May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

चीनले नेपाललाई १० लाख डोज खोप दिने

काठमाडौं- नेपाललाई चीनले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।

Advertisement

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

बुधबार टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

दुई राष्ट्रपतिबीच करिब ४० मिनेट भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले नेपालले मागेको सहयोगबारे आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’, कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए ।