June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती

Advertisement

भैरहवा – रुपन्देहीमा पाँच निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचन क्षेत्रका फरक समस्या छन् । त्यतिमात्र होइन फरक नेतृत्व पनि स्थापित छन् । प्रत्येक निर्वाचनले नयाँ नेता तय गर्दै आएका छन् । जिल्लामा उत्तर–दक्षिण फैलिएको रुपन्देही–१, शान्त तर अप्रत्याशित नतिजा दिने क्षेत्रका रुपमा छ । यसपटक उक्त क्षेत्रबाट अधिकांश नयाँ व्यक्ति उम्मेदवार छन् । उनीहरुलाई एकारित मत परिणाम पक्षमा पार्नुपर्ने चुनौंती छ । अर्कोतिर मतदातासित छिटो घुलमिल हुनुपर्ने छ ।

Advertisement

यसपटक रूपन्देही–१ बिगतमा भन्दा फरक माहोल बनेको छ । सबै पहिलो जितको प्रतीक्षामा रहेकाले माहोल रोमाञ्चक भएको हो । स्थानीय राजनीतिमा चिरपरिचित अनुहार भए पनि संसदीय चुनावमा अभ्यस्त भइसकेका छैनन् । अहिले उक्त क्षेत्रमा ठूला सभा, सम्मेलन नभएपछि उम्मेदवारहरु गाउँ–गाउँमा पुगेर मतदातासित भेटघाट गरिरहेका छन् । जसरी हुन्छ जनमत आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन् ।

रुपन्देही–१ मा यसपटक काँग्रेसले देवदह नगरपालिकाका पूर्वप्रमुख हिराबहादुर केसीलाई उम्मेदवार बनाएको छ । उनको जनस्तरमा पहुँच छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट घनश्याम यादव, एमालेबाट दधिराम न्यौपाने, रास्वपाका सुनिल लम्साल, राप्रपाबाट पूर्वमन्त्री दीपक बोहराका कान्छा छोरा प्रज्वल मैदानमा छन् । एमालेबाट उम्मेदवार बनेका न्यौपाने पूर्व प्रदेशसभा सदस्य हुन् । लम्साल रास्वपाका महामन्त्री हुन् । नेकपा (संयुक्त) ले रामचन्द्र भट्टराईलाई उमेदवार बनाएको छ । प्रदेशसभा सदस्य हुँदा क्षेत्र बिकासमा काम गरेको भन्दैं न्यौपानेले मत मागिरहेका छन् ।

रास्वपाले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाहका सल्लाहकार इन्जिनियर लम्साललाई उम्मेदवार बनाएको हो । उनी दिनरात घरदैलोमै व्यस्त छन् । लम्साल तिलोत्तमा–७, का बासिन्दा हुन् । २०७९ निर्वाचनमा प्राप्त मत जोगाउँदै जनताको मन जित्ने कोशिसमा छन् । राप्रपाका बोहरा पनि पार्टीको पकड रहेको रोहिणी र ओमसतिया गाउँपालिकासँगैं उत्तरी क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त छन् । कांग्रेसका केसीको देवदह नगरपालिकामा पकड छ । त्यसैले उनी दक्षिण क्षेत्रमा पहुँच पुर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्याउन लागि परेका छन् । रुपन्देही–१ मा २० स्वतन्त्रसहित ३१ जना उमेदवार रहेकाले प्रतिस्पर्धा रोचक छ ।

२०७९ को निर्वाचनमा रुपन्देही–१ बाट एमालेका छविलाल विश्वकर्मा २४ हजार ८ सय ८२ मत ल्याएर बिजयी भएका थिए । निकटतम प्रतिस्पर्धी घनश्याम भुसाल २१ हजार ३ सय १८ मत प्राप्त गरेका थिए । रास्वपाका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १ सय ४५ र नागरिक उन्मुक्तिका धनिराम चौधरीले १३ हजार ९ सय ६२ मत ल्याएका थिए । समानुपातिकतर्पm कांग्रेसले १९ हजार १ सय २५, एमालेले १५ हजार ७ सय २४, राप्रपाले ११ हजा २ सय ४३, रास्वपाले १५ हजार ८ सय र माओवादी केन्द्रले ३ हजार ७३ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा तत्कालीन लोक–बाम गठबन्धनबाट उम्मेदवार बनेका भुसाल यसपटक चुनावी मैदानमा छैनन् । नेकपा (संयुक्त) बाट तिलोत्तमाका रामचन्द्र भट्टराई उमेदवार छन् । जनमत पार्टीबाट उम्मेदवार निलुकुमारी चौधरी पनि प्रभावशाली मानिएकी छन् । रूपन्देही–१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, र ६ वडा समावेश छन् । उक्त क्षेत्रमा १ लाख ४६ हजार ८ सय २४ मतदाता छन् । ४५ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र छन् ।

यस क्षेत्रमा २०४८ देखि ०५६ सम्म लगातार कांग्रेसका दुर्योधनसिंह थारुले चुनाव जितेका थिए । ०६४ मा एमालेबाट तत्कालीन माओवादी प्रवेश गरेर उमेदवार बनेर घनश्याम यादव विजयी भएका थिए । यादवले कांग्रेसका अब्दुल रज्जाक र एमालेका छविलाल विश्वकर्मा पराजित गरेका थिए । २०७० मा एमालेका विश्वकर्मा र कांग्रेसका रज्जाकबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला कांग्रेसका रज्जाक बिजयी भएका थिए । २०७४ मा विश्वकर्मा र रज्जाकबीच टक्कर भएको थियो । त्यसबेला विश्वकर्माले जिते । यसपटक परिस्थिति बदलिएको छ । रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सशक्त रुपमा मैदानमा उत्रिएका छन् । एमाले–काँग्रेसलाई राप्रपा र रास्वपाले चुनौती दिइरहेका छन् ।

रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक

दाङ-३ : युवा, पूर्वमन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म चुनावी मैदानमा, बाचा भने अनेक

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?