October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

शिक्षक–कर्मचारीलाई खोप व्यवस्था गर्न माग

भैरहवा– यहाँका शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन माग गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति, सिद्धार्थनगरले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका हुन् ।

संगठनले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई खोप लगाउने व्यवस्था तत्काल गर्न भनेको छ । संगठनले विद्यार्थीहरुको भविष्य निर्माणमा साक्षात्कार भइ अहोरात्र खटिरहनुपर्ने तथा अभिभावकसँग निरन्तर सम्पर्कमा रहनुपर्ने शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको पनि खोप नलगाइएकाले उक्त व्यवस्था गर्न प्रजिअ र नगर प्रमुखसँग माग गरेको हो ।

संगठनले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘संघीय सरकारले नयाँ शैक्षिक सत्रका लागि असार १ गतेदेखि भर्ना कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ, यो अवधिमा शिक्षण क्रियाकलापमा सहभागीहरु कोभिडबाट संक्रमित हुने अवस्था नआओस् भनी उक्त कार्यलाई मध्यनजर गर्दै खोपको व्यवस्था गर्नुपर्छ ।’

संगठन अध्यक्ष पवित्रा कोइरालाले सरकार तथा सम्बन्धित सरोकारवालाले खोप उपलब्ध गराइ सुरक्षित तवरमा शैक्षिक गतिविधि सञ्चालन गर्न वातावरण निर्माणका लागि आश्यक पहल गरिदिन ज्ञापनपत्र मार्फत आग्रह गरेको बताइन् । कतिपय क्षेत्रका व्यक्तिले कोभिडविरुद्धको दोस्रो खोप लगाइसक्दा पनि शिक्षक तथा कर्मचारीलाई पहिलो चरणको खोप पनि उपलब्ध नगराइएकोमा संगठनले आपत्तिसमेत जनाएको छ ।