बाँके प्रहरी प्रमुख जिसीलाई पूर्णशान्ति पुरस्कार



भैरहवा– जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले पूर्णशान्ति पुरस्कार प्राप्त गरेका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
बाँकेको प्रहरी प्रमुखको रुपमा कार्यरत जिसीले उत्कृष्ट अनुसन्धान र प्रविधिमा आधारित प्रहरी सेवा बिस्तारमा उत्कृष्टता प्रदर्शन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेपछि जिसीले इन्तजार मोहम्मद अरबी खाँको हत्या, सिर्जना बुढामगरलाई जलाएर मारिएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्यामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्दै सफल अनुसन्धानको नेतृत्व गरेका थिए ।
आर्थिक वर्ष २०८२–०८३ मा बाँके प्रहरीले ३८२ जना विरुद्ध लागुऔषध मुद्दाको अनुसन्धान गरेको थियो । गएको आर्थिक वर्षमा उनको नेतृत्वमा रहेको बाँके प्रहरीले ३ करोड ४७ लाख बराबरको भन्सार छलीको सामान, ४७ वटा गाडी र तस्करीमा संलग्न ६२ जनालाई नियन्त्रणमा लिएको थियो । गत आर्थिक वर्षमा ५७७ जना फरार प्रतिवादीलाई जिसी नेतृत्वको टिमले पक्राउ गरेको थियो ।








प्रतिकृया दिनुहोस्