May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

‘सडक पूर्वाधारमा जोड दिएका छौं’

रुपन्देहीका स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई र पूर्वाधार बिकासलाई प्राथमिकता दिएका छन् । पालिका प्रमुख र उपप्रमुखले चुनावी वाचा पूरा गर्नुका साथै स्थानीय बासिन्दाका तत्कालका आवश्यकता पूरा गर्नतर्फ ध्यान रहेको बताएका छन् । उनीहरुले पालिकालाई वातावरणमैत्री बनाउँदै समृद्ध तुल्याउनेतर्फ जोड दिएको बताएका छन् । पब्लिक कुराले रुपन्देहीका स्थानीय तहका प्रमुख–उपप्रमुखसित श्रृंखलाबद्ध उनीहरुका बिकास योजना र काम कारबाहीका बारेमा कुराकानी गर्न थालेको छ । प्रस्तुत छ, रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलको बिचार :

Advertisement

देवदह नगरपालिकाले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि झण्डै ६५ किलोमिटरको दुरीमा रहेको देवदहलाई जोडेर पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेको छ । देवदह नगरपालिका–९ को खयरडाँडा कोलियहरुको दरवार क्षेत्र हो । यहाँका पुराना भग्नावशेष दरवारको उत्खननका लागि लुम्बिनी विकास कोषसँगको प्राविधिक सहयोगमा काम भइरहेको छ । त्यस्तै, वडा नं. ८ मा रहेको पाँकडी बृद्धको संरक्षण, त्यहाँसम्म पुग्ने सडक र पूर्वाधार संरचनाको निर्माणमा नगरपालिका जुटिरहेको छ ।

Advertisement

हजारौं वर्ष पुरानो पाँकडी बृक्षको ऐतिहासिक विशेषता छ । सात तलाको आकारमा रहेको रुख १ हजार वर्ष भन्दा पुरानो भएपछि रुखको कुनै पनि हाँगा अहिलेसम्म सुकेको छैन् । निकै ठुलो आकारमा चारैतर्फ समान रुपमा फैलिएको रुखमा कहिल्यै चरा बस्दैनन् । चराले गुँड बनाउँदैनन् । सधै हरियाली रहने रुखका पात कहिल्यै जमिनमा झर्दैनन् । रुखले ओगटेको क्षेत्रको जमिनमा पात नझर्ने र रुखमा चरा नबस्ने भएकाल रुखको फेँदको जमिन सधै सफा रहन्छ । रुखको नजिक कुनै जंगली जनावर जाँदैनन् । दर्जनौ विशेषता रहेको पाँकडी रुख हेर्न अहिले दिनहुँ पर्यटकहरुको भिड लाग्ने गरेको छ । त्यसको संरक्षण र विकासका लागि नगरपालिकाले प्राथमिकताका साथ योजनाहरु अघि सारेर पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

त्यस्तै, नगरपालिकाले वडा नं. ६ को उजेरी भन्ने स्थानमा रहेको अर्को अनौठो रुखलाई संरक्षण गरेर पर्यटकीय विकास गर्न थालेको छ । मगरबस्तीका बाहुल्यता रहेको उजेरी गाउँ नजिकैको जंगलमा रहेको रुख कुनै मानिसले छोयो भने डरले काँप्ने र रुखका सबै हाँगा र पातहरु हल्लिने गर्छन् । त्यस स्थानलाई पनि पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी उजेरी गाउँलाई होमस्टे बनाउने गरी नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । त्यो बाहेक शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकताका साथ योजनाहरु अघि बढाएको छ । सडक पूर्वाधार विकास गरी हराभरा, स्वच्छ र सुन्दर देवदह बनाउने हाम्रो अभियान छ ।