June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सौराहामा पर्यटकको घुँइचो

Advertisement

चितवन (सौराहा)– चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा रहेको सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र अवलोकन गर्ने पर्यटकको घुँइचो लाग्न थालेको छ । प्रत्येक दिन हात्ती प्रजनन केन्द्र आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ हुने गरेको क्षेत्रीय होटल संघका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए ।

Advertisement

संरक्षणका दृष्टिले महत्वपूर्ण मानिने केन्द्रमा विशेषगरी हात्तीका साना छावा नजिकबाट नियाल्न पाइने भएकाले आकर्षण बढेको हो । प्रजनन केन्द्रका अनुसार केन्द्रमा दैनिक एक हजारदेखि १ हजार ५ सयसम्म पर्यटक आउने गरेका छन् । ‘सप्ताहन्त र सार्वजनिक बिदामा यो संख्या अझ बढेर करिब २ हजारसम्म पुग्ने गरेको छ’, पर्यटन व्यवसायी समेत रहेका अध्यक्ष पाण्डेले भने । यहाँ भित्रिने प्रत्येक आगन्तुकले तिर्नुपर्ने प्रवेश शुल्क ५० रुपैयाँ छ । कम मूल्यमा अनौठो र शैक्षिक गन्तव्यसमेत भएकाले सबै उमेर समूहका मानिस यहाँ आकर्षित भइरहेका छन् ।

हात्ती संरक्षण, प्रजनन तथा तालिम सम्बन्धी गतिविधि प्रत्यक्ष हेर्न पाइने भएकाले केन्द्र धेरैका लागि विशेष अनुभव बन्न पुगेको छ । आमा हात्तीले बच्चालाई खुवाउने दृश्य, तालिम लिने हात्तीको दिनचर्या, चरन तथा उपचार प्रक्रिया पर्यटकको मुख्य आकर्षण हुन् । कतिपय पर्यटकले हात्ती नजिक हेर्न पाउनु आफैँमा दूर्लभ अनुभव भएको प्रतिक्रिया दिएका छन् । पर्यटकको लगातार बढ्दो चापसँगै सौराहा क्षेत्रका होटल, रेष्टुरेन्ट, सवारी–सुविधा प्रदायक तथा स्थानीय व्यवसायमा सकारात्मक प्रभाव परेको छ ।

केन्द्रका कर्मचारीका अनुसार हात्ती प्रजनन तथा तालिम केन्द्रको उद्देश्य हात्तीको प्रजनन, संरक्षण, तालिम, मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा घाइते हात्तीको उद्धार–उपचारसमेत हो । नेपालकै एक मात्र सरकारी हात्ती प्रजनन केन्द्र भएकाले यो शैक्षिक अध्ययन र अनुसन्धानका लागि पनि महत्वपूर्ण मानिन्छ ।

बिहानदेखि बेलुकासम्म खुला रहने यस केन्द्रमा विशेषगरी पारिवारिक समूह, विद्यार्थी, वन्यजन्तुमा रुचि राख्ने युवा तथा विदेशी पर्यटकको उपस्थिति उल्लेखनीय छ । सामाजिक सञ्जालमा बढ्दो प्रचार–प्रसारले पनि भिड–भाड बढ्न सहयोग पुगेको छ । पर्यटकको चाप बढिरहेको अवस्थामा केन्द्रले सुरक्षात्मक व्यवस्थासहित हात्तीको हेरचाह र संरक्षणलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।