May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पूर्वी नेपाल भ्रमणः निजी क्षेत्रको आशा, लगानीको सुरक्षा

Advertisement

लुम्बिनीलाई केन्द्रमा राखेर पछिल्लो दशक निजी क्षेत्रबाट रुपन्देहीमा ह्वात्तै लगानी गरिएको छ । चाहे त्यो पर्यटन होस् वा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–ब्यापार किन नहोस् । जति–जति लगानी नीजी क्षेत्रबाट भएको छ, त्यसअनुसार सरकारी तबरबाट पनि गरिएको छ । यसले रुपन्देही र आसपासमा विकास र व्यापारीकरणलाई विस्तार गरेको छ । उद्यम विकास र लगानी प्रबद्र्धन र सरकारी लगानी भित्र्याउन निजी क्षेत्रको छाता संगठन सिद्धार्थ उद्योग बाणिज्य संघले आजबाट होइन्, दशकौं अघिदेखि पहलकदमी गर्दै आएको छ । जसअनुसार सार्थकता हासिल समेत भइरहेको छ ।

Advertisement

तर, महाभूकम्प, नाकाबन्दी, कोरोना महामारी र पछिल्लोपटक आर्थिक मन्दीले निजी क्षेत्रमा नैराश्यता ल्याएको छ । औँलामा गन्न नसकिने केही घरानाबाहेक मलाई लाग्छ, आर्थिक मन्दीबाट पीडित नभएको बाँकी कोही छैन सायद । बैंक ब्याजबृद्धि, लगानीको सुरक्षा नहुनु, नफस्ट्याएको पर्यटन क्षेत्र, युवाशक्ति विदेशिनु, निजी क्षेत्रमैत्री सरकारी नीति नहुनु यावत समस्या हामीले भोगिरहेका छौं । सबैको नजर बाह्य मुलुक भएपछि यहाँ कसले खरिद गर्ने भन्ने प्रश्न पनि तेर्सिरहेको अवस्था छ । यस्तो अवस्थामा मुलुककै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा संचालनका लागि हामीले सरकारसँग हारगुहार गर्न थालेको कति भयो भनिसाध्य छैन । यसबारे हामीले नघचघच्याएको स्थानीय सरकारदेखि संघ सरकारका कुनै निकाय र ओहदाका व्यक्ति बाँकी छैनन् होला । तर, सुनुवाई नहुँदा निराशा बढ्दो छ ।

ब्यवसायीमा देखिएको निराशालाई कसरी आशामा बदल्न सकिन्छ ? भैरहवा–लुम्बिनीमा आन्तरिक पर्यटक बृद्धि र लगानी कसरी भित्र्याउन सकिन्छ ? यसबारे हामीलाई पिरोली रहन्छ । यसैलाई मध्यनजर गरेर बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवद्र्धन र सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव साटासाट गर्ने उद्देश्यसहित हामी सिद्धार्थ उद्योग बाणिज्य संघको टोली गत चैत्र २१ मा पूर्वी नेपालको भ्रमणमा निस्कियौं । मेरो नेतृत्वमा २७ सदस्यीय टोलीले पूर्वी नेपालको भ्रमण गरेको थियो ।

भ्रमणको हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने नै हो । यसका साथै पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग बाणिज्य संघको अवलोकन गरी अनुभव साटासाट गर्ने थियो । सँगसँगै व्यवसायिक अनुभवहरु एकअर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयोगमा ल्याउन पहल गर्ने, पूर्वी नेपालका उद्योगी–व्यवसायीलाई भैरहवा र यस आसपासमा लगानी गर्न समेत आह्वान गर्ने मुख्य उद्देश्य थियो । यसमा हामी दत्तचित्त भएर लाग्यौं र आधादर्जन बढी उद्योग बाणिज्य संघहरुको भ्रमण गर्यौं, अनुभव साट्यौं, रुपन्देहीका हाम्रा गन्तव्यमा आउन, रमाउन र लगानी गर्न अनुरोध गर्यौं ।

यतिमात्र होइन्, व्यवसायीका पिरमर्का अझ नजिकबाट राम्रोसँग बुझ्ने अवसर पायौं । हुनतः हाम्राजस्ता मर्का मुलुकभरका उद्योगी व्यवसायीका छन् । तथापी सहकर्मी संघका साथीहरुको मुखराविन्दुबाट सुनिरहँदा मन झनै अमिलो हुन्थ्यो, भतभती पोल्थ्यो, आर्थिक क्षेत्र सुधारमा हामीले के गर्न सक्छौं भन्नेबारे हरेक कुराहरु खेल्थे । योजनाहरु निस्किन्थे ।

हामीले सुरुमा २१ गते नै चितवन उद्योग बाणिज्य संघ, रत्ननगर उद्योग बाणिज्य संघ, मकवानपुर उद्योग बाणिज्य संघसँग छलफल गर्यौं । त्यसपछि निरन्तर बिरगंज उद्योग बाणिज्य संघ, मोरङ उद्योग संघ, मोरङ उद्योग–ब्यापार संघ, नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश, धरान उद्योग बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघ लगायतको अवलोकन गरि व्यवसायिक अनुभव आदानप्रदान गर्दै सुखदुःखका साटासाट गर्यौ । यसबाट केही न केही उर्जा हामीमा पक्कै थपिएको छ ।

पूर्वी नेपाल भ्रमणका क्रममा सहकर्मी उद्योग बाणिज्य संघहरुमा आबद्ध पदाधिकारी, सदस्य तथा साधरण सदसहरुलाई भैरहवा, लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न अनुरोध गरियो । हामीले अवलोकन गरेका संघहरुसँगै ती संघहरु मार्फत् सम्बन्धित जिल्लाबासीहरुलाई पनि लुम्बिनी भ्रमणका लागि अनुरोध गर्यौं । पूर्वी नेपाल यात्राले रुपन्देहीमा अधिक रुपमा आन्तरिक पर्यटक भित्र्याउन मद्दत पुगेको हाम्रो विश्वास छ । यसक्रममा कयौं पर्यटकीय स्थलको समेत अवलोकन गरेर फर्कियौं ।

भैरहवा, लुम्बिनी, बुटवल फुलबारी, लुम्बिनी केबलकार, बाउन्नकोटी, मत्स्य हब छपिया, शंकरनगर वनबाटिका, गैडहवा ताल, शिव मन्दिर, अष्ट्रिच फार्म लगायतका गन्तव्य रुपन्देहीका भ्रमण गर्न लायक ठाउँ हुन् । यससँगै दर्जनौं गन्तव्य छन् । यी ठाउँमा पर्यटक भित्रिँदा रुपन्देहीमा सबै क्षेत्रका व्यवसायीले लाभ लिन्छन् । व्यवसायिक लाभ मात्रै होइन्, सरकारको राजश्व समेत बढ्छ ।

लुम्बिनीलाई केन्द्रमा राखेर लगानी भइरहँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन नहुनु दुःखद् हो । यो विमानस्थल चल्दा लुम्बिनी प्रदेश गुल्जार बन्छ । यसबाट मुलुकले नै आर्थिक क्षेत्रमा थप फड्को मार्नेमा दुईमत छैन । हामीले माल पाएर पनि चाल पाएका छैनौं । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट अर्बौं लगानी भएको छ, सरकारले विमानस्थल मात्रै पूर्ण क्षमतामा चलाउने हो भने लगानीको अझै ओइरो नै लाग्छ । विडम्बना तर सरकारले हाम्रा कुराको सुनुवाई नै गरेको छैन । बौद्धिष्ट मुलुकका पर्यटक सिधै लुम्बिनी आउन चाहन्छन् तर विमानस्थल नचल्दा उनीहरुको गन्तव्य चाहे जसरी लुम्बिनी हुन सकेको छैन । यसबारे पूर्वी नेपालका उद्योगी व्यवसायीको पनि चिन्ता देखियो ।

हामीले भ्रमणका क्रममा जहाँ जहाँका उद्योगी व्यवसायीसँग कुरा गर्यौ सबैको पीरमर्का हामीसँग मिल्थे । सारमा सबैको एउटै स्वर हुन्थ्यो– ‘सरकारले लगानी मैत्री वातावरण त बनाएन नै गरिएको लगानीको सुरक्षा समेत दिन सकेन ।’ निजी क्षेत्र सधैं, सबै र समयमा कर तिर्छ । त्यही करले राज्य संचालन हुन्छ । तर, अप्ठ्यारोमा निजी क्षेत्रलाई सुरक्षा दिँदैन । धेरै टाढा जानु पर्दैन, हाम्रा दुई छिमेकी मुलुक चीन र भारतलाई हेरे पुग्छ, जहाँ निजी क्षेत्रको संरक्षण कसरी गरिन्छ । हाम्रो मुलुकमा निजी क्षेत्रलाई कर असुल्ने कारखाना मात्रै बनाइयो । तर, लगानीअनुसार प्रतिफल उठाउने वातावरण सिर्जना भएन । यो विडम्बना हाम्रो भ्रमणका क्रममा सबै उद्योगी–व्यवसायीले पोख्नु भयो । पाइलैपिच्छे कर असुल्दा निजी क्षेत्रलाई कसरी सबलीकरण गर्न सकिन्छ भन्नेबारे तीनै तहका सरकारले सोचेको पाइँदैन । यसले निराशा बढाउँदै लगेको छ ।

चरम आर्थिक मन्दीको अहिलेको अवस्थामा हामीले बैंकलाई साँवाब्याज बुझाउँदैनौं भनेका छैनौं तर केही समय देउ मात्रै भनेर माग राखेका छौं । योबारे न बैंक सुन्छन्, न सरकार । यस्तो अवस्थामा व्यवसायिक वातावरण कहाँ बन्छ ? व्यवसाय गरिरहेका सयौं उद्योगी ब्यवसायी पलायन भएका छन् । नवउद्यमको विकास छैन । मुलुकमा भविष्य नभएको भन्दै केही गर्न चाहने र गरिरहेकाहरु धमाधम खाडी र विश्वमा आर्थिक रुपमा उदाउँदा मुलुकहरुमा पुगिरहेका छन् । दशक अघि जसरी व्यवसायिक उर्जा थियो, त्यो घटिरहेको छ । यसका पछाडी धेरै कारण होलान् तर मुख्य कारण सरकार नै हो । कुनैबेला भैरहवा–लुम्बिनी लगानीका लागि भर्जिन थियो । त्यो रफ्तार अहिले ह्वात्तै घट्दो छ । पुरानै लगानी कसरी जोगारी राख्ने भन्ने चिन्ता निजी क्षेत्रमा छ । यो मर्का चितवन, बीरगंज, विराटनगर सबै ठाउँका उद्योगी–व्यवसायीले भोगिरहेका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघ निराशालाई आशामा बदल्न चाहन्छ । हरेक मानिस उद्यमसँग जोडियोस् भन्ने कामना गर्छ, आवश्यक ठाउँमा सहयोग र सहजीकरण गर्छ । सरकार कर असुली गर्ने मात्रै होइन्, हामीलाई सुरक्षित गरोस् भन्ने अपेक्षा राख्छ । यसैले पूर्वी नेपालको भ्रमणका क्रममा हामीले देखेका, भोगेका, सुनेका र बुझेका कुराहरु सरकारले नबुझेको होइन्, बुझेको छ । तर, समाधान मात्रै नगरेको हो । सत्ता संचालन गर्नेहरु कुर्सीका लागि लड्छन्, निजी क्षेत्र सधैं व्यवसायिक वातावरण बनाउन र लगानी बढाउन लागिपर्छ । यसमा सिद्धार्थ उद्योग बाणिज्य संघ सधैं र सदासदा लागिरहनेछ । बस, सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोष परिवर्तन जरुरी छ । यो हाम्रो मात्रै होइन् मुलुकभरका उद्योगी–व्यवसायीको माग हो ।
(श्रेष्ठ सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष हुन् ।)