कथाः आशक्त


बेलुकीको खाना खाइसकेर सावित्री जुठेल्नामा भाडा माँझ्दै थिइन् । श्याम कक्षा १२ को परीक्षाको नतिजाको पर्खाइमा थियो । कक्षा १२ पछि के पढ्ने भन्ने अन्योल नतिजा नआउन्जेल हुनु स्वभाविक कुरा हो । केही दिनको पर्खाइपछि परीक्षा नतिजा सार्वजनिक भयो । त्यसपछि श्याम घरपरिवारकै सल्लाहमा उच्च शिक्षाका लागि गाउँबाट काठमाडौ‘ हिँडे ।
घरको आर्थिक अवस्था आफ्नो लगानीमा डाक्टर पढ्ने थिएन । छात्रवृतिबाट पढ्न भनि विभिन्न कलेजहरूमा परीक्षा दिए । तर त्यसपटक छात्रवृतिमा नाम निस्कन सकेन । अर्कोपटक परीक्षा दिएर नाम निकाल्न समय खेर जाने भयो ।
श्यामले “आमा अर्को पटक परीक्षा दिँदा नाम निस्कने भए त म घरमै बसेर पढ्थेँ” भने । सावित्रीले एउटामात्र छोरा समय खेर गयो भनेपछि बाधा हुन्छ कि भन्ने सोचले श्यामलाई भनिन् होइन, “बाबु ! पढाई रोक्नु हुँदैन तिमी पढ । पैसा हामी व्यवस्था गर्छौ ।” त्यसपछि श्यामले कम्प्यूटर इन्जिनियरिङ् पढ्न थाले ।
श्यामका बाबा किसान थिए । श्यामका बाबा आमाले निकै संघर्ष गरेर बल्ल तल्ल छोरालाई पैसाको पुरै व्यवस्था गरे । श्यामको घरमा बाबा आमा र एक बहिनी थिइन् । छोराले पनि निकै सङ्घर्ष गरेर आफ्नो पढाइलाई निरन्तरता दिँदै पुरा गरे ।
श्यामले कम्प्यूटर इन्जिनियरिङ् पढाइ पुरा त गरे तर देशको परिस्थितिले गर्दा भने जस्तो जागिर पाउन सकेनन् किनकि उनी कुनै राजनीतिक पार्टीमा आबद्ध थिएनन् । सावित्रीले “अब त छोराले पनि कमाउँछ । घर पनि थोत्रो भएको छ । घर नयाँ बनाएर मात्र छोरीको बिहे गर्नु पर्ला” भनेर आफ्ना श्रीमान् प्रेमप्रसादलाई भन्छिन् । प्रेमप्रसाद केही बोल्दैनन् ।
छोरालाई पढाउँदा प्रेमप्रसादको परिवारको मिहेनत र परिश्रमको कमाइ केही रहेन । अब उनीहरूको आशा भने कै श्याम हो । श्याम जागिर नपाएर भाँैतारी रहेको थियो ।
टेलिफोनको घण्टी बज्छ । सावित्रीले फोन उठाएर “हेलो” भन्न नपाउँदै श्यामले “आमा केही पैसा भए पठाइदिनु, घरबेटीले घरभाँडा मागे छन् मसँग पैसा छैन ।” यस्तो शब्द सुन्ने बित्तिकै सावित्री केही बोल्न सकिनन् ।
घरको परिस्थिति श्यामले राम्रोसँग बुझ्न पाएका थिएनन् । बहिनी मिराले घरमै बसेर पढेकाले घरको सबै परिस्थिति राम्रोसँग बुझेकी थिइन् । परिस्थिति जे–जस्तो भए पनि आमाको मन नै हो मानेन । आफ्नो कानमा लागाएको मडेरी बेचेर छोरालाई पैसा पठाइन् । आमाले यो कुरा प्रेमप्रसाद र मिरा दुबैलाई भनिन् तर छोरालाई केही थाहा दिइनन् ।
मिरा बुझ्ने भइसकेकी थिइन् । उनको पनि बिहे गर्ने उमेर भएको छ । उनी गाउँकै सरकारी स्कूलमा पढेर कक्षा १२ को परीक्षा दिइसकेर त्यहीँ गाउँमै एउटा बोर्डिङ् स्कुलमा पढाउन थालेकिछिन् । उनले घरको परिस्थिति सबै देखिसकेकी छिन् । त्यसैले आमालाई भन्छिन्, “आमा हजूरले यसरी आफ्नो गहना बेचेर दाइलाई पैसा पठाएको कुरा दाइलाई भन्नु पर्छ । भोलि घरमा कोही बिरामी भयो भने त्यहीँ गहना बेचेर उपचार गर्न पर्ने अवस्था आउन सक्छ ।” सावित्रीले “टाँडा बसेको छोरो घरको पीर लिएर दुःख पाउँला” भन्दै घरधन्दामा लाग्छिन् ।
मीरा बुझ्ने र जवान हुँदै गइराखेकी छिन् । उनलाई बिहे गर्ने कुरा जताततै चल्न थाल्यो । हुन पनि छोरी जवान भएपछि यस्ता कुरा चल्नु स्वभाविक नै हो । मिराले घरको परिस्थिति देखेको भएर आमालाई भन्छिन्, “आमा म अहिले बिहे गर्दिनँ । घर बनाएर भाउजू भित्राएपछि बल्ल म बिहे गर्छु ।” यस विषयमा प्रेमप्रसाद केही बोल्दैनन् । सावित्रीले “त्यसो भनेर कहाँ हुन्छ छोरी, छोरी मान्छे अर्काको घर जाने जात, भने जस्तो केटो आए समयमै बिहे गर्नु पर्छ । दाई र घरको पीर तिमी नगर ।”
मीरालाई पनि अझै अगाडि पढेर आफ्नै खुट्टामा उभिनु इच्छा छ तर घरको परिस्थितिले गर्दा आफ्ना इच्छालाई दबाएर बसेकी छन् । उनले बिहे गरेपछि पढेर आफ्नो खुट्टामा उभिने इच्छा कदापि पुरा हुदैन भन्ने कुरा बुझेकी छन् ।
सावित्रीले केही पैसा खोजी सामान्य घर मर्मत गेरेर मीराको बिहे पल्लो गाउँमा बस्ने शिक्षण पेशमा आबद्ध भएको सोहनसँग गर्ने निर्णय गरिन् । यस विषयमा मिराले केही प्रतिक्रिया दिइनन् । बिहेको केही दिन अघि श्याम पनि घर आएका थिए ।
श्यामको पनि बल्ल तल्ल सानो तिनो जागिर लागेको थियो । बहिनी अन्माएपछि श्याम एकदिन मात्र घर बसे । उता उनको बल्ल तल्ल लागेको जागिर धेरै विदा पनि मिलेको थिएन । त्यो एकदिनमा आमाबाबाले व्यवहारको विषयमा केही पनि कुरा गर्न पाएनन् । हिड्ने बेलामा प्रेमप्रसादले “बाबु ! छुट्टि मिलाएर घर आइज, घर व्यवहारका सरसल्लाह गर्नु छ” यति मात्र भने । सावित्री केही बोलिनन् । गहभरि आँशु लिएर बसिन् । बिहेको चहलपहलपछि सबै हिडेपछि सावित्रीको घर सुनसान भयोे ।
श्यामले जागिर गरेको पनि एकवर्ष भइसक्दा पनि घरमा पैसा पठाउन सकेको थिएनन् । सायद जागिर खाए कै कारण उनीसँग पैसा बच्दैन्थ्यो । त्यसैले उनसले आफ्नै व्यवसाय गर्ने निधो गरे । आमालाई फोनमा “आमा काठमाडौँ जस्तो शहरमा पैसा बचाउन सकिन त्यसैले म आफ्नै व्यवसाय गर्ने निधो गरे ।” आमाले “बाबु आफ्नो व्यवसायको लागि लगानी चाहिन्छ होला । घरमा ऋण लागेको छ ।” श्यामले “हजुर तनाव नलिनु म सबै व्यवस्था गर्छु” छोराको कुरा सुनेपछि आमा केही बोल्दिनन् ।
दुई वर्षको अवधिमा श्यामले राम्रो कमाउँछन् । त्यस लगतै उनले आँफैले रोजेको केटीसँग विवाह गर्छन । यस विषयमा उनले घरमा एकचोटि मात्र कुरा गरेका थिए । आमाले “खान्दान हेर्नु पर्छ बाबु, चिना मिलाउनु पर्छ अनि बल्ल केही तय गर्न सकिन्छ ।” भन्ने कुरा गरेपछि उनी त्यसपछि केही कुरा घरमा गर्दैनन् । दसैमा घर जाँदा आफूसँगै दुल्ही प्रियालाई लिएर जान्छन् । यो देखेपछि घरमा सबै छक्क पर्छन् । तर साबित्रीले यो कुरालाई ढाकेर “घरको अवस्थाले गर्दा खर्च जोगाउन मैले नै आज्ञा दिएकी थिएँ” भन्छिन् । यो कुरा सुनेपछि कोही केही बोल्दैनन् । छोराप्रतिको मोहले गर्दा सावित्रीले सबै दोष आफ्नो थप्लोमा लिईन् । बिवाहको ढोगभेटको कार्य दसैको अघिल्लो दिन भयो । दसैँ कै दिन छोराबुहारी घर टिका लगाएर ससुराली टिका लगाउन भनि हिँडे ।
श्यामले पैसा कमाएका थिए । त्यो देखेर नै होला प्रियाको माइतीले हठ्ठा कठ्ठा जवान श्यामलाई पारिवारिक पृष्टिभूमि केही नसोधि बिवाह गरिदिएका थिए । एक वर्षमा श्यामले काठमाडौँमा घर, गाडी सबै सुबिधा सम्पन्न गरेर बस्न थाले ।
घर व्यवहारको विषयमा उनले बुझ्नै चाहेनन् । घरमा सञ्चो बिसञ्चो सोध्न मात्र फोन गर्थे । साबित्रीले पनि आफैले दुःख गर्थिन तर घरको व्यवहारको कुरा छोरासँग भन्ने मौका नै पाइनन् । यसै गरी दिनचार्य बित्दै गयो । श्याम पैसा कमाउने काममा मात्र व्यस्त रहन थाले । प्रियाले पढ्ने इच्छा गरेकाले खर्चको व्यवस्था गरी घरमा काम गर्ने मान्छे समेत राखि दिए । उनी स्वतन्त्र रूपमा पढ्न सकुन भनेर हरेक व्यवस्था आफैले गरिदिए ।
एक दिन साँझ अचानक श्यामको मोबाइलमा टिरिङ् टिरिङ् घण्टी बज्यो । सावित्रीले “बाबू, दसैंकै दिन हिँड्यँौ । प्रियासँग बस्ने रहर अधुरो नै रह्यो । समय मिल्छ भने दुबैजना केही दिन छुट्टि मिलाएर घर आउँदा कसो होला ।” भन्ने शब्द मोबाइलमा सुनियो । श्यामले “अहिले फुर्सद छैन” भने ।
“तिम्रो फुर्सद नभए पनि प्रियाको छ होला केही समय हामीसँग बस्दा हाम्रो पनि अत्यास मेटिन्थ्यो ।” साबित्रीले भनिन् । श्यामले प्रियासँग एक शब्द पनि नसोधि “अँ छैन, उसको पनि फुर्सद । कलेज पढ्न थालेकी छन् ।”
घरपरिवारदेखि टाँडा आफूसँग मात्र नौली दुल्हीलाई सबै सुविधा सम्पन्न गरी राखे । शायद अल्लारे वैश, काम केही गर्न नपर्ने, एक्लोपनले प्रियाको दिमागमा नकरात्मक प्रभाव पर्दै गयो । घरपरिवार कसैलाई मतलब नगर्ने, कोही आए पनि नरुचाउने, माइत मात्र जाने, माइती मात्र राम्रा अरु सबै खराब भावनाहरू उनमा पलाउन थाल्यो ।
घरमा मिठो खाएको दिन छोराबुहारीलाई नसम्झेको दिन हुँदैन्थ्यो । दिनहूँ यसरी छोराबुहारीको सम्झनाको पीरलो सावित्रीलाई परेको देखेर प्रेमप्रसादले केही समय छोराबुहारीसँग गएर बस्न आग्रह गर्छन् । सवित्रीको पनि ठुलो इच्छा हुन्छ । “धेरै समय भयो छोरा बुहारी आउँदैनन् यसपालि म नै केही समय छोरा बुहारीसँग बसेर आउँछु ।” भनेर सावित्री जाने तयारीमा कोसेली बनाएर लिएर काठमाडौँ हिँड्छिन् ।
एकाबिहानै श्यामको मोबाइल घण्टी बच्छ “बाबु म काठमाडौँ आउँदैछु बसपर्कमा लिन आउनु ल ।” आमा आउने कुरा सुनेपछि छोरा आश्चर्यमा पर्छन् । तर कसैसँग केही कुरा गर्दैन्न । अफिस् जाने बेलामा प्रियालाई दूई हजार रुपैया दिदैँ “भरे आमा आउदँै हुनुहुन्छ सब्जी के के सकिएको छ ल्याउनु ।” भन्दैँ श्याम हिड्छन् । श्याम हिड्ने वित्तिकै प्रिया पनि माइत हिड्छिन् । साँझ श्यामले आमालाई सँगै लिएर आउँदासम्म पनि प्रियाको अत्तो पत्तो हुँदैन । एक घण्टापछि मात्र एउटा पलाष्टिकमा एक पटक हुने सब्जी लिएर घर भित्र पस्छिन् । आमालाई ठाडो हातमा “दर्शन” गरी त्यहीँ सोफामा बस्छिन् ।
श्यामले “आमा थाकेर आउनु भएको छ आजको खाना तिमी बनाऊ” भन्छन् । काम गर्ने सहयोगी मालतीले सबै व्यवस्था मिलाइदिन्छन् अनि प्रियाले खाना बनाएर टेबुलमा सबैलाई पस्किन्छिन् । सबैलाई पस्केर आफू पनि सँगै बसेर खान थाल्छिन् । त्यसदिन सबै थाके जस्तो अनुभव गरी श्यामले आमा सुत्ने ठाउँ व्यवस्था मिलाएर सबै आ–आफ्नो विस्तारामा सत्ने काम मात्र हुन्छ ।
भेलिपल्ट बिहानै साबित्री उठेर नुहाईधुहाई गरी श्यामलाई कालो चिया बनाएर दिन्छिन् । श्याम चिया खाएर ७ बजे अफिस हिड्छन् । प्रिया अझै उठेकी हुँदिनन् । साबित्रीले खाना बनाउने तयारी गर्न थल्छिन् । तर सब्जी केही हुँदैन । आफू सँग भएको पैसाले अलि पर पसलमा गएर सब्जी ल्याएर खाना बनाउँछिन् ।
करिब साढे आठ बजे प्रिया उठेर मुख धोई । तातो पानी पिउँछिन् । साबित्रीले प्रियालाई “चिया खाने भए बनाइ दिन्छु” । “नाइ, म चिया पिउदिन मम्मी” । साबित्रीले घरबाट ल्याएको कोसेलीहरू एक एक गरी सासुबुहारी भएर मिलाउन थाल्छन् । साबित्रीले आफ्नै गहना मासेर बुहारीलाई दिन भनि लुकाएर राखेको सुनको तिलहरी र औँठी पनि “यो तिमीलाई मेरो तर्फबाट” भनेर घाटमिा र हातमा लगाइदिन्छिन् । यसरी सासुबाट सुनको उपहार पाएकोले उनले त्यो समय राम्रो व्यवहार गर्छिन् । करिब करिब १५ दिन यसैगरी घरको काममा नै समय बित्छि । साबित्री घर जाने बेला नि भयो । घर जानुअघि आमाले बुहारीले घरव्यवहारको तथा संस्कारको कुरा सिकाउन खोज्छिन प्रिया झनक्क रिसाउदैँ “पर्दैन मलाई सिकाउन, मलाई मेरो आमाले सबै सिकाउनु भएछ । गाउँघरको संस्कार सिकेर केही हुँदैन ।” भन्ने जवाफ दिइन् । साबित्रीले बच्चै छ भनेर यस विषयमा केही भन्दिनन् । तर त्यो कुराले साबित्रीलाई धेरै चोट पुग्छ । उनी एक्लै रुन्छिन् । छोराको घरमा बस्दा सहयोगी मालतीले धेरै सुख पाएकी थिइन् । मालतकिो आधा काम त आमाले नै गर्दिनु हुन्थ्यिो ।
शनिबारको दिन श्याम त्यो दिन घरमै बसेका थिए । साबित्रीले “बाबु ! आएको पनि १५ दिन भयो । घरमा बुवा एक्लै हुनुहुन्छ । तिमीहरूसँग बस्ने धोको अधुरो भएकाले आएकी हूँ । अब म घर कहिले जाउँ ? बिदा दिनु पर्यो ।” श्यामले “हुन्छ आमा हजुर जहिले भन्नुहुन्छ ।”
छोराको आज्ञा पाएपछि भोलिपल्ट नै छोरालाई टिकट गर्न पठाएर साबित्री बसमा चढी घर फर्किन्छिन् ।
प्रेमप्रसादले सबै कुरा बुझेका छन् । त्यसैले केही सोध्दैनन् ।
यसपािल दसैमा छोरा एक्लै आएको देखेर साबित्रीले सोध्छिन् “खै त बुहारी ??” सञ्चो छैन त्यसैले नल्याएको भन्ने जवाफ सवित्रीले पाउँछिन् । प्रिया प्रिग्नेनट हुन्छिन् । श्यामले अरु केही भन्दैनन् । यसपालि श्याम एक्लै भएकोले दसै कै दिन नहिँडि भोलिपल्ट मात्र हिँड्छन् । सावित्रीले बुहारीलाई एउटा असाधै राम्रो साडी किनेर पठाउछिन् ।
केही समयपछि प्रियाले छोरा जन्माउँछिन् । भन्न त परि हाल्यो । साबित्री गाउँमा भएकाले श्यामले आमालाई न्वारन पछि मात्र बुहारीको आदेश अनुसार खबर गर्छन । प्रियाले जे भन्यो त्यो घर त्यही हुन्थ्यो । श्याम जन्म दिने आमा भन्दा पनि प्रिया प्रति बढी आशक्त थिए । साबित्री छोराप्रति आशक्त ।
खबर पाएपछि आमालाई देख्न र आउन आतुर हुन्छ । यस अघि नै श्यामले “प्रिया माइत आमासँग सियारसुसारको लागि गएकी छिन् । आएपछि खबर गर्छु अनि आउनु होला” यस्तो शब्द सुनेपछि साबित्री धर्धरी रुन्छिन् ।
साबित्री रोएको देखेर प्रेमप्रसादले सम्झाउँछन् । प्रियाले आफ्नो छोराले गाउँको संस्कार सिक्छ भनेर साबित्रीलाई बोलाउन भन्दै भन्दिनन् । समय बित्दै जान्छ । श्याम आफ््नो आमाबाबाबाट टाडा हँुदै जान्छ । दसैंमा पनि फुर्सत पाइन भनेर आउन छोड्छन् । प्रियाको माइतीमा मात्र जाने क्रम बढ्छ । प्रिन्सु पनि हुर्कदै पाँच वर्ष पुरा हुन्छ ।
एक दिन अचानक सावित्री र प्रेमप्रसाद काठमाडौँ छोराको घर आउछन् । श्याम “ओहो ! आमा, बुवा खबर नै नगरी आउनु भयो । केही विशेष थियो कि ??”
“त्यस्तो विशेष केही छैन बाबु, आमा रोएर बेहाल भयो । तलाइँ नसम्झना कुनै दिन कुनै रात छैन । फोन सम्पर्क पनि हुदैँन । आमाको मन शान्त पार्न यसरी अचानक आउनु पर्यो ।” प्रेमप्रसादले भूईमा झोला राख्दै भन्छन् ।
भित्रबाट खुरुररु कुद्दै प्रिन्सु बाहिर निस्कन्छ । आफ्नो घरमा नौलो बुढाबुढी देखेर “उहाँहरू को हुनुहुन्छ ?? डेडी !”
श्यामले हजुरबाबा, हजुर आमा भनेर चिनाउछन् । प्रिन्सु जिद्दी गर्छ “होइन मेरो हजुरबा हजुरआमा, मेरो हजुरबा हजुरआमा त उ पर घरमा बस्नुहुन्छ ।” भन्दै प्रियाको माइततिर देखाउँछ ।
सावित्री भक्कानो छोडेर रुन थाल्छिन् । प्रेमप्रसादले सबै कुरा बुझ्छन् ।
बाआमालाई देखेर प्रियाको अनुहारमा खुसी देखिँदैन । भारी मनले “ए ! बुवा आमा आउनु भएछ, दर्शन गरेँ” भन्दै मालतीलाई चियापानी ल्याउन लगाउँछिन् । आफू केही किन्न छ भनि बाहिर निस्किन्छिन् ।
बुवाआमाको लगभग एक हप्ताको बसाइँ हुन्छ । तर त्यो बिचमा न त छोरा राम्रो सँग बोल्छ न त बुहारी । सबै सगँै बसेका बेला आमाले “तिमीहरू गाउँ कहिले आउँछौ ।” धेरै बेरपछि श्यामले “फूर्सतमा आइ हाल्छौ नि” । बस यहि मात्र कुरा हुन्छ ।
आफूहरू बस्दा छोराबुहारीमा कुनै खसी नभएको महसुस गरेका प्रेमले साबित्रीलाई सम्झाउँदै “अब हामी गाउँ जानु पर्छ । तिमी छोरालाई देख्न आतुर थियाँै त्यसैले आयौ । यिनीहरूको आफ्नै जीवनशैली छ । फेरी यिनीहरू व्यस्त पनि छन् । हामीलाई गाउँ नै रमाइलो हुन्छ ।”
छोरालाई बुहारी र छोरासँग खुसी देखेर साबित्रीको मन पनि हलुङ्गो हुन्छ । पन्ध्रदिनको बसाइँपछि उनीहरू गाउँ फर्कन्छन् ।
समयक्रम बित्दै जान्छ । छोराले वास्ता नगरेपछि गाउँमा रहेको सानो खाली जमिन बेचेर प्रेमले ऋण पनि मिलाउछन् । अब उनी सँग बाँस बस्न सानो एउटा कुटी मात्र रहन्छ ।
अब उनीहरू सबै कुरा सन्तुष्टि मानेर ढुक्कसँग बस्न थाल्छन् । केही समयपश्चात प्रेमप्रसाद बिरामी हुन्छन् । गाउँमा सजिलै उपचार हुन सक्दैन । उनलाई निमोनिया हुन्छ । सावित्रीले श्यामलाई खबर गर्न लगाउँछिन् । श्यामले खबर पाएर आउँदासम्म उनको मृत्यु हुन्छ ।
प्रिन्सुको एस.ई.ईको परीक्षा चलेको भएर प्रियालाई बोलाउँदैनन् । श्याम एक्लो छोरो भएकोले सबै काजक्रियाको कर्तव्य सबै गर्छन् । केही दिन बसेर आमालाई “अब एक्लै कसरी बस्नुहुन्छ हिड्नुहोस्, काठमाडौँ सँगै बसौँ” यतिबेला बल्ल छोराले बोलिमा ल्याउने कर्तव्य बल्ल बोल्यो भन्ने मनमनै साबित्रीले सोच्दै हर्षाश्रु निकाल्छिन् । “बुवाको देवहसान भएको एक वर्षसम्म घर छोड्नु हुँदैन, त्यसैले अहिलेलाई म जान्नँ, अत्यास लागेमा दुईचार दिन बस्न आउँछु । बाबु”
आमाको यो कुरामा श्यामले पनि सहमति जनाउदैँ घर नजिकैको माइली काकीलाई रेखदेख गर्दिन र केही परेमा सम्पर्क गर्न भनि आफ्नो मोबाइल नम्बर पनि दिएर आमालाई केही पैसा हातमा राखिदिएर त्यहाँबाट बिदा हुन्छन् ।
उता प्रिन्सु पनि हुर्कदै र पढ्दै गएर कक्षा १२ दिएर अष्टे«लिया जाने जिद्दी गर्छ । प्रिया स्वतन्त्र भएर बसेकाले संस्कार नभएको आफूलाई आधुनिक ठान्ने र बनाउने कुरामा मात्र ध्यान बढी दिने गर्थिन । त्यसैले पनि छोरा अष्टे«लिया जाने कुरा पूर्ण सहमत थिइन् ।
श्यामले दुःख गरेरै कमाउका थिए । प्रियाको अगाडि हार खान सकेनन् । अन्ततः प्रिन्सुको परीक्षा नतिजा आएपछि लगानी गरेर अष्टे«लिया पठाए ।
प्रिन्सु स्टुडेन्ट भिसामा गएको थियो । दुई महिनासम्म त घरबाट पठाएको पैसाले नै पुग्यो । अब ऊसँग खाना बस्न पैसा नि भएन ।
यता सोहन गएपछि श्याम अलि अलि बिरामी हुन्छन् । दुई महिनामा उनी निकै गलेका हुन्छन् । प्रियाले श्यामको वस्ता गर्दिनन् । आफ्नो फिट्नेसमा मात्र ध्यान दिन्छिन् । श्याम पनि केही बोल्न सक्दैनन् । प्रियाको मेसेन्जरमा कल आउँछ– “मम्मी केही पैसा पठाइदिनु, मैले काम पाएको छैन” प्रिन्सुको कुरा सुन्ने वितिकै प्रियाले श्यामसँग पैसा पठाउन भन्छिन् । श्याम पनि विदेश जस्तो ठाउँमा शायद गाह्रो भयो होला भनेर तुरुन्तै पैसा मेनेज गेरेर पठाउँछन् ।
यता प्रिया र श्यामको सम्बन्धमा चिसोपन हुँदै जान्छ । श्यामलाई मुटुको समस्याले च्यापदै लान्छ । श्यामलाई जति रोगले च्याप्दै लान्छ प्रियाको त्यति नै चिड्चिडाहत बढ्दै जान्छ । श्याम आफँै एक्लै अस्पताल जाने गरेका थिए । उनी यति थला परेकी अब अस्पताल पनि जान सक्ने अवस्था रहेन । प्रियाको केही अत्तोपत्तो हुदैन्थ्यो । श्यामले केही सोध्दा झगडा हुन्थ्यो । शरीर रोगले ग्रस्त तागत नभएको बेलामा श्याम बोल्न चाहदैनथे । श्याममा बोल्न, उठ्न सक्ने अवस्था नि रहेन । त्यसैले डाक्टरलाई घर मै बोलाए ।
डाक्टरले घरको अवस्था र श्यामको अवस्था देखेर मुटुको समस्या भएकाले आश मार्दै “हेर्नुहोस् श्यामजी, तपाइँलाई अब औषधीभन्दा पनि हेरविचार तथा साथको जरुरी छ । मैले घरमा कोही देखिन ? बिरामीको आत्मबल बलियो बनाउन पर्छ । सबै कुरा बिरामीलाई भन्नु हुँदैन ।”
यता गाउँमा साबित्रीले सपना राम्रो नदेखेकाले मन अतासियर छिमेलीलाई घर हेर्न भनि काठमाडौँ हिँड्छिन् । छोराको घरमा पुग्दा छोराको त्यो अवस्था देखेर भावविह्ल हुन्छिन् । श्यामलाई भगवान प्रकट भए जस्तै भयो, केही बोल्न सकेनन् । डाक्टर पनि त्यही थिए । डाक्टरले सोधे “उहाँ को हुनुहुन्छ ।” श्यामले “आमा” भन्छन् । आमालाई बाहिर बोलाएर डाक्टरले सबै कुरा सम्झाउँझन् ।
डाक्टर गएको केही समयपछि प्रियाको घरमा प्रवेश हुन्छ । आमालाइृ डाक्टरले सम्झाएका हुन्छन कि श्यामको अगाडि मनमा लाग्ने कुनै कुरा नगर्न । त्यसैले उनी केही बोल्दिनन् । आमालाई आएको देखेर प्रियाले “साथीहरूले भ्रमण जान जिद्दी गरेका थिए लौ आमा आउनु भएछ रामै्र भयो । म केही दिनका लागि विदेश भ्रमण जादँैछु ।” आमाले सबै कुरा बुझि सकेकी थिइन् । त्यसैले केही भन्दिनन् । भोलिपल्ट बिहान प्रिया झोला बोकेर हिड्छिन् । आमाको सियार सुुसारले श्यामको शरीरमा सुधार हँुदै जान्छ ।
महिला हक अधिकारका कानुन बलियो भएकाले श्यामले प्रियासँग केही कुराको विवाद गर्न चाहदैनन् । श्यामले सबै कुरा बुझि सके । आमालाई “आमा अब हजुर कहाँ बस्न मन पराउनुहुन्छ ।” भनेर सोध्दा आमाले “बाबु मलाई जाँहा तिमी हुन्छौँ त्यहीँ नै रमाइलो लाग्छ ।”
प्रिया भ्रमणबाट फर्के पछि श्यामसँग छुट्टिन चाहान्छिन् । श्यामले “ठिक छ” भनि भाग लागाउन खोज्दा “काठमाडौँमा आफू बसेको घर र अलिकति पैसा दिए पुग्छ अरु केही चाहिँदैन” भन्ने प्रतिक्रिया दिन्छिन् ।
श्यामले वास्तविक जीवनको यथार्थ सबै बुझेँ । वास्तवमा आमा र संस्कार नै ठुलो हो भन्ने यथार्थलाई मनन गरे । प्रिन्सुको पनि आश रहेन । किनकि प्रिन्सुले आमाकै संस्कार पाएको थियो । त्यसैले उनले प्रियालाई घर र केही पैसा छाडि दिएर आमालाई लिएर गाउँ फर्के । गाउँको घर राम्रो बनाएर आमाको नाममा केही पैसा बँैकमा फिक्स गरिदिए । आमासँगै गाउँमा आरामले बस्न थाले । समाप्त ।








लेखकको सम्वन्धमा