दशैं नजिकिएसँगै बढ्न थाल्यो बजारमा चहलपहल



भैरहवा– चाडपर्व नजिकएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । खासगरी बडादशैंका लागि आवश्यक सामग्री खरिद गर्ने उपभोक्ता बजारमा बढी मात्रामा देखिन थालेका छन् ।
लत्ताकपडा, खाद्यान्न, फलफूल तथा अन्य उपभोग्य सामग्री किनमेलका लागि सर्वसाधारण बजारमा व्यस्त देखिने गरेका हुन् । दशैंलाई लक्षित गर्दै बजारका पसलहरुमा ग्राहकको भीड दैनिक रुपमा बढ्न थालेको छ । नयाँ कपडा किन्ने, घरायसी सामग्री जुटाउने तथा चाडपर्वका लागि आवश्यक सरसामानको जोहो गर्नेहरुको चहलपहलले बजारमा रौनक थप्दै लगेको छ ।
विशेषगरी कपडा पसल, खाद्यान्न पसल तथा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरुमा ग्राहकको आवागमन बढेको हो । वर्षभरिको दुःख र व्यस्ततालाई बिर्सेर परिवार तथा आफन्तसँग खुसी साटासाट गर्ने पर्वका रुपमा लिइने दशैंका लागि सर्वसाधारणले आफ्नो आर्थिक अवस्था अनुसार किनमेल गरिरहेका छन् ।
चाडपर्व नजिकिएसँगै बजारमा बढेको चहलपहलले व्यापारीहरुमा समेत थोरै भए पनि उत्साह थपिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बजारमा खरिदारीका लागि आउने ग्राहकको संख्या बढेको जनाए । ‘विगतको जस्तो उत्साह अझै देखिएको छैन’, उनले भने, ‘यद्यपि ग्राहकको भीड बढ्न थालेको छ । यसले थोरै भए पनि बजारलाई चलायमान बनाएको छ ।’
यस्तै दशैं नजिकिएसँगै घर फर्किने यात्रुहरुको चाप पनि बढ्न थालेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा घरबाहिर रहेका सर्वसाधारण दशैं मनाउन आफ्नो गाउँघर फर्किन थालेपछि रुपन्देहीको बेलहिया नाका, भैरहवा र बुटवलको बसपार्कमा चहलपहल बढेको हो ।
परिवार तथा आफन्तसँग बसेर चाडपर्व मनाउने चाहनासहित यात्रुहरु आआफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । बसपार्कमा टिकट काट्ने, सामान मिलाउने, बसको प्रतीक्षा गर्ने र गन्तव्यतर्फ जाने सवारी साधन चढ्ने यात्रुहरु भरिभराउ हुने गरेका छन् । दशैंको समयमा विशेषगरी लामो दूरीका सवारी साधनमा यात्रुको चाप बढ्ने गर्छ । यात्रुहरुको चाप बढ्ने समयमा सहज र सुरक्षित यात्राको व्यवस्थापन गर्न ट्राफिक प्रहरी र यातायात व्यवसायीहरु खटिने गरेका छन् । यात्राको क्रममा कुनै पनि समस्या आइलागे तत्काल समाधान गर्न भैरहवा, बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।








प्रतिकृया दिनुहोस्