स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिन सुझाव



भैरहवा– स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाइ प्राथमिकता र आत्मनिर्भर बनेका बस्तुको आयातमा कडाइ गर्न लुम्बिनी प्रदेशका व्यवसायीले सरकारलाई सुझाव दिएका छन् ।
स्वदेशमा उत्पादन बृद्धि गरि बिदेश निर्यात बढाउन र बर्षेनि बढ्दै गइरहेको व्यापार घाटा कम गर्न सरकारले नीतिगत सुधार र निर्यातका लागि सहजिकरण गर्नुपर्ने धारणा व्यवसायीको छ । सरकारको नीतिगत कमजोरी र निर्यातका लागि सहजिकरण गर्न नसक्दा बिगतमा बिदेश निर्यात हुँदै आएका नेपाली उत्पादन अहिले निर्यात हुन नसकेको र लागत बढ्न गइ प्रतिष्पर्धा गर्न समस्या भएको व्यवसायी बताउँछन् ।
‘स्वदेशमैं उपलब्ध हुने कच्चा पदार्थमा आधारित उद्योग के–के हुन सक्छन् ? पहिचान गर्नु पर्यो’, परराष्ट्र मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशद्वारा भैरहवामा आयोजित विदेश निर्यात प्रबद्र्धन सम्बन्धि कार्यक्रममा स्थानीय व्यवसायी तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले भने, ‘बिदेश निर्यातका लागि कच्चा पदार्थ आयात गरेर उत्पादन गर्दा लागत धेरै पर्ने भएकाले स्वदेशी प्राकृतिक श्रोत साधानमा आधारित उद्योगको खोजी र प्रथामिकता दिनु पर्यो ।’
नेपालमा बढ्दो बिद्युतको उत्पादनलाई धेरै भन्दा धेरै खपत गर्न सक्ने उद्योग संचालन गर्न सरकारले व्यवसायी प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न जरुरी भएको उनले बताए । स्वदेशी कच्चा पदार्थ, धेरै बिद्युत खपत गर्ने र बिदेश निर्यातको बलियो सम्भावना रहेका उद्योग नेपालमा सिमेन्ट र स्टिल भएको उनले बताए ।
अग्रबालका अनुसार, सिमेन्टका लागि कच्चा पदार्थ क्लिंकर बनाउने ढुंगा खानी नेपालमा प्रशस्त रहेको र यसको समुचित ढंगले उत्खनन् गरि उपयोग गर्न सकिन्छ । क्लिंकर र सिमेन्टमा पछिल्ला बर्ष नेपाल आत्मनिर्भर रहेको छ । गत बर्षमात्रै स्वदेशमा उत्पादन हुन थालेपछि ७९ अर्व रुपैयाँ बराबरको क्लिकंर आयातलाई प्रतिस्थापन भएको दावी उनले गरे । यसैगरि, नेपालका फलाम खानीको चाँडो भन्दा चाँडो उत्खनन् गरि स्पन्ज आइरन र फलामे ब्लेडको उत्पादनमा प्राथमिकता दिने नीति सरकारले ल्याउन उनले आग्रह गरे ।
‘नेपालको कच्चा पदार्थमा आधारित रहेर उत्पादन गरिने सिमेन्ट र फलामे डन्डी भारत निकासी गरि सिमानादेखि २ सय किमी परसम्म बजार लिन सक्ने प्रचुर सम्भावना छ’, अग्रबालले भने, ‘यसका लागि सरकारले उपयुक्त नीति र भारतसँग पहल गर्न सक्नु पर्छ ।’
लुम्बिनी प्रदेशमा निर्यातको सम्भावना, समस्या र निर्यात् प्रबद्र्धनका लागि परराष्ट्र मन्त्रालयका बिदेशस्थित नेपाली नियोगहरुको भूमिका बिषयक कार्यक्रम मार्फत् बिदेश निर्यातका वारेमा व्यवसायीको धारणा लिइएको थियो । सिमेन्ट र छड बाहेक वन तथा जडिबुटी पैदावार, नदीजन्य सामाग्री, दाल, मैदा, गहुँको चोकर, फलफूल र कृषिजन्य उत्पादन बिदेश निर्यातका सम्भावना धेरै भए पनि यसतर्फ सरकारको ध्यान र पहल हुन नसकेको गुनासो व्यवसायीको थियो ।
बिदेशमा रहेका राजदुतावास र नेपाली नियोगले पनि ति देशमा नेपाली कुन बस्तु तथा उत्पादनको बजार हुन सक्छ ? भन्ने वारेमा कुनै सोधखोज नगरेको आरोप व्यवसायीले लगाए । पंचकन्या इण्डष्ट्रिजका महाप्रबन्धक देबेन्द्र साहुले स्वदेशमैं उत्पादन भएका तथा हुने सामानको बिदेशबाट हुने आयातमा कडाइ गर्न सुझाव दिए । नेपालमैं पीपीभीसी पाइप तथा पाइप फिटिङका सामान उत्पादन गुणस्तरीय हुँदाहुँदै पनि बाहिरबाट आयात हुने गरेको उनले बताए ।
नेपाल रोडा ढुंगा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवालीले सरकारले नदीजन्य सामाग्रीको सही ढंगले व्यवस्थापन गर्न नसक्दा अर्बौ मूल्यका नदीजन्य सामाग्रीको निकासी हुन नसकेको र वर्षेनि बाढीले ति सामाग्री बगाउँदै भारत पुर्याउने गरेको बताए । ‘नदीजन्य सामाग्रीको भारत निकासीमा सरकारले रोक लगाउनुको सट्टा सही ढंगले व्यवस्थापन गरि निकासी खोल्न जरुरी छ’, ज्ञवालीले भने, ‘निकासीमा रोक लगाइए पनि न नदीजन्य सामाग्रीको उत्खननमा हुने दोहन रोकिएको छ, नत नदीजन्य सामाग्री बगाएर भारत पुर्याउने क्रमलाई नै रोक्न सकिएको छ ।’
घराना आटा मैदा मिलका संचालक बिकास गोयन्काले नेपाली आटा र मैदाको माग चीनमा धेरै राम्रो हुँदाहुँदै पनि चीन सरकारले लिने गरेको करको भार अत्याधिक बढी भएकाले नेपाली आटा मैदा निर्यात् हुन नसकेको बताए । बर्षौंदेखि भारत निकासी हुँदै आएको गहुँको चोकरमा पनि भारतीय क्वारेन्टाइनले संवेदनशील बस्तुको श्रेणीमा राखिदिएपछि २०७४ देखि निकासीमा अवरोध भैरहेको उनले बताए ।
‘यसका लागि सरकारले आफ्ना बिदेशस्थित कुटनीतिक नियोग मार्फत् निकासीका लागि पहल गर्न जरुरी छ’, गोयन्काले भने । अर्पित दाल उद्योगका संचालक ऋषिकेश अग्रवालले दुई दशक अघिसम्म दाङ, कपिलबस्तु र नवलपरासीको मसुरोको दाल बंगलादेश र खाडी मुलुकमा पुगेर सिधै डलर आउने गरेकोमा अहिले उत्पादनमा कमी र बंगलादेश निकासीका लागि एउटामात्रै फुलवारी–पानीट्याकी नाका प्रयोग गर्नु पर्ने भएकाले ढुवानी धेरै पर्नाले निकासीमा समस्या भैरहेको बताए ।
‘सरकारले स्थानीय किसानलाई कृषि उत्पादनमा प्रोत्साहित हुने नीति प्रभावकारी ढंगले लागु गर्न सकेन’, अग्रवालले भने, ‘पहिला भैरहवा नाका हुँदै बंगालादेश र तेश्रो मुलुकमा निकासी गरिन्थ्यो अहिले किन नपाइने ? ।’ लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले नेपाली बस्तु बिदेश निकासीमा देखिएका समस्या समाधानका लागि संघ, प्रदेश सरकारसंग समन्वय गरि सहजिकरण गरिने बताए । ‘निकासीमा कानुनी तथा व्यवहारिक समस्या कहाँ–कहाँ के–के छन् ? पहिल्याउँदै समस्याको गांठो फुकाउँदै लगिने छ’, प्रमुख सचिव शर्माले भने, ‘समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालय मार्फत् बिदेशस्थित कुटनीतिक नियोगबाट समेत पहल गरि लगानीको बातावरण तयार गरिने छ ।’








लेखकको सम्वन्धमा