरी बर्दीको ‘बद्नाम’ गराइरहेका इप्रका बेलहियाका घुमुवा कार्की