October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

मुख्यमन्त्री पोखरेलको नेतृत्वमा सांसद अपहरण : विपक्षी दलहरु

भैरहवा– मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा सांसद विमलाकुमारी खत्री वलीको अपहरण गरी मुख्यमन्त्री निवासमा बन्धक बनाइएको भन्दै लुम्बिनीका विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।

बिहीबार माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै सांसद वलीलाई उनकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री शंकर पोखरेल र एमालेको भत्र्सना गरेका छन् ।

विपक्षी दलहरुले सरकारको नेतृत्वमै अपहरणजस्ता आपराधिक घटनामा प्रत्यक्ष संलग्नता हुनुले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने आशंका गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश सरकारले यस्ता आपराधिक घटनामा संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा उपस्थित गराउनु पर्छ । अपराधको बलमा सरकारमा टिकिरहने दुश्वप्न नदेख्न चेतावनी दिन्छौं ।’

विज्ञप्तिमा अविश्वासको प्रस्तावका सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद बहिस्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना भैरहेको जनाउँदै भनिएको छ, ‘अब पछिल्लो चरणमा केन्द्रीय संसदमा जस्तै यहाँ पनि मुख्यमन्त्री स्वयं सांसद अपहरण, धम्की र किनवेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न हुँदै गरेको त होइन भन्ने गम्भीर आशंका जन्माएको छ ।’

विपक्षीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा वलीलाई बन्धक बनाइएको आरोप लगाएका छन् । पोखरेल सरकार बैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रुपमा संचालन भैआएको सर्वविदितै भएको उनीहरुले जनाएका छन् ।

आजै सांसद वलीले पत्रकार सम्मेलन गरी पाँच दिन मुख्यमन्त्री निवासमा आफूलाई बन्धक बनाएर राखिएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । उनले आफू माओवादी केन्द्रमै रहेकोसमेत प्रस्ट्याएकी छन् । लगत्तै विपक्षी दलका प्रमुख सचेतक नेपाली काँग्रेसका फकरुउद्दिन खाँन, माओवादी केन्द्रका तुलराम घर्तीमगर, जसपा उपनेता सुमन शर्मा रायमाझी र राष्ट्रिय जनमोर्चाकी तारा जिसीले विज्ञप्ती निकाली मुख्यमन्त्रीको नेतृत्वमा वलीलाई बन्धक बनाइएको भन्दै भत्र्सना गरेका हुन् ।

सांसद वली भन्छिन्- ‘मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, मौका छोपेर ट्वाइलेट चप्पल लगाएर निस्किएँ’

सांसद वली आज सार्वजनिक होलिन् ?