‘मेला–महोत्सव आयोजनामा समीक्षा जरुरी’



भैरहवा – एक समय मेला–महोत्सवको आयोजनामा उद्योगी–व्यवसायीको चाडपर्व जस्तै बनेका थिए । सर्वसाधरण पनि यस्ता महोत्सव आयोजनाको मिति पर्खिएर बस्थे । जाडो याममा चौरमा बदाम खाँदै महोत्सवमा रमाउने बानी परेको थियो ।
व्यवसायीको उत्सव बनेका यिनै मेला महोत्सवको आयोजनामा मनपरि र विकृति देखिएको भन्दै व्यवसायीले आलोचना गरेका छन् । पालिकाका वडामा पनि स्थानीय क्लबले विभिन्न अवसरमा रंग न ढंगका मेला–महोत्सव आयोजना गरेर व्यवसायिक माहोल खलबल्याएको उद्योगी–व्यवसायीको भनाई छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले वडा स्तरमा क्लबले पनि मेला–महोत्सवका नाउमा सरकारी बजेट सक्ने परम्परा सुरु भएको बताए । विभिन्न संघसंस्था र क्लबले आयोजना गर्ने त्यस्ता महोत्सवले व्यवसाय प्रवर्द्धनमा कुनै योगदान नपुर्याएको उनले बताए । ‘यस्ता फुटकर आयोजनाले साँच्चिकै मेला–महोत्सवको बद्नाम गर्ने काम भएको छ,’ उनले भने ।
संघका अनुसार यसरी आयोजना गरिएका मेलामा व्यवसाय प्रवर्द्धनका कार्यक्रम नै हुँदैनन् । स्थानीय उत्पादन र तिनका स्टल बिनै ठेक्कामा सञ्चालन गरिने मेला–महोत्सवका कारण सर्वसाधरणमा व्यवसाय प्रवर्द्धनप्रति नकारात्मक धारणा उत्पन्न गराइरहेको संघले जनाएको छ ।
अध्यक्ष आचार्यले व्यवसायिक मूल्य मान्यतामा रहेर आयोजना गरिने महोत्सवको पक्षमा संघ रहेको जनाए । ‘तर, महोत्सवका नाउमा भइरहेको मनपरिको बिरोध गरेका हौं,’ उनले भने । जिल्लाभर विभिन्न संघसंस्थाले बाह्रैमास महोत्सवका नाउमा सांस्कृतिक कार्यक्रम गरिरहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी–व्यवासायीका संघसंस्थाले स्थानीय उत्पादन प्रवर्द्धनका लागि आयोजना गर्दै आएका मेला–महोत्सवको आफ्नै इतिहास रहेको बताए । संघले २०६१ सालदेखि भैरहवामा महोत्सव आयोजना गर्दै आएको छ । ‘हामीले व्यवसाय प्रवर्द्धनसँगै स्थानीय उत्पादन, पर्यटन र संस्कृति प्रवर्द्धनमा जोड दिने गरेका छौं,’ उनले भने ।
उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद शर्माले जाडो याम सुरु भएसँगै मुलुकभर मेला–महोत्सव आयोजना हुन थालेको बताए । ‘हामीले आयोजकले पनि मेला–महोत्सवलाई कसरी पृथक बनाउने भन्नेबारे सोच्न जरुरी छ,’ उनले भने, ‘रुपन्देहीका आर्थिक एजेण्डालाई कसरी स्थापित गर्न सकिन्छ भन्नेबारे बहस चलाउन आवश्यक छ । अरु संस्थाले जस्तो रमाइलो मेला लगाएर मात्र अब हुँदैन ।’








प्रतिकृया दिनुहोस्