October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

लघुकथाः ए लभ स्टोरी

Advertisement

“नेपाल।” उसलाई पहिलो पटक भेट्दा मेरो दोस्रो प्रश्नको जवाफ थियो— यो । त्यो नाम निदाइरहेको मान्छेको अनुहारमा पानीका थोपाहरू छम्किएझैँ मेरो जिज्ञासालाई एकाएक ब्युँझाउने खालको थियो ।

Advertisement

सानैदेखि सयौँ पटक हेरेको हिट फिल्मको ठाउँको नाम… त्यो फिल्मले मनमा भरिदिएको उत्साहको छालले उकास्दा परिवारसँग धेरै वर्षअघि हिमालतिर पुग्दा मुटुभरि गुञ्जिरहेको नाम… बचपनको कुनै, कुनामा लुकाइराखेको कौतूहलको चस्मा फेरि लगाउँदै मैले उसलाई एकटक हेरेँ । दुब्लो शरीर, सेतो रङ, भर्खरै पालेजस्तो देखिने जुँगा… अनुहारमा घबराहटको झल्को… अफिसमा पहिलो दिन थियो प्रदीपको ।मेरा प्रश्नका जवाफ दिँदा उसका आँखाहरू भने भुइँमै अडिएका जस्ता थिए ।

“यो त निकै जवान रहेछ !” उसलाई चिन्न खोज्दै गर्दा मैले मनमनै भनेँ । हाम्रो काममा सघाउन आएको प्रदीपलाई हाम्रो भाषा मलयालम आउँदैनथ्यो । त्यसैले मैले ऊसँग हिन्दीमा बोल्नुपर्थ्यो, अनि ऊ मसँग नेपाली मिसिएको हिन्दीमा ।

कुराकानी गर्दागर्दै बेलाबेलामा म उसलाई सोध्थेँ— “…को आपकी नेपाली में क्या कहते हैं ?” कामको एकरसताबाट केहीबेर बाहिर निस्कने बहानामा सुरु भएको यो खेल बिस्तारै–बिस्तारै साँझको एउटा प्रिय शौकमा परिणत हुन थाल्यो । बेलुकीपख युट्युबमा ‘Learn Nepali’ का भिडियोहरू हेर्थें र नयाँ–नयाँ शब्द तथा प्रयोगहरू कापीमा टिप्थेँ ।

भोलिपल्ट प्रदीपमाथि आफूले सिकेका नयाँ शब्द र प्रयोगहरू आजमाउन पाइन्छ भन्ने सोचले मेरो भाषोन्मुखी मनको भोक झन् बढाइरह्यो । मैले बोलेका वाक्य सुन्दा उसका प्रतिक्रियाहरू नियाल्थेँ । उसले दिएको प्रतिक्रिया हेरेर मैले सही बोलेँ कि गलत, आफैँमा सोच्थेँ । भाषा र मेरो नाता नै अनौठो रहेछ । पत्याउन गाह्रो होला, तर भाषालाई मानिसलाई जस्तै माया गर्नु मेरा लागि एकदमै स्वाभाविक रहेछ । अरू मानिस आफ्ना मनका कुरा पोख्न शब्दहरूको सहारा लिन्छन्; मेरो मन भने थरीथरीका शब्दका सौन्दर्यमा डुब्दै–डुब्दै आफैँ पग्लिएर पोखिन्छ । मेरा प्रश्नका जवाफमा प्रदीपको मुखबाट निस्किएका प्रत्येक शब्द र प्रयोग कडा अनुशासनको कर्ममय दिनचर्याले उसर बनाएको मेरो मनमा अमृतका थोपाझैँ झर्थे । यसरी सिकेका एक मुट्ठी वाक्यहरू मेरो नेपाली सिक्ने रहरको चुलोमा दाउरा थपिरहे । एक दिन मैले भनेँ “तिमी मसँग नेपालीमा मात्रै कुरा गर्नु है ? मलाई हिन्दी आउँदैन ।” “अच्छा ?” छेपारोले किरालाई कुरिरहेझैँ शब्दहरूको प्रतीक्षामा आफूलाई नियाल्दै गर्दा म एक दिन मख्ख परेर मुस्काएँ “ला ! म नेपाली भाषाको पनि मायामा परेछु ! अब यहाँबाट कहाँ जाने…?”

नेपाली भाषाको मधुर मादक सौन्दर्यले मलाई मन्त्रमुग्ध बनाएको त थियो, तर त्यो पहिलो–पहिलो आकर्षणका फिलिङलाई सधैँ बलिरहने प्रेमको एउटा अखण्ड ज्योतिमा फेरिनका लागि कहिल्यै नसिद्धिने इन्धनको स्रोत अझै चाहिँदै थियो । यी दुई–तीन महिनाहरूमा म प्रदीपबाट अनि आफैँ नेपाली सिकिरहेँ । दिउँसोको खाना खाँदा कुराकानी गर्दागर्दै एक दिन मैले एउटा साथीलाई भनेँ “प्रदीपबाट भने धेरै सिक्न सक्दिनँ । कहिलेसम्म युट्युबमा भेटिने भिडियोहरू र गीतहरूको सहारा लिने ? अब म केही नेपाली शिक्षकबाट निकै व्यवस्थित रूपमा भाषा सिक्न चाहन्छु ।” “कस्तो राम्रो कुरा ! मेरो परिचयमा एउटा प्रोफेसर हुनुहुन्छ, काठमाडौँमा । उहाँलाई पक्कै थाहा होला । म आजै मेसेज गर्छु है ?” खुसी भएर उनले भनिन् । साँझ घरको काम सकिएपछि सुत्नुअघि मोबाइल हेर्दै गर्दा साथीको मेसेज आएछ भन्ने थाहा पाएँ दीप्ती कार्की । “कस्तो उचित नाम ! स्वयं शिक्षणको धमिलो उकाली–ओरालीमा भौतारिरहेकी मेरो हात समात्ने, मलाई बाटो देखाउने सहचारी यही होलिन् !” फुर्सद पाउनेबित्तिकै मैले दीप्तिलाई ह्वाट्सएपमा कल गर्ने निर्णय गरेँ । फोन गर्दाखेरि मनभरि एउटै प्रार्थना थियो “मलाई त नेपाली सिक्नै छ ! त्यही भएर भगवान् ! राम्ररी सिकाउने मान्छे होस् ! अनि कोर्स धेरै महँगो नहोस् !” म भारतबाट हुँ भन्ने थाहा पाउँदै उनले हिन्दी बोल्न थालिन् “क्योंकि आप इंडिया से हैं, मैं आपसे ज़्यादा फीस नहीं लूँगी ।”

उनको आवाजले अपनत्वको पछ्यौरी मतर्फ बढाई मेरो मनमा पसेका शङ्काका प्रत्येक कणलाई स्वाट्ट टाढै पारिदियो । मेरो अनलाइन क्लासेसको सिलसिला यसरी सुरु भयो… मेरो दिमागको प्रयोगशालामा तितरबितर परेका व्याकरणका कङ्कालहरूमा प्राण फुक्ने काम दीप्तीले पूरै जोसले गरिन् । कस्तो अनौठो आदान–प्रदानका दिनहरू थिए ती ! हाम्रा कुराकानी शिक्षणका नियमित समयमा मात्र सीमित नभई पूरै दिनमा फैलिइरह्यो । नेपाली भाषा र संस्कृतिका बारेमा उनले पठाइदिएका भिडियोहरू म फुर्सतमा हेर्थें अनि थुप्रै प्रश्नहरू गर्थें । कहिल्यै शान्त नहुने मेरो जिज्ञासाका गुहारहरूले निकै व्यस्त उनका दिनहरूलाई कति हल्लाएका होलान्…? तर उनले एक पटक पनि “नाइँ” भनिनन्। कहिलेकाहीँ म अफिसमा प्रदीपलाई

सोध्थेँ— “मेरो सबैभन्दा पहिलो नेपाली मास्टर, मेरो नेपाली अहिले कस्तो छ ?” “प्रगति धेरै छ । प्रगति धेरै छ !” प्रदीपले फिडब्याक दिन्थ्यो । केही महिनापछि अफिसमा सफा गर्नका लागि आएको कुनै पुरुष कर्मचारीतिर मैले त्यसै प्रश्न फ्याँकेँ “आप कहाँ से हैं ?” “सिलिगुडी, वेस्ट बङ्गाल ।” उसले जवाफ दियो। “नेपाली आउँछ तपाईंलाई ?” झट्टै मैले भाषा बदलेँ । “आउँछ । तपाईं नेपाली हुनुहुन्छ ?”आश्चर्य उसको अनुहारमा प्रस्टै देखियो । “म त मलयाली हुँ, तर सिकेको ।” मुस्कुराएर मैले पनि भनेँ। त्यति बेला त्यहाँ पुगेकी एउटी महिला कर्मचारीले उससँग मलयालममा कुरा गर्न थालिन् । “ओहो ! मलयालम सिक्नुभयो ?” यसपालि चकित हुने पालो मेरो थियो । “हो नि ! तपाईंले नेपाली सिक्नुभयो, अनि म मलयालम । बाह्र वर्षअघि यहाँ आएँ, तर पहिलोपल्ट नेपाली बोल्ने मलयालीलाई भेटेको । भाषा सिक्न पनि कस्तो राम्रो कुरा हो नि ? जुनसुकै ठाउँमा पनि काम पाउन सकिन्छ ।” सहमतिको झरीमा हामी सँगसँगै भिज्दा मैले सबै सीमालाई एकाएक मेटिँदै गएको देखेँ । –sahityapost