May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

अध्ययन भन्छ: आँखा कमजोर र खराब कोलेस्टेरोल बढी भए डिमेन्सिया हुन सक्छ

Advertisement

भैरहवा– मान्छेहरूलाई डिमेन्सिया हुने सम्भावित कारणमा दुइटा नयाँ कुरा पत्ता लागेका छन्। एउटा, आँखाको दृष्टि कमजोर हुनु। अर्को, शरीरमा खराब कोलेस्टेरोलको मात्रा उच्च हुनु।

Advertisement

मस्तिष्कको क्षमता वा स्मरण शक्तिमा ह्रास आउने समस्यालाई डिमेन्सिया भनिन्छ। डिमेन्सियाको सबभन्दा ठूलो कारण वा जोखिम भनेको बढ्दो उमेर हो। त्यस्तै डिमेन्सिया पुरूषका तुलनामा महिलालाई बढी हुन्छ। वृद्ध महिलाहरूलाई अल्जाइमर्स (सबभन्दा धेरै देखिने सामान्य प्रकारको डिमेन्सिया) हुने सम्भावना पुरूषको भन्दा झन्डै दोब्बर भएको मानिन्छ। महिलाहरूको आयु धेरै हुने भएकाले पनि जोखिम धेरै भएको हुनसक्छ। डिमेन्सिया वंशाणुगत कारणले पनि हुन्छ।

बढ्दो उमेर, जन्मिँदाको लैंगिकता (महिला वा पुरूष) र वंशाणुगत कारणहरू नियन्त्रण गर्न सकिँदैन। अहिलेसम्म डिमेन्सियाका नियन्त्रण गर्न सकिने १२ वटा कारण पहिचान भएका थिए। लान्सेट कमिसन अन डिमेन्सियाद्वारा जुलाई अन्तिममा एक प्रतिवेदन प्रकाशित गरी कमजोर दृष्टि र उच्च खराब कोलेस्टेरोल मात्रा पनि थपेपछि डिमेन्सियाका नियन्त्रण गर्न सकिने कारण संख्या १४ वटा पुगेका छन्।

यसअघि तीन कारण; मदिरा सेवन, अधबैंसे उमेरमा टाउकोमा चोट लाग्नु र पाको उमेरमा प्रदूषित वातावरणमा बस्नु थपिएको थियो।

धूमपान, उच्च रक्तचाप, डिप्रेसन, मोटोपन, मधुमेह, टाउकोमा चोट लाग्नु, श्रवण शक्तिमा ह्रास, कम शारीरिक परिश्रम, सामाजिक जीवन र सम्पर्क कम हुनु लगायत डिमेन्सियाका अन्य कारण हुन्। लान्सेट कमिसन अन डिमेन्सियाका अनुसार ४५ प्रतिशत डिमेन्सिया मान्छेले नियन्त्रण गर्न सक्छ।

खराब कोलेस्टोरल धेरै हुनु शरीरका लागि राम्रो होइन। यसले रक्तचाप बढाउने भएकाले डिमेन्सियाको कारक मानिन्छ। तर आँखा कमजोर हुँदा डिमेन्सियाको सम्भावना कसरी बढ्छ भन्ने विस्तृत जानकारी खुलेको छैन।

हुन त श्रवण शक्तिमा ह्रास हुँदा डिमेन्सिया कसरी हुन्छ भन्नेबारे पनि अहिलेसम्म खुलेको छैन। तर दृष्टि र श्रवण शक्ति दुवैमा मधुमेहले असर गर्ने भएकाले यिनले डिमेन्सियाको जोखिम बढाएको हुन सक्छन्।

क्यान्सर लगायत खतरनाक रोगमा जस्तो तुरून्तै मृत्यु नभए पनि डिमेन्सियाले रोगी र परिवारलाई धेरै समस्या हुन्छ। स्मरण शक्तिमा सामान्य ह्रास हुँदै गएर सुरू हुने यो रोग बढ्दै जाँदा सोच्ने, समस्या समाधान गर्ने लगायत मस्तिष्कका काममा असर गर्न थाल्छ।

रोग अझै बढ्दै जाँदा परिवारका सदस्य र आफूलाई पनि नचिन्ने हुन थाल्छ। यस्तो अवस्थामा रोगीलाई त समस्या हुने भयो नै, हरेक कुरा बिर्सिने र कसैलाई नचिन्ने भएकाले केही बिगार गर्ने पो हुन् कि भन्ने डर हुन्छ। वा, अरू रोग छैन र हिँडडुल गर्न सक्छन् भने घरबाहिर निस्केर हराउने हुन् कि भनेर बच्चाको जस्तै नछोडी हेरचाह गर्नुपर्ने अवस्था हुन्छ।

अल्जाइमर्स भएकालाई डिमेन्सियाको सम्भावना उच्च हुन्छ। निको पार्ने औषधि–उपचार नभएकाले औसत आयु धेरै भएका विकसित देशमा यो अझ भयावह समस्याका रूपमा देखा परेको छ।

पछिल्लो समय नेपालमा पनि अल्जाइमर्सका बिरामी बढ्दै छन्। अल्जाइमर्स भएकाहरूमा सुरूमै डिमेन्सिया पत्ता लाग्दैन। अलजाइमर्स भएको थाहा पाउँदासम्म नै स्मरण शक्तिमा धेरै ह्रास आएर धेरै कुरा बिग्रिसकेको हुन्छ। रोग लाग्ने कारण नै थाहा नभएकाले निको पार्ने उपाय पनि छैन। संसारभरका वैज्ञानिक अनुसन्धानहरू अल्जाइमर्सको कारण कसरी पत्ता लगाउन सकिन्छ भन्नेमा केन्द्रित छन्।

त्यसैले अहिलेको अवस्थामा, नियन्त्रण गर्न सकिने कारण कम गरेरै डिमेन्सियाको जोखिम कम गर्न सकिन्छ। बढ्दो उमेरमा पनि मस्तिष्क सक्रिय र चुस्त राखे, नयाँ सीप वा भाषा सिके, यो रोगलाई केही पछि धकेल्न सकिने वैज्ञानिकहरू बताउँछन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
साभार: सेतोपाटी