दसैंको मुखमा गैडहवाका १६ भूमिहीन परिवारलाई लालपुर्जा उपहार



भैरहवा– रुपन्देहीका अधिकांश बासिन्दा शुक्रबार दसैंको किनमेलमा व्यस्त थिए । तर, गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई भने जग्गाधनी प्रमाणपत्र बुझ्न भ्याइ–नभ्याई थियो । वर्षौ लामो प्रतीक्षापछि स्थानीय १६ परिवारले दसैंको उपहार स्वरुप शुक्रबार लालपुर्जा प्राप्त गरेका थिए ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले जग्गाधनी पुर्जा पाएका थिए । पालैपालो जग्गाधनी प्रमाणपत्र प्राप्त गरेपछि उनीहरुले पनि खुसी व्यक्त गरे । जिल्ला भूमि समस्या समाधान समितिले कार्यक्रम आयोजना गरेर उनीहरुलाई लालपुर्जा वितरण गरेको थियो ।
कार्यक्रममा भूमि समस्या समाधान समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल, प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मी लगायतले स्थानीयलाई लालपुर्जा वितरण गरेका थिए । लालपुर्जा वितरण गर्नेक्रममा पालिका अध्यक्ष पौड्यालले मुसहर परिवारलाई ‘आजबाट जग्गा धनी भइयो’ भनेर हौंस्याएका थिए ।
विपन्न परिवारलाई लालपुर्जा वितरणका लागि २०७७ सालबाट प्रक्रिया सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष पौड्यालले मुसहर परिवारलाई लालपुर्जा वितरणका लागि ४ वर्ष भन्दा धेरै समय लागेको बताए ।
गाउँपालिकाले भूमिहीन अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणका लागि प्रत्येक वर्ष एक करोडका दरले बजेट विनियोजन गर्दै आएको उनले जनाए । गाउँपालिकामा अहिले ४ हजार ५ सय भूमिहीन र अव्यवस्थित बसोबासी सूचिकृत भएका छन् । उनीहरुलाई पुर्जा वितरणको प्रक्रिया अगाडि बढिसकेको उनले जनाए ।
लालपूर्जा प्राप्त गरेपछि स्थानीय सोनमती मुसहरले पालिका र सरकारलाई धन्यवाद दिइन् । जग्गाधनी हुने लामो समयको प्रतिक्षा सकिएको भन्दै खुशी व्यक्त गरिन् ।
गैडहवा–८ का वडाध्यक्ष भुवनबहादुर रानाले आगामी दिनमा बाँकी भूमिहीन र सुुकुम्बासीलाई पनि लालपुर्जा वितरण कार्य अगाडि बढाउनु पर्ने बताए ।
प्रमुख नापी अधिकृत रेग्मीले सम्पूर्ण प्रक्रिया पूरा गरेपछि शुक्रबारबाट दुई वडाका भूमिहीन दलित परिवार जग्गाधनी बनेको बताए । लालपूर्जा प्राप्त गर्ने सबैको अभिलेख भूमि प्रशासन कार्यालयमा राखिने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले समितिले काम थालेयता जिल्लामा पहिलोपटक भूमिहीन दलिल परिवारले लालपुर्जा प्राप्त गरेको बताए । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार रुपन्देहीमा १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासी सुचिकृत रहेको छन् ।








प्रतिकृया दिनुहोस्