‘नरसंहार’का बाबजुद रुससँग वार्ता जारी रहन्छ : राष्ट्रपति जेलेन्स्की


युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्।
राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको आरोप लागेको छ।
बुचा पुगेका जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार तथा युद्ध अपराध गरेको पछिल्लो भयावह प्रमाण बुचाको अवस्था रहेको बताए।
विनाप्रमाण रुसले भने बुचाका तस्बिर तथा भिडियोलाई ‘फेक’ भन्दै अपराध अस्वीकार गरेको छ। रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ।
किएभ नजिकका क्षेत्रमा ४१० जना सर्वसाधारणको शव भेटिएपछि युद्ध अपराधलाई लिएर अनुसन्धान सुरु गरेको युक्रेनले जनाएको छ। केही शव सामूहिक चिहानमा भेटिएका हुन् भने केही हात बाँधेर नजिकबाट गोली हानिएको अवस्थामा भेटिएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बुलेट प्रुफ भेस्ट लगाएर युक्रेनी सैनिकका साथमा बुचा पुगेका राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकले स्थानीय बासिन्दामाथि ‘पशुलाई भन्दा पनि खराब’ व्यवहार गरेको बताए। उनले भनेका छन्, ‘यो वास्तविक नरसंहार हो, तपाईँहरुले यहाँ जे देख्नु भयो।’
पत्रकारले वार्ता सम्भव रहे नरहेकोबारे गरेको प्रश्नमा जेलेन्स्कीले भने, ‘वार्ता हुन्छ, किनकि युक्रेनलाई शान्ति चाहिएको छ। हामी २१ औँ शताब्दीमा छौँ। कूटनीतिक र सैन्य रुपमा हामीले प्रयास जारी राख्ने छौँ।’
प्रतिकृया दिनुहोस्