May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

केही कर्मचारीको गुनासो– ‘पहुँचवालाकै हालिमुहाली भयो’

Advertisement

भैरहवा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ को स्थापना भएको एक महिना बित्न नपाउँदैको अवधिमा कर्मचारी सरुवाको बेथिति सम्बन्धि गुनासा अत्याधिक पर्न थालेका छन् ।

Advertisement

पहुँचवाला कर्मचारी सधै सिंहदरबार लगायत् आकर्षक र कमाउवाला कार्यालय तथा निकायमा र पहुँचविहीन दुर्गममा नै बस्न बाध्य हुनु परेको भन्ने खालका गुनासाको उक्त केन्द्रमा चाङ नै लाग्न थालेको छ । सरकारी कर्मचारीद्वारा प्रदान गरिने सेवा प्रवाहमा देखिएका समस्याको समाधान गर्न मन्त्रालयले गत साउन ८ गते ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको थियो ।

मन्त्रालयका सूचना अधिकारी तथा सुशासन प्रवद्र्धन शाखाका उपसचिव भूपेन्द्र सापकोटाले गुनासो व्यवस्थापन केन्द्रमा आउने अधिकांश गुनासा कर्मचारी सरुवासँग सम्बन्धित भएको बताउँछन् ।

उनका अनुसार, पाँच–छ वर्षसम्म एउटै कार्यालयमा कार्यरत रहेको तर सरुवाका लागि पटक–पटक मन्त्रालयमा निवेदन दिए पनि सरुवा हुन नसकेको, मधेश प्रदेशका स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्यहाँको नियमित कार्यसम्पादन र सेवा प्रवाह नै ठप्प भएको, स्थानीय तहमा निमित्त प्रमुख, प्रशासकीय अधिकृत रहेको र निमित्तबाट दीर्घकालीन महत्व राख्ने काम हुन नसकेको जस्ता गुनासा आएका छन् ।

यसैगरी, कतिपय कर्मचारीको सात वर्षदेखि दुर्गम स्थानीय तहमा नै बस्दा पनि सरुवा नभएको तर पहुँचमा भएका कर्मचारी भने सधै सिंहदबार आसपासका कार्यालयमा घुमिरहेका लगायत गुनासा मन्त्रालयमा आएका छन् । मन्त्रालयमा विगत केही वर्षदेखि कर्मचारी सरुवाको बेथिति झाँगिँदै गएपछि यस खालको सरुवा बेथिति रोक्नुपर्ने गुनासो व्यवस्थापन केन्द्रमा आउन थालेका छन् ।

स्थानीय तहमा वरिष्ठतम कर्मचारी बहाल भए पनि कनिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको, एउटै विज्ञापनबाट स्थायी नियुक्ति लिइएका समायोजनका क्रममा स्थानीय तहमा समायोजन भएका कर्मचारी अहिले आठौं तहमा पुगेका तर संघमा कार्यरत कर्मचारी छैठौं नै भइरहेकाले छैठौं तहका कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउँदा ती कर्मचारीको आत्म मनोबल गिर्ने गरेको लगायत गुनासा पनि कर्मचारीहरुको छ ।

‘तत्काल सम्बोधन गर्न सकिने गुनासालाई टेलिफोनबाटै सम्बोधन गरिएको छ भने फोनबाट सम्भव नभएका गुनासालाई सम्बन्धित महाशाखा र सहसचिवहरूको समूह रहेको उच्च व्यवस्थापन केन्द्रमा पठाउने गरिएको छ’, सापकोटाले भने ।