November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

तीजको विकृति सामाजिक सञ्जालमा

सामाजिक सञ्जालबाट नै सुरू भएको तीज पर्वको विकृति सहरका पार्टी प्यालेसमा दर खानेको भीड बढ्न थालिसक्यो । एकदशक यता पैसा उठाएर ठूला–ठूला पार्टी प्यालेस, होटलमा गहना प्रदर्शन गर्दै भोज खाने परम्परा बढ्दै गएको छ । तीज पर्व नारीको महान र पवित्र चाड हो । सुःखदुख बिसाउने, आफन्त भेटघाट हुने अवसर पनि हो । यस अवसरमा टाढा–टाढा बिहे गरेर दिएका चेलीबेटीलाई माइत बोलाउने चलने छ । पहिलो जस्तो पैदल हिँडेर सास्ती खेप्नु पर्ने अवस्था पनि छैन ।

Advertisement

गाउँ–गाउँमा गाडी पुगेपछि माइत नजिक भएका छन् । झन मोबाइलको व्यापकताले कोही कसैबाट टाढा हुन सकेका छैनन् । यो पर्वमा कृष्ण जन्मअष्टमीपछि दाजू, भाई, बुवाले चेलीको घर पुगेर आफ्ना साथ चेलीलाई माइत ल्याउने चलन थियो । वर्षभरी घरधन्दाको व्यस्त जीवनबाट दुईचार दिनका लागि भए पनि मन खोलेर माइतीमा आमा, दिदी, बहिनी साथीसङ्गीसँग रमाइलो गर्ने परम्परा थियो । तर, प्रविधिको सुविधाका कारण अहिले टेलिफोन, मोबाइल, भाइबर, वाट्सएप जस्ता सम्पर्कका माध्यम भएकाले लिन जान नपर्ने सुविधा आइसकेको छ ।

Advertisement

यसै सम्पर्कका माध्यमबाट चेलीबेटी बोलाउने गरिन्छ । पहिला जस्तैै माइती देशमा आएर आफ्ना दिदीबहिनी साथीसङ्गीसँग मिठो–मिठो खाने र नाचगान गरी खुब रमाइलो गर्ने चलन हराइसक्यो । समयको गतिसँगै कुनै पनि कुरा परिर्वतन हुनु स्वभाविक हो । परम्परादेखि चली आएको तीज पर्वमा समय र आधुनिकतासँगै केही परिर्वतन आउनु पनि स्वभाविक कुरा हो । अहिले तीज आउन तीन साता बाँकी रहँदा नै सामाजिक सञ्जालहरूमा सबैभन्दा बढी विकृति देखा परिरहेका छन् । छाडा गीत र छाडा नाचले यति बेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

छाडा गीत र नाच एउटाको देखेपछि अर्काले नक्कल गरी टिकटक बनाउने लहर सामाजिक सञ्जालमा चलेको छ । यस्तो गतिविधिले अहिलेको परिवेशमा यो चाड मनाउने शैलीले धनी र गरिबबीच ठूलै खाडल पैदा गरेको छ । हुने खानेलाई यो रमाइलो अवसर बनेको छ । तर, हुँदा खानेलाई यो भारी बनेको छ । आर्थिक रूपमा कमजोर परिवारलाई तीजले छुंनै छाडेको छ ।

अहिले आएर धन भएका दिदी–बहिनीले एक महिना अघिदेखि दर खाने छाडा गीतको भिडियो बनाउने चलन बसालेपछि समाजमा यसको आलोचना सुरु छ । समाजमा नकारात्मक असर परेको छ । यस्तो चलनले एकातिर संस्कृति नै हराउँदै गएको छ भने अर्कोतिर तीज खर्चले नथेग्ने पर्वका रूपमा स्थापित हुँदैछ । तीन दिनको यो पर्व एक महिना लम्बिनु आर्थिक रूपमा थेग्न गाह्रो हो । तीज संस्कृति नभएर विकृत हुनु दुखद् हो । एकदिनको दर विकृति उग्र रूपमा एक महिनै फैलिन थालेको छ । नयाँ पुस्तामा यसको छाप एक महिनै खाने, पिउने र रमाउने चाडका रूपमा पर्न सक्छ । नेपाली संस्कृति, मूल्य मान्यतालाई भुल्दै विकृतितर्फ उन्मुख हुँदै गरेको तीज पर्व कस्तो पर्व हो भन्ने नयाँ पुस्ताले बुझ्न सक्ने छैनन् ।

सत्ययुगमा पार्वतीले महादेव प्राप्तिका लागि निरहार व्रत बसी आफ्नो मनोकामना सिद्घ गरेको विश्वासले तीजको व्रत बस्ने चलन सुरू भएको हो भन्ने मान्यता धार्मिक ग्रन्थहरूमा पाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयका दिन तीजको निरहार व्रत बस्ने परम्पराले अघिल्लो दिन दर अर्थात् दरो किसिमले मिठो मिठो खाना खाने परम्परा बसेको हो । व्रतको दिन पेट अडिलो होस् भनेर बिहान कुखुरा नबासुन्जेल दर खाने गर्थे । तर, त्यही दर अहिले महिना दिन अघिदेखि खाने चलन बढेको छ । अहिलेको दरमा परिकार फेरिएका छन् । आधुनिक खानाको साथमा मदिरा पनि जोडिएको छ ।

अर्कोतिर वर्षदिनमा मनाइने तीजमा चेलीले गीतका माध्यमबाट घर माइतमा भएका व्यवहारका तिता अनुभूतिलाई प्रकट गरी आफ्ना बेदना पेख्ने गर्थे । अहिले तडक–भडक भएका भड्किला खालका मात्र गीतहरूमा टिकटक मार्फत नाचगान गरी सामाजिक सञ्जालमै भइरल गराउने र भाइरल हुने गरेको छ । सबै भन्दा बढी त सामाजिक सञ्जालबाट नै गीत र दरले नै यो चाडलाई विकृति बनाएको हो ।

नेपालको परिवेशमा मात्र यस्ता विकृति देखा परेको भारतमा रहेका एक नेपाली महिलाले भनिन् । सामाजिक सञ्जालमा देखिने तस्बिर र भिडियो अनुसार उनले यो कुरा गरेकी हुन् । ‘हिन्दु नेपाली नारीहरूकै महान चाड नेपालमा किन यस्तो विकृति बन्दै गएको हो ?’ भन्ने प्रश्न समेत उनको मनमा उब्जिएको छ ।

विदेशमा नेपाली चेलीबेटीले आफ्नै मौलिक परम्परमा तीज मनाएको देखिन्छ । तर, आफ्नै देशमा भने तीज विकृतितर्फ उन्मुख भएको देख्दा मन खिन्न भएर आउँछ । बढ्दो पश्चिमा संस्कृतिको प्रभावले आफूलाई अतिआधुनिक ठान्नेले नै विकृति भित्र्याएका हुन । आधुनिकताको नाममा समाज परम्परालाई भुलेर सांस्कृतिक अतिवादतर्फ ढल्किहेको छ । यसले हाम्रो संस्कृतिलाई ठूलो असर पार्छ । चाडपर्व भनेको कामको चापले गर्दा आफन्त, साथीसङ्गी टाढिँदै गइरहेबेला मिलनको अवसर प्राप्त हुने हो । चाडपर्वको माध्यमबाट सबैसँग भेट गर्ने अवसर प्राप्त हुन्छ । अरूको देखासिकी गरेर विकृति भित्र्याउनु भन्दा आफ्नै मौलिक संस्कृति जर्गेना गर्दै मनाउनु राम्रो हुन्छ । महङ्गो, तडक भडक र भड्किलो चाड हुन गयो भने यस चाडको महत्व पनि हराउँदै जान्छ । यस किसिमले विकृति बस्दै गयो भने सबै भन्दा महङ्गो चाड हुन जान्छ ।

तीज पर्व नभएर घरमै बसेर कपडा फेरी–फेरी सामाजिक सञ्जाल मार्फत टिकटकमै भाइरल हुने चाडको रूपमा रूपान्तरण हुन जान्छ । आर्थिक रूपले सम्पन्न परिवारले मात्र सामाजिक सञ्जालमा मात्र तीज पर्व मनाउन चलन आउन थाल्छ । विपन्न वर्गले टुलुटुलु हेरेर मात्र बस्नु विकल्प हुँदैन । त्यसपछि उनीहरूको लागि यसको कुनै औचित्य र महत्व रहँदैन ।

अहिले यो पर्वमा लत्ताकपडा, गरगहना र दरखाने प्रतिस्पर्धाको होडबाजी चलेको सामाजिक सञ्जालमा देखिन्छ । कसले कस्तो फेसन र महङ्गो कपडा, गरगहना लगाउन सक्छ र कति खर्च गरेर पार्टी प्यालेसमा खान सक्छ ? भन्ने एकप्रकारको प्रतिस्पर्धा नै चल्न थालेको छ ।

तीजको अघिल्लो दिन शुद्घ शाकाहारी खाएर उपवास बसेर परिवारको सुस्वास्थ, दीर्घायु हुने कामना गर्ने पर्व अहिले यसमा आएको विकृति महिलाहरूलाई पहिलाको जस्तो दुःख कष्ट नभएर नै होला यो पर्व अतिवादतर्फ ढल्कीरहेको । कुनै पनि कुरा महत्व त्यति बेलासम्म हुन्छ, जतिबेलासम्म उसलाई त्यसको आवश्यकता पर्छ । शहर वजार र आर्थिक सम्पन्न महिलाहरूलाई घरको कामकाज र बुहारतन यति बेला व्यहोर्न परेको छैन । बच्चा मोटेसोरी, गर्न सक्ने सासु ससुरालाई घरबारीकै काममा जिम्मा दिइने, नसक्नेलाई वृद्घाश्रममा राख्ने गरेको पाइन्छ । छोराले विहे गररे बुहारीलाई न त बुवाआमासँग नै राख्ने गर्छन् ।

त्यसैले पनि उनीहरूलाई बुहारतनको अनुभव नभएर तीज पर्वको महत्व हराउँदै गएको हो । विहे गरेर दिएका चेलीबेटी माइत जाने फूर्सद र समय नभएको हुनाले त्यसको त्यतिबेला नै महत्व थियो । तर, अहिले त्यस्तो छैन । वैदेशिक रोजगारमा रहेका अधिकांशका श्रीमती माइत या एक्लै स्वतन्त्र बस्छन् । त्यस्ता चेलीलाई न लिन जान पर्ने, न बोलाउन नै पर्ने भयो । त्यसैले पनि तीजको महत्व हराउँदै गएको हो । तर, अहिले पनि कतिपय ठाउँमा विहे गरेपछि बुहारीकै रूपमा आफ्नो भूमिका निभाउँदै आएका दिदीबहिनीहरू छन् । उनीहरूलाई मात्र यसको महत्व हुन्छ ।

तीज आयो गाउँ–सहर बजार सुनसान छ । महङ्गो पार्टी प्यालेस, होटेलहरूमा कपडा तथा गहनाको प्रदर्शन गरेर सामाजिक सञ्जालको टिकटकमा भने छुट्टै रौनक छ । ग्रमीण तथा दुर्गम ठाउँमा आर्थिक अभावकै कारण महिला दिदीबहिनीहरू राम्रो लगाउन, मिठो खान पाएका छैनन् । महिना दिनदेखि दर खानुको सट्टा आर्थिक रूपमा विपन्न महिलाहरूलाई शीप प्रदान गरी स्वरोजगार बनाउँदा महिलाहरू आत्मनिर्भर हुन्छन् । टिकटकमा भाइरल हुनु भन्दा सामाजिक काममा कति महिलालाई शीप प्रदान गरेर स्वरोजगार बनाए भन्नेतिर प्रतिस्पर्धा गर्दा राम्रो हुन्छ ।

तिनीहरूसँगै रमाइलो गर्दै आफ्नै मौलिक स्वरले नाचगान गरेर संस्कृति जोगाउँदा राम्रो हुन्थ्यो । दर खाने कार्यक्रम तथा टिकटक बनाउने होडबाजीले भोलिका चेलीबेटीले दुःख नपाउलान भन्न सकिँदैन । अब यसका लागि महिलाहरू पनि सचेत हुनुपर्छ । अतः अहिलेको गणतान्त्रिक नेपालले सबैभन्दा बढी असर नेपाली महिलालाई परेको देखिन्छ । त्यसैले महिलाले नै महिलालाई सहयोग सम्बृद्घि बनाउनु पर्छ । महिला नै राष्ट्रिपति भएको बेला महिलाहरू नै पछिाडिए भने त्यसको कुनै औचित्य हुँदैन ।

सक्रिय र क्रियशील तथा सम्पन्न वर्गका महिला दिदीबहिनीहरूले विपन्न वर्गका दिदीबहिनीलाई आत्मनिर्भर गरी राष्ट्रको हितमा कार्य गरौं । सबै दिदीबहिनी मिलेर दर खाउँ, नाचगान गरौं, रमाइलो गरौं, तीन दिनको चाडलाई महिना दिन नबनाऔं, सबै सचेत भएर आफ्नो संस्कृतिलाई यथार्थ राख्यौ भने मात्र तीज विकृति नभएर संस्कृति हुन जान्छ । हामी नेपाली, हाम्रो संस्कृति, हाम्रो पहिचान जोगाइ राखौं ।

[email protected]