हरितालिका तीजको महत्व


विविधतामा एकता रहेको तीज पर्वमा सबै समुदायमा आ–आफ्नो तरिकाबाट सम्पन्न गर्ने गरेको पाइन्छ । धार्मिक, सामाजिक, संस्कृतिक महत्व बोकेको यो पर्वले नारी सशक्तिकरण र समुहिकताको खुसी र पारिवारिक सद्भाव समेत झल्काएको तीज संस्कृतिको महत्व महिलाहरूसँग जोडिएको छ । यो पर्व देश विदेशमा रहेका हिन्दु महिलाहरूले विशेष उत्साहका साथ मनाउने गरेको पाइन्छ ।
तराईमा बस्ने प्रायः सबै समुदायका महिलाहरूले मान्दै आएको पाइएको छ । कृष्ण जन्माष्टिमीदेखि सुरु हुने यो पर्वको चहलपहल रौनकताका साथ रेडियो टेलिभिजनहरूमा तीजका गीतहरू बज्न थालेबाट सुरू भएको सङ्केत पाइन्छ । महिलाहरूले आफूलाई सिंगारिने सामाग्रीहरू समेतको किनबेच गर्न थाल्दछन् । भाद्र शुक्ल तृतीयाका दिन नेपाली महिलाहरूले तीज पर्व सम्पन्न गर्ने परम्परा रहेको छ । तीजलाई कतै हरतालिका नाम दिइएको छ भने कतै हरितालिका नाम भन्ने गरिएको छ । यस अर्थमा पार्वतीलाई सखीहरूले हरण गरी वनमा लगेको हुँदा हरत–आलिका=हरतालिका, हरित (अपहह्त)–अलिका= हरितालिका यसरी दुबै नामले प्रचलित रहेको छ ।
सामाजिक सञ्जालमा देखिने तस्बिर र भिडियो अनुसार विदेशमा रहेका नेपाली चेलीबेटीले आफनै मौलिक परम्परमा तीज मनाएको देखिन्छ । अष्ट्रलिया, अमेरिका, भारत आदि थुप्रै देशहरूमा मौलिक रूपमा नै फैलिदै गाएको पाइन्छ । विश्वमै नेपालीहरू फैलिएर रहेकाले यो संस्कृति पनि फैलिएको हो । जसले गर्दा हिन्दु महिलाहरूको तीज पर्वले व्यापकता पाएको छ । तीज पर्वले निकै ठूलो महत्व बोकेको पाइन्छ । यस दिन भगवान श्रीकृष्णको न्वारनको भएको दिन हुँदा विशेष हर्षोल्लासका साथ मनाउने चलन चलेको भनाइ एकातिर रहेको भने अर्कोतिर यसै दिन पार्वतीले शिवजीलाई पति रूपमा पाउनका लागि कठोर तपस्याका गरेकाले शिवजीको दर्शन पाएर उनको मनोकांक्षा पुरा गरेर उनलाई पत्नीको रूपमा स्वीकार्न सक्षम भए भन्ने जनविश्वासले पनि माहिलाहरूले आफ्नो पतिको सुस्वस्थ्य र दीर्घायुको कामनाका साथ व्रत लिने गरेको पाइन्छ । अविवाहित नारीहरूले असल र आफूले सोंचे जस्तो वर पाउने कामनाका साथ तीजको व्रत लिन्छन् ।
तीज पर्व दुई दिनमा सम्पन्न गर्ने परम्परा रहेको छ । यस दिन विवाह गरेर दिएको दिदीबहिनीहरूलाई बोलाएर दर खुवाउने तथा माइती देशका चेलीहरूसँग रमाइलोका साथ दुःख सुखको कुराले गीत गाएर रमाइलो गरिन्छ । तीजको अघिल्लो दिन दर खाने दिनका रूपमा मानिन्छ भने अर्को दिन नुहाईधुहाई गरेर व्रत बस्ने गरिन्छ । यस अवसरमा नयाँ वस्त्र लगाई विवाहित महिलाहरूले सधवाको चिन्ह स्वरूप रातो सारी, रातै चोलो, सिन्दूर, पोते, गरगहना आदिले झकिझकाउ भएर देवमन्दिरमा पूजाआजा गर्ने र सामूहिक गीत गाउने र नाचने गर्दछन् ।
साथै मन्दिर, खुल्ला मञ्च र बाटाघाटामा नाच्दै-गाउँदै हिंडेका उन्मुक्त महिलाहरूको ताँती देख्न सकिन्छ । मारवाडी समुदायमा पनि महिलाहरूले सोह्र सिंगारले सिङ्गारिएर विधिपूर्वक गणेश, नवग्रह, कलश, षोड्शमातृका, नवदुर्गा आदिको पूजा गरी सोभाग्यका सामग्रीसहित वस्त्र दान दिने परम्परा रहँदै आएको छ । गंगाजीको माटोले शिवपर्वतीको प्रतिमा बनाएर जल, पञ्चामृत, मोलि (काचो धागो), रोलि (अबिर-रङ), चन्दन, चावल, फूल, बेलपत्ता, प्रसाद, मिठाई आदिले पूजा गर्ने र दक्षिणसहित धोती, गम्छाका साथै सुहागको जोडा चढाएर शिवपार्वतीको षोड्शोपचार विधिले पाठपूजा गरेर अनेक रूपमा भजनकीर्तन तथा नाचगान गर्ने परम्पराका साथै पूजा सम्पन्न पछि कथा सुन्ने, आरती गर्ने र घरको मुख्य महिला (सासू वा जेठोबाठो)लाई सुहागको जोडा, दक्षिणा र मिठाइ दिनुका साथै ब्राहमणलाई गम्छा, धोती र दक्षिणा दिने गरिन्छ ।
शिवपार्वतीको मूर्ति वा फोटोलाई विसर्जन गरी पुरोहितलाई दानदक्षिणा तथा एक जोड कपडा दिने र पुरोहित्नीलाई सुहागको एक जोडा कपडा दान दिएपछि यो पूजा सम्पन्न गरेर मात्र खानपान गरिन्छ । भोलिपल्ट तृतियका दिन झुलाझुली झुला उत्साव मनाउने समेत गरेको पाइन्छ । तराईवासी तथा मधेसी समुदायका महिलाहरूले पनि तीजको व्रत निराहार बस्दछन् ।
यस दिन पानी समेत मुखमा हाल्नु हुँदैन भन्ने मान्यता रहेकाले महिलाहरू पूर्ण रूपमा निराहार व्रत बस्ने चलन छ । यसरी निराहार व्रत बसेको भोलिपल्ट पूजाआजा गरेर पुरोहितलाई दानदक्षिणा दिएर मात्र खानपान गर्ने परम्परा छ । यसरी यो समुदायमा २० वर्षसम्म तीजको व्रत बसेपछि संज्ञा अर्थात् उद्यापन गर्ने चलन पनि रहेको छ ।
सामाजिक सद्भाव तथा पारिवारिक मिलन राख्ने यो पर्व पछिल्लो समयमा समयअनुसार केही परिमाजर्न हुदै गएको छ । अहिलेका नारीहरू आफै पनि क्रियशील र आर्थिक रूपमा सबल अर्थात कामकाजी भएकाले समय परिस्थिति बदल्नु स्वभाविक हो ।








लेखकको सम्वन्धमा