चार्टर विमानमार्फत् भियतनामबाट १८० बौद्धमार्गी भैरहवा आउँदै

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि चार्टर विमानमार्फत भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी भैरहवा आउने भएका छन् । लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका उनीहरु चार्टर विमानमार्फत् वैशाख ५ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लन छन् । भैरहवा ओर्लिएर उनीहरु सिधै बुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यतालिका छ ।
भियतनाम एयरलायन्सको विमानबाट १ सय ८० पर्यटक सिधै भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । भैरहवामा अवतरण हुने पर्यटक शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन् । उनीहरू वैशाख ६ गते लुम्बिनीबाट सडकमार्ग हुँदै भारतको वाराणसी जानेछन् । उनीहरूलाई ल्याउने चार्टर विमान भने भैरहवाबाट खाली नै भियतनाम फर्किनेछ ।
दोस्रो चरणमा रुप्से होलिडेजले भियतनामबाट काठमाडौंका लागि दुइटा चार्टर उडान गर्दै छ । ती उडान जेठ २ र १२ गते हुनेछन् । रुप्सेले यसअघि भियतनाम–काठमाडौंमा थुप्रै पर्यटकीय चार्टर उडान गरिसकेको छ ।
भियतनामबाट पहिलोपटक भैरहवामा सिधा चार्टर उडान हुन लागेको हो । यो उडान भियतनाम र नेपालबीचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका लागि आयोजना हुन लागेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्