November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

भैरहवाको सेजमा उद्योग स्थापनाले पूर्णता पाउँदै

भैरहवा– स्थापना भएको दुई दशकको अवधिमा पाँच–सात वटामात्र उद्योगमा सिमित रहेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाको क्रमले पूर्णता पाउँदै छ । विगतमा सेजमा उद्योगका लागि छुट्याइएका अधिकांश जमिनका प्लट खाली थिए । सेजमा उद्योगी–व्यवसायीको आकर्षण भन्दा नैराश्यताको क्रम बढ्दो थियो । उद्योग स्थापनाका लागि सम्झौता गरेका झण्डै एक दर्जन उद्योग सेज संचालनमा ढिलाइ भएको भन्दै सम्झौता रद्ध गरेका थिए ।

Advertisement

यसअघि कतिपय व्यवसायीले उद्योग संचालन गर्न भनेर जमिनको प्लट सम्झौता गर्ने तर तोकिएको अवधिसम्म पनि उद्योग स्थापनाको काम अघि नबढाएर ‘पर्ख र हेर’ को अवस्थामा बस्दा सेजले गती लिन सकेको थिएन । कछुवाको गतीमा रहेको मुलककै पहिलो निर्यातमुखी परियोजना भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) ले पछिल्ला दिनमा भने गती लिन थालेको छ । उद्योग स्थापना गर्न व्यवसायीले चासो देखाएका छन् ।

Advertisement

अहिले भने भैरहवा सेजमा जमिनका कुनै पनि प्लट खाली छैनन् । वर्षौंदेखि खाली रहेका सवै प्लटमा व्यवसायीले सम्झौता गरिसकेका छन् । एक–डेढ वर्षको अवधिमा क्षमता अनुरुप उद्योग स्थापना र संचालन भई पूर्णता पाउने दिशामा भैरहवा सेज अघि बढेको छ ।

‘भैरहवा सेजलाई केही समयभित्रै पूर्ण क्षमतामा संचालन हुने बातावरण तयार पारिएको छ’, बिशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘एक–डेढ वर्ष भित्रमा भैरहवा सेज उद्योगले भरिने छ र पूर्णता पाउने छ ।’ गत फागुन १५ गते सेज प्राधिकरणले खाली रहेको जमिनमा उद्योग स्थापना र संचालनका लागि प्रस्ताव पेस गर्न व्यवसायीलाई १५ दिने सूचना जारी गरेपछि सवै खाली प्लटमा व्यवसायीले प्रस्ताव पेस गर्दै सम्झौता समेत गरेका हुन् ।

भैरहवा सेजमा उद्योगका लागि छुट्याइएका कुल ६८ वटा जमिनका प्लटमध्ये ४६ वटा खाली थिए । जसमध्ये २२ वटा प्लटमा ९ जना व्यवसायीले उद्योग स्थापना गर्ने भनेर सेज प्राधिकरणसंग सम्झौता गरे तर उद्योग स्थापना गर्न चासो नदेखाएर लामो समयदेखि जमिन कब्जा गरेर राखेका थिए । सेज प्राधिकरणले उद्योग स्थापना नगरेर बल्झाएर राखेका सवै प्लटका सम्झौता खारेज गरि अन्य व्यवसायीलाई उद्योग संचालनार्थ प्रस्ताव पेसको माग गरेको हो ।

४६ वटा प्लटका लागि २३ वटा उद्योगले सम्झौता गरेका छन् । उद्योगले माग गरेको जमिनको प्लट सेज प्राधिकरणले पुर्याउन नसकेर धेरै माग गर्ने उद्योगलाई एक–दुइवटा घटाउँदै २३ वटै उद्योगलाई प्राधिकरणले जमिन उपलब्ध गराएको हो । सम्झौता गरेका सवै उद्योगले डेढ बर्ष भित्रमा उद्योग स्थापनाको काम सकेर संचालन गर्ने छन् ।

यस भन्दा अघि भैरहवा सेजमा जय बुद्ध मेटल क्राफ्ट, पंचकन्या स्टिल ट्यांक, शक्ति मिनरल्स, भी स्टार ग्लोबल प्रालि, एस पोलिमर्श, तिरुपती मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरि सात वटा उद्योग संचालनमा छन् । यी उद्योगले २२ वटा प्लट उपयोगमा ल्याएका छन् । खाली प्लटमा बर्वाौंदेखि उद्योग स्थापना नहुँदा सेज झाडी र जंगलमा परिणत भएको थियो ।

उद्योग स्थापनाका लागि सम्झौता गरेका २३ वटै उद्योग संचालनका लागि सेज प्राधिकरणले अनुमती पत्र पनि जारी गरिसकेको भट्टले जनाए । भैरहवा सेजमा पहिला संचालनमा आएका ७ र अव नयाँ लाग्ने २३ गरि कुल ३० वटा उद्योग संचालनमा हुने उनले बताए । ‘सम्झौता गरेका नयाँ उद्योगमध्ये केही फिल्डमा पुगेर कम्पाउण्डवाल लगाउने, जमिन सम्याउने र कारखानाको ड्रोइङ बनाउने काम गर्न थालिसकेका छन्’, भट्टले भने, ‘अन्य स्थानीय तहको निर्बाचनका कारण केही ढिलाइ भएको हो । अव सवै फिल्डमा पुगेर उद्योग स्थापनाको काम अघि बढाउनेवाला छन् ।’

अव नयाँ थपिने उद्योगमा भान्सामा प्रयोग हुने प्रेसर कुकर, राइस कुकर, भाडाबर्तन, आल्मुनियमका डिस्पोजल प्याकेट, ट्वाइलेट पेपर, टिस्युपेपर, जडिबुटी, ढुंगा कुदेर मूर्ति बनाउने, कवाडलाई प्रशोधन गरेर धातु बनाउने, कन्डक्शन चुल्हो, सिमेन्टको बोर्ड बनाउने, छालाको सामान उत्पादन, गार्मेन्ट, फर्निचरसंग सम्बन्धित छन् ।

भट्टका अनुसार, भैरहवा सेजमा लाग्ने ति उद्योगको लगानी साढे ७ अर्व रुपैयाँ र रोजगारी २ हजार ५ सय ३४ जनाको प्रस्ताव पेश गरेका छन् । वार्षिक उत्पादन १८ अर्व ५ करोड रुपैयाँको र वार्षिक निर्यात १० अर्व ८४ करोड रुपैयाँ मूल्य बराबरको प्रस्तावमा व्यवसायीले पेस गरेका छन् ।

व्यवसायीले उद्योग संचालनको पहिलो दुई बर्ष उत्पादित बस्तुको बजारको खोजी, उद्योगमा उपकरण र कर्मचारीको सेटिङ र परीक्षण उत्पादनमा समय लाग्ने भएकाले निकासी छुटको माग गरेका छन् । प्राधिकरणको नियम अनुसार उद्योग संचालनको पहिलो वर्ष निकासी गर्न नपर्ने र दोस्रो वर्ष उत्पादनको ६० प्रतिशत गर्नु भन्ने प्रावधान छ ।

‘व्यवसायीले उठाएको यो निकासीको विषय अलि पेचिलो भएकाले समस्या समाधानका लागि सेज प्राधिकरणको बोर्ड बैठकले उपसमिति गठन गरेको छ’, भट्टले भने, ‘व्यवसायीको मागलाई सम्बोधन हुने गरि समितिले प्रस्ताव पेश गरेपछि सरकारबाट निर्णय गराइने छ ।’ भट्टका अनुसार, सेजमा स्थापना हुने उद्योगका लागि दुई बर्ष निकासीमा पूर्ण छुट, तेश्रो वर्षका लागि उत्पादनको २० प्रतिशत निकासी गर्नु पर्ने, चौथो वर्ष ४० प्रतिशत निकासी र पाँचौं बर्षदेखि ६० प्रतिशत निकासी गर्नुपर्ने नियम बनाइँदैछ । यो नियमलाई मन्त्रिपरिषदबाट निर्णय गराएर स्विकृतिको तयारी गरिएको छ ।

भैरहवा सेजमा बिद्यमान विद्युत समस्या समाधानका लागि यसै वर्ष ३३ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको उनले बताए । ‘तत्काल उद्योग स्थापनाका लागि विद्युतको समस्या नभए पनि डेडिकेटेड लाइन नभएकाले भोल्टेजमा कमी र वारम्बार ट्रिपिङको समस्या छ’, भट्टले भने, ‘समाधानका लागि तत्कालै सवस्टेशन निर्माणको काम अघि बढाउँदै छौं ।’