नवौं तिलोत्तमा महोत्सवको तयारी पूरा, पाँच लाख दर्शक भित्र्याउने लक्ष्य



तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा आयोजना हुन लागेको नवौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने मेलाका लागि स्टल निर्माण, बाल उद्यान, सांस्कृतिक कार्यक्रम तथा सुरक्षा व्यवस्थापनलगायतका काम अन्तिम चरणमा पुगेका छ ।
आयोजकले बुधवार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी गराएका हुन्। संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले हालसम्म ३२५ वटा स्टल दर्ता भइसकेको जानकारी दिए। उनका अनुसार मेलामा पाँच लाखभन्दा बढी दर्शक भित्र्याउने र करिब १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको बताए ।
मेला आगामी मंसिर ३ गतेदेखि १६ गतेसम्म संचालन हुनेछ । अध्यक्ष कार्कीले विगतका मेलाभन्दा यसपटकको मेलालाई थप सार्थक र फलदायी बनाउने उद्देश्यले रोजगार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आर्थिक रुपले पनि बलियो बनाउने कार्यक्रम तयार गरिएको बताए। उनले स्थानीय उत्पादन, उद्योग, व्यवसाय तथा उद्यमशीलताको प्रवर्द्धनमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
१४ दिनसम्म सञ्चालन हुने मेलालाई समग्र तिलोत्तमावासीको साझा उत्सवका रूपमा स्थापित गर्ने उद्देश्यले नगरभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सरोकारवाला संघसंस्थासँग छुट्टाछुट्टै छलफल गरिएको आयोजकले जनाएका छन् । साथै, उनीहरूलाई संघले मेला आयोजक समितिको सदस्यसमेत बनाएको छ।
मेलाको मुख्य प्रवेशद्वारमा लुम्बिनी, जनकपुरदेखि पशुपतिनाथसम्मको धार्मिक तथा सांस्कृतिक पहिचान झल्किने गरी आकर्षक गेट निर्माण गरिएको छ। यसले मेलामा आउने दर्शकलाई नेपालको धार्मिक तथा सांस्कृतिक विविधताको झलक दिने आयोजकको अपेक्षा छ।
मंसिर १६ गतेसम्म सञ्चालन हुने मेलामा उद्योग, व्यापार, पर्यटन, कृषि, रोजगार तथा उद्यमशीलतालगायतका विषय समेटेर १२ वटा फरक–फरक विषयमा प्यानल छलफलसमेत आयोजना गरिने अध्यक्ष कार्कीले जानकारी दिए।
मेलाले स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधिको विस्तार, नयाँ उद्यमीलाई प्रोत्साहन तथा रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।








लेखकको सम्वन्धमा