November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

जताततै बस पार्किङले नगर कुरुप

भैरहवा– ५ बिघा १३ कट्ठा जमिनमा भैरहवामा आधुनिक र सुविधा सम्पन्न सिद्धार्थ बस टर्मिनलको निर्माण भई संचालनमा आएको २२ बर्ष भयो । तर, लामो दुरी र बुटवल–भैरहवा रुटमा संचालन हुने केही बस बाहेक अन्य स्थानका लागि संचालन हुने बस बसपार्कसम्म पुग्दैनन् ।

Advertisement

२ करोड ६१ लाख रुपैयाँको लागतमा सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेको उक्त बसपार्क पूर्ण उपयोगमा आउन सकेको छैन । नगरमा जथाभावी ढंगले सडकलाई नै बसपार्कको रुपमा प्रयोग गरेर बस संचालन भइरहेका छन् । जसले गर्दा आम सर्वसाधारण यात्रु समस्यामा परेका मात्रै छैनन्, नगर कुरुप र फोहोरले र्दुगन्धित बन्दै गएको छ । नगरको सौन्र्दयातामा आँचा आइरहेको छ ।

Advertisement

बसपार्कलाई नै बसहरुले गन्तब्यको रुपमा प्रयोगमा ल्याउन र जथाभावी रुपमा सडकबाटै बस संचालन गर्नमा रोक लगाउने वारे सम्बन्धित र जिम्मेवार निकायले एक अर्कामाथि जिम्मेवारी थोपर्दै पन्छिदै आएका छन् । सिद्धार्थनगर नगरपालिका भन्छ– नियम बिपरित बस संचालन हुन नदिने काम प्रहरी, प्रशासन र ट्राफिक प्रहरीको हो । ट्राफिक प्रहरी भन्छ– ट्राफिक प्रहरीमात्रै एक्लै खटिएर के हुन्छ र ? कतैबाट सहयोग र समन्वय भएको छैन । जनगरपालिकाले यस बारेमा कुनै पहल नै गर्दैन ।

लुम्बिनी प्रवेशद्वारको रुपमा रहेको भैरहवाको बुद्धचोकबाट पश्चिमतर्फ लुम्बिनी रोडभरि सडकको दुवैतर्फ तौलिहवा, लुम्बिनी, कक्रहवा, हरैया, सूर्यपुरा, छपिया, झारवैरा र मर्चवार चल्ने बसहरुको लाइन हुन्छ । यी स्थानमा चल्ने कुनै पनि बस बसपार्क पुग्दैनन् । सडकमै पार्किङ्ग गरेर अन्य सवारी साधन र पैदलयात्रुलाई अवरोध हुने गरि बस संचालन भइरहँदा पनि सम्बन्धित निकाय मौन छन् ।

भैरहवाको देवकोटा चोकदेखि पूर्वतर्फ सडकबाट परासीका लागि संचालन हुने बसहरुको अवस्था पनि यस्तै छ । देवकोटा चोकदेखि पूर्वतर्फ पार्किङ गरिएका बसहरुको लाइन लाग्छ । ‘यसरी जथाभावी रुपमा जहाँबाट पायो, त्यहीबाट बस संचालन गर्न छुट दिइँदा हामी धेरै समस्यामा परे पनि कतैबाट केही सुनुवाई भएको छैन’, बुद्धचोकस्थित व्यवसाय संचालन गर्दै आएका स्थानीय विष्ण्प्रसाद मरासिनीले भने, ‘जथाभावी रुपमा बस संचालन गरिँदा फोहोर, धुलो र दुर्गन्धले हामी पीडित छौं ।’
बसपार्कबाटै बस संचालनका लागि वारम्बार नगरपालिका र ट्राफिक प्रहरीसँग माग गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो उनले गरे । मुलुकमा संघीयता शासन व्यवस्था आएपछि दुईपटकसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आए पनि यो समस्या जस्ताको तस्तै भन्दा पनि अझ बढि बिकराल बन्दै जान थालेको ठम्याइ उनको छ ।

सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकृत देवप्रसाद ज्ञवाली नगरपालिकाले भौतिक पूर्वाधार बनाइदने निकाय भएकाले सुविधासम्पन्न बस टर्मिनलको निर्माण गरेको र नियम बिपरित संचालन हुने सवारी साधन रोक्ने दायित्व ट्राफिक प्रहरीको भएको दावी गर्छन् । उनले यस वारेमा धेरै पटक नगरपालिकाले सम्बन्धित निकायहरुलाई राखि बैठक समेत गरेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले नगरमा रहेको सिद्धार्थ बसपार्कलाई स्तरोन्नती गर्न लागिएको र त्यसपछि अव्यस्थित बस पार्किङलाई नियन्त्रण गरिने बताए । ‘बसपार्कको स्तरोन्नतीका लागि ठेक्का लगाइँदैछ’, उनले भने, ‘बसपार्कलाई पहिला व्यवस्थित गरेपछि अव्यवस्थित बस पार्किङलाई नियन्त्रण गर्ने योजना हो ।’