November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

व्यवसायीको आफ्नै बलबुतामा अर्बौंको उत्पादन भारत निकासी

भैरहवा- यहाँस्थित विशेष आर्थिक क्षेत्र (सेज) मा संचालित चार वटा उद्योगले १६ महिनामा १ अर्ब भन्दा धेरै मूल्यको उत्पादन निकासी गरेका छन् । सेज प्राधिकण र सरकारी निकायबाट निर्यातका लागि सहजिकरण र प्रोत्साहन नहुँदा नहुँदै पनि कोरोना संक्रमणले लामो समयसम्म निम्त्याएको विभिन्न प्रतिकुल परिस्थितिसँग जुझ्दै ति उद्योगले भारत निकासी गरेका हुन् ।

Advertisement

आव २०७७÷०७८ को साउनदेखि ०७८ को कात्तिक महिनासम्ममा १ अर्व भन्दा धेरैको उत्पादन व्यवसायीको आफ्नै बलबुताबाट भारत निकासी भएको हो । सेज ऐनमा उल्लेख गरिए अनुरुपको सेजमा संचालित उद्योगले पाउनु पर्ने सेवासुबिधा र प्रोत्साहन पाउन नसकिएको गुनासो व्यवसायीले गर्दै आएका छन् ।

Advertisement

भैरहवा सेजका अनुसार, भीस्टार ग्लोबल्स, ब्रिलेन्टस लाइट्स, शक्ति मिनरल्स र पंचकन्या स्टिल्सले आफ्ना उत्पादन भारत निकासी गरेका हुन् । यही अवधिमा यि उद्योगले १४ करोड भन्दा धेरै मूल्यको उत्पादन आन्तरिक बजारमा बिक्री गरेको सेजकी कर्मचारी निरा भट्टराइले बताइन् । कोरोना संक्रमणले निम्त्याएका अनेक समस्याको सामान गरेर भए पनि यहाँ संचालित ति कोरोना संक्रमण कालमा उद्योग बन्द नभएको भनाइ उनको छ ।

उनकाअनुसार, भी स्टार ग्लोबल्सलेमात्रै ९३ करोड भन्दा धेरै मूल्यको उत्पादन निकासी गरेको छ । आन्तरिक बजारमा ३ करोड ६० लाख भन्दा धेरैको बिक्री गरेको छ । ब्रिलेन्टस लाइट्सले ५ करोड ६५ लाख भन्दा धेरैको उत्पादन निकासी र ३ करोड ७० लाखको उत्पादनमा आन्तरिक बिक्री गरेको छ । शक्ति मिनरल्सले ४२ लाख मूल्यको निकासी र ३ करोड ३६ लाख रुपैयाँ भन्दा धेरैको आन्तरिक बिक्री गरेको छ । पंचकन्या स्टिल्सले ५ लाख ८२ हजार मूल्यको उत्पादन निकासी र ३ करोड १३ लाख मूल्यको आन्तरिक बिक्री गरेको छ ।

कोरोनाका कारण लकडाउनको अवधिमा निकै सुस्ताएका ति उद्योगले लकडाउन खुलेपछि निकासीलाई तिब्र बनाउँदै लगेका छन् । लकडाउनका कारण मजदुरको अभाव, ढुवानी साधनको असहजता, ढुवानीका साधनमा प्रशासनिक तथा प्रहरीको अवरोध लगायतका समस्या व्यवसायीले झेलेका थिए ।

सरल र सहज रुपमा सेज संचालनका लागि सरकारकै एकअर्का मन्त्रालयबीच समन्वयको अभाव, केन्द्रकृत प्रशासनिक सेवा, सेज ऐनमा उल्लेख गरिए अनुरुपका सेवा सुबिधा तथा भौतिक पूर्बाधारबाट बञ्चित, सरकारी कर्मचारी तथा सेज पदाधिकारीको घुमाउरो पाराको आसयसहितको काम पन्छाउने प्रबृत्ति लगायतका कारण धेरैले भैरहवा सेजमा राम्रो भविष्य देख्न छाडेका वेला यि व्यवसायीले भने निकासी गरेर सकारात्मक सन्देश दिएका छन् ।

व्यवसायीलाई सहजिकरण र प्रोेत्साहनको सट्टा उल्टै सेज प्राधिकरणबाट हत्तोत्साहित गर्ने प्रयास भैरहेको र भन्सार लगायतका सरकारी प्रशासनिक निकायबाट प्रतिकुल परिस्थितिमा पनि सहजिकरण नगरिएको आरोप व्यवसायीको छ ।

‘सेज ऐनमा उल्लेख गरिए अनुरुपको व्यवसायीलाई सेवा सुबिधा र पूर्वाधार उपलब्ध गराउनेतर्फ न सेज प्राधिकरणको ध्यान गएको छ, नत सरकारकै’, भैरहवा सेजको पहिलो उद्योग शक्ति मिनरल्स प्रालिका संचालक दीपककुमार झाले भने, ‘सेज ऐन अनुरुपको सेवा दिने वारेमा सेज र भन्सारबीच नियम बाँझिएका छन् । सहजिकरणको पहल सरकारबाटै हुन सकेको छैन ।’

उनकाअनुसार, आफ्ना उत्पादन भारत निकासीका लागि गाडी मगाउँदा कोरोना संक्रमणका वेला भारतीय गाडी सेजसम्म आउन मानेनन् । ७२ घण्टाभित्र भन्सार पार हुने सुबिधामा अन्य व्यवसायीको औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान लिएर आएका भारतीय गाडीवालासंग सम्पर्क गरेर फर्किदा सेजको उत्पादन पठाउनु परेको थियो । रित्तो भारततर्फ जाने गाडीबाट आफ्ना उत्पादन पठाउँदा भन्सारले ति गाडीबाट शुल्क लिनाले त्यसको असर सेजका व्यवसायीलाई परेको हो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले औद्योगिक तथा कच्चा पदार्थ लिएर नेपाल छिरेका गाडीले ७२ घण्टा भित्रै फर्किदा कुनै शुल्क नलाग्ने भए तापनि ति गाडीले नेपालमा माल लोड गरेर फर्केको खण्डमा भने शुल्क लाग्ने प्रावधान रहेको बताए ।

पासवानका अनुसार, भैरहवा भन्सार परिसरसम्म आएर अनलोड गरेर फर्किने गाडीसंग पनि कुनै शुल्क लाग्दैन । तर सेजसम्म आएर ढुवानी गरि भारततर्फ जाने गाडीलाई शुल्क लाग्छ । सेज ऐनमा सेजलाई पनि भन्सार सरह मान्यता दिइ त्यही किसिमको सुबिधा दिने बारेमा अर्थ मन्त्रालयबाट भन्सारलाई कुनै किसिमको पत्राचार भएको छैन ।

कोराना संक्रमणका कारण लकडाउन गरिएको चार महिनाको विद्युत महशुलमा नेपाल बिद्युत प्राधिकरणले व्यवसायीलाई दिएको डिमाण्ड चार्जको छुट सेज प्राधिकरणले नमानेर व्यवसायीबाट असुलउपर गर्न अनेक धम्की दिने गरेको आरोप व्यवसायीले लगाएका छन् । ‘सेज प्राधिकरण आपैmले लकडाउनको अवधिमा व्यवसायीलाई भूमि कर बापतको रकम छुट दिनु पर्ने अवस्थामा उल्टै बिद्युत प्राधिकरणले दिएको डिमाण्ड चार्ज छुट पनि हामीबाट असुल्न खोजेको छ’, सेजभित्रका एक व्यवसायीले भने, ‘सेजका हामी व्यवसायीले बिद्युत महशुल सिधै बिद्युत प्राधिकरणबाट नभइ सेज प्राधिकरण मार्फत् बुझाउनु पर्ने हुन्छ ।’