October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

सिद्धार्थ क्रिकेट मैदानः डेढ दशकदेखि अधुरो सपना, अब आधुनिक क्रिकेट केन्द्र बन्ने अपेक्षा

Advertisement

भैरहवा– रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशाला अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने लक्ष्यसहित अघि बढाइएको डेढ दशक पुग्न लाग्दा पनि अझै पूर्ण रुपमा निर्माण हुन सकेको छैन । पर्याप्त बजेटको अभाव, प्राथमिकतामा निरन्तरता नहुनु र निर्माणको गति सुस्त हुँदा रंगशालाको काम लामो समयदेखि अधुरो अवस्थामा छ । तर पछिल्लो समय संघीय सरकारको प्राथमिकता, स्थानीय सरोकारवालाको निरन्तर पैरवी र रुपन्देही क्रिकेट संघको पहलका कारण रंगशाला निर्माणले पुनः गति लिने अपेक्षा गरिएको छ ।

Advertisement

सिद्धार्थनगर–३ मा रहेको यो मैदानमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका क्रिकेट खेल भने लामो समयदेखि हुँदै आएका छन् । यहाँ २०४३ सालदेखि स्थानीयले क्रिकेट खेल्दै आएका थिए । राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायले भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान विकास गर्ने योजना अघि सारेपछि यसको स्तरोन्नतिको औपचारिक प्रक्रिया अगाडि बढेको हो ।

वि.सं. २०६८ मा भैरहवा र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट मैदान निर्माण अघि बढाउने योजना बनेको थियो । त्यसपछि सिद्धार्थ रंगशालालाई सात हजार दर्शक अट्ने प्यारापिटसहितको अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य राखियो । पछि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर निर्माण अघि बढाइएको थियो ।

सुरुमा रंगशाला निर्माणका लागि करिब ३८ करोड लागत अनुमान गरिएको थियो । तर, लामो समयसम्म काम पूरा हुन नसक्दा निर्माण सामग्री, श्रम तथा अन्य लागत बढेसँगै आयोजनाको अनुमानित लागत पनि बढेको छ । पछिल्ला सार्वजनिक विवरणमा यसको लागत ७० करोडभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

१२ करोडभन्दा बढी खर्च, के–के बने ?
रंगशाला निर्माणमा हालसम्म करिब १२ करोड खर्च भइसकेको छ । निर्माण भएको संरचनामा क्रिकेट मैदान, पिच, पेभेलियन, भीआईपी प्यारापिट, तारजाली, नाली, गार्ड रुम, स्टोर रुमलगायत संरचना छन् ।

यहाँ १ करोड १९ लाख खर्च गरेर क्रिकेट संघको कार्यालयसहित एकतले पेभेलियन भवन निर्माण गरिएको थियो । त्यसपछि करिब ३ करोड लागतमा खेलाडी बस्ने स्थान, शौचालय र हलसहितको तीनतले भीआईपी प्यारापिट निर्माण गरिएको छ ।

त्यस्तै मैदान सम्याउने काममा करिब ८९ लाख, तारजालीमा ४० लाख, ढल व्यवस्थापनमा ९० लाख र पिच निर्माणमा करिब १ करोड खर्च भएको छ । पेभेलियन अगाडि टायल बिछ्याउने, गार्ड रुम तथा स्टोर रुम निर्माणलगायतका कामसमेत भएका छन् ।

रंगशालामा अहिले विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । प्रधानमन्त्री कपलगायत राष्ट्रियस्तरका प्रतियोगिताका खेलसमेत यहाँ सञ्चालन भइसकेका छन् । यसले मैदानमा क्रिकेट खेलाउन सकिने आधार तयार भइसकेको देखाए पनि अन्तर्राष्ट्रियस्तरको पूर्ण रंगशालाका लागि दर्शक प्यारापिट, फ्लडलाइट, खेलाडी तथा अफिसियलका थप सुविधा, मिडिया तथा प्रसारण पूर्वाधारलगायत धेरै काम बाँकी छन् ।

बजेट अभावले रोकिएको गति
सिद्धार्थ रंगशालाको निर्माणमा विगतदेखि नै बजेटको निरन्तरता मुख्य समस्या रहँदै आएको छ । विभिन्न आर्थिक वर्षमा संघीय सरकारबाट बजेट विनियोजन भए पनि आयोजनाको आवश्यकता र लागतको तुलनामा रकम न्यून हुँदा निर्माणले अपेक्षित गति लिन सकेन ।

पछिलला केही वर्षमा वार्षिक बजेट विनियोजन भए पनि पर्याप्त भएन । गत वर्ष ३ करोड रुपैयाँ विनियाजन भए पनि पछि अर्थमन्त्रालय रोक्यो र काम भएन । डीपीआर अनुसार लागत बढीरहेको रंगशालामा सरकारले यसअघि बजेट विनियोजनमा पूर्ण बेवास्ता गर्दा निर्माण गति रोकिएको थियो ।

बजेटमा समेटियो


आर्थिक वर्ष २०८३–८४ को बजेटमा सरकारले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने नीति अघि सारेको छ । तर बजेट वक्तव्यमा सिद्धार्थ क्रिकेट रंगशालाको नाम लिएर छुट्टै रकम उल्लेख गरिएको छैन । नेपाल क्रिकेट संघका पूर्व सचिव प्रशान्त विक्रम मल्लका अनुसार दुई हप्ता अघि सरकारले गरेको निर्णय अनुसार सिद्धार्थ रंगशालालाई २० करोड रुपैयाँ भन्दा बढी बजेट छुट्टिएको छ । आगामी तीन वर्षमा अन्तर्राष्ट्रियस्तरको बनाउने गरी बजेट छुट्याइएको हो । यसमा रुपन्देही–१ का प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र सांसद पुनमकुमारी अग्रवालले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

संघीय सरकारले सुरुमा आर्थिक वर्ष २०८२–८३ को बजेटमा काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि कुल ४२ करोड विनियोजन गरेको थियो । बजेट वक्तव्यमा यी चार आयोजनाका लागि संयुक्त रूपमा रकम राखिएको थियो, सिद्धार्थ रंगशालाका लागि छुट्टै कति रकम भन्ने कुरा बजेट वक्तव्यमा उल्लेख गरिएको थिएन । यसलाई संशोधन गरी बजेट बढाइएको संघले जनाएको छ ।

सांसद अग्रवालको निरन्तर पहल
रंगशालालाई पूर्णता दिन पछिल्लो समय प्रतिनिधिसभा सदस्य पुनमकुमारी अग्रवालले निरन्तर पहल गर्दै आएकी छन् । रंगशालाको निरीक्षणका क्रममा उनले सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको मैदानका रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

उनले रंगशालालाई क्रिकेट खेलका लागि मात्र नभई रुपन्देहीको पर्यटन र आर्थिक गतिविधिसँग जोड्न सकिने बताउँदै आएकी छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिए विदेशी दर्शक तथा खेलाडीको आगमन बढ्ने र त्यसबाट लुम्बिनी तथा रुपन्देहीको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

रंगशालाको काम सम्पन्न गर्न पर्याप्त बजेट आवश्यक रहेको भन्दै अग्रवालले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग समेत बजेट तथा निर्माण अघि बढाउने विषयमा पहल गरेको बताएकी छन् । उनले रंगशालालाई बहुवर्षीय योजनामा राखेर पर्याप्त बजेटसहित अघि बढाउन सरकारसँग निरन्तर पहल गरेकी थिइन् ।

फ्लडलाइटसहित आधुनिक क्रिकेट पूर्वाधारको आशा
यसैबीच नेपाल सरकारले देशका प्रमुख शहरमा आधुनिक क्रिकेट पूर्वाधार विकास गर्ने योजना अघि सारेपछि सिद्धार्थ क्रिकेट रंगशालाको भविष्यप्रति स्थानीय क्रिकेट समुदायमा नयाँ आशा देखिएको छ ।

सरकारले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने नीति घोषणा गरेको छ । यसले रुपन्देहीमा रहेको सिद्धार्थ रंगशालालाई पनि आधुनिक पूर्वाधारसहित विकास गर्ने सम्भावनालाई बलियो बनाएको छ । यद्यपि बजेट वक्तव्यमा सिद्धार्थ रंगशालाका लागि फ्लडलाइटसहितको छुट्टै रकम तोकिएको छैन ।

रुपन्देही क्रिकेट संघले भने सरकारले प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने योजनामा सिद्धार्थ क्रिकेट स्टेडियमलाई समावेश गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ । संघका अनुसार रंगशालाको स्तरोन्नतिसहित आधुनिक क्रिकेट पूर्वाधार निर्माणको निर्णय रुपन्देहीको क्रिकेट विकासका लागि महत्वपूर्ण उपलब्धि हो ।

संघले रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनेपछि रुपन्देहीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने सम्भावना अझ बलियो हुने, खेलाडी, प्रशिक्षक, अम्पायर तथा समग्र क्रिकेट समुदायले नयाँ अवसर पाउने विश्वास व्यक्त गरेको छ ।

संघले रंगशालाको विकासका लागि विगतदेखि गर्दै आएको पहल, पैरवी र समन्वयलाई पनि उपलब्धिको महत्वपूर्ण आधारका रूपमा स्मरण गरेको छ । संघले नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ (क्यान), स्थानीय जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।

संघको अबको सिद्धार्थ क्रिकेट स्टेडियमको विकासलाई समयमै गुणस्तरीय रुपमा सम्पन्न गराउँदै रुपन्देहीलाई नेपाली क्रिकेटको महत्वपूर्ण केन्द्रका रुपमा स्थापित गर्ने लक्ष् रहेको जनाएको छ । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा र सचिव उदयकुमार मल्लिकले सिद्धार्थ क्रिकेट रंगशालाको विकाससँगै रुपन्देहीको क्रिकेटले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।