२२औं अध्यक्षसम्मले हाँकेको सिद्धार्थ उद्योग बाणिज्य संघ, कसले के काम गरे ?



भैरहवा– सानो आकारमा भैरहवा व्यापार मण्डलका नामबाट स्थापना भएको रुपन्देहीको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ हाल आएर राष्ट्रिय रुपमा ख्याती प्राप्त छ । संघले गर्ने निर्णय र लिने नीति समग्र निजी क्षेत्रको नीति मात्रै बनेका छैनन्, सरकारलाई नीति निर्माण र कानून बनाउन समेत सहयोगी भएका छन् । सात दशकभन्दा लामो यात्रामा उद्योगी–व्यवसायीका समस्या समाधानसँगै यस क्षेत्रको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको यो संस्था हालसम्म २२ जना अध्यक्ष भएर हाँकीसकेका छन् ।
हालका अध्यक्ष नेत्रप्रसाद आचार्य संघको २२ औं अध्यक्ष छन् । यसअघिका २१ जना अध्यक्ष निजी क्षेत्रमै संघलाई दरिलो रुपमा उपस्थिति गराउन सफल मात्रै भएनन् धेरैको मन जित्ने काम समेत गरेका छन् । बदलिँदो समय, अर्थतन्त्रका चुनौती र निजी क्षेत्रका आवश्यकताअनुसार संघको नेतृत्वमा आएका अध्यक्षहरुले फरक–फरक प्राथमिकताका साथ संस्थाको संस्थागत विकास र निजी क्षेत्रको हितमा काम गर्दै आएका छन् ।
पूर्वअध्यक्षहरूको कस्तो छ योगदान ?
संघको संस्थापक अध्यक्ष स्वर्गीय मंगलसेन शर्मा हुन् । उनी वि.सं. २०११ देखि २०१५ सम्म संघको अध्यक्ष बनेका थिए । उनले भैरहवाका व्यापारीलाई एकठाउँमा ल्याई भैरहवा व्यापार मण्डलका नामबाट संघ खोलेका थिए । उनकै पहलमा आजको सिद्धार्थ उद्योग बाणिज्य संघ बनेको हो । संघको इतिहास हेर्दा सुरुआती नेतृत्वले भैरहवाको व्यापारिक गतिविधिलाई संगठित गर्ने र व्यवसायीलाई एउटै संस्थागत छातामुनि ल्याउने आधार तयार गरेको देखिन्छ ।
संघका पूर्व अध्यक्ष स्वर्गीय केशरदेव बेरिवाल (२०१५–२०१९) ले व्यवसायीको हितमा नेतृत्व प्रदान गर्दै संस्थापक उपाध्यक्षका रूपमा समेत काम गरेका थिए भने पहाड र तराई मधेसबीच व्यापार विस्तारमा योगदान पुर्याएका थिए ।
स्वर्गीय नथमल अग्रवाल (२०१९–२०२४) को कार्यकालमा सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संस्थाको भूमिका विस्तार भयो । ‘भीम अस्पतालको विकासमा सहयोग, आँखा अस्पताल स्थापनाका लागि पहल तथा भैरहवाको शैक्षिक स्तर उन्नतिका लागि सहयोगलगायतका काम यस अवधिका प्रमुख उपलब्धिका रुपमा छन्’, संघका वर्तमान अध्यक्ष आचार्य भन्छन्, ‘उहांले धेरै कुराहरुमा संस्थागत जग बसाल्नु भएको छ ।’
पूर्वजहरुले यसरी हाँक्दै आएको संस्था विस्तारै दरिलो हुँदै गयो । त्यसपछि स्वर्गीय गिरधारीलाल मित्तल (२०२४–२०२८) को नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघको स्थापना प्रक्रियामा सहयोग पुर्याउनेदेखि तत्कालीन भैरहवा व्यापार मण्डललाई उद्योग वाणिज्य संघका रूपमा विकास गर्ने काम भयो । संघको संस्थागत हैसियत विस्तार हुँदै नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यका रूपमा स्थापित हुने आधार पनि यही चरणमा बनेको देखिन्छ ।
स्वर्गीय कृष्णमान शेरचन (२०२८–२०३३) को कार्यकाल औद्योगिकरण र बजार विस्तारसँग जोडिन्छ । औद्योगिकरणलाई अघि बढाउँदै राइस मिलको स्थापना, तराईको बजारलाई पहाडसँग जोड्ने व्यापार विस्तार, संघका लागि जग्गा खरिद तथा त्यसका लागि आर्थिक सहयोग संकलनजस्ता काम भएका थिए । ‘त्यसपछि स्वर्गीय रुद्रविलास तुलाचन (२०३२–२०३८ तथा २०४२–२०४७) को नेतृत्वमा सचिवालय कर्मचारीको दरबन्दी व्यवस्थापन, भन्सार तथा राजस्वसम्बन्धी समन्वय, पश्चिमाञ्चल क्षेत्रको विकासका विषयमा उद्योगी–व्यवसायीलाई गोलबद्ध गर्ने र संघको सभाहल निर्माणलगायतका काम अघि बढे ।
स्वर्गीय मधुराप्रसाद बजिमय (२०३८–२०४२) को कार्यकालमा संघको सचिवालयलाई व्यवस्थित बनाउन कम्प्युटर व्यवस्थापन, उद्योगी–व्यवसायीलाई बजार व्यवस्थापन तथा बिक्रीकलासम्बन्धी तालिम, औद्योगिक सम्बन्ध विस्तार र अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल, भवन निर्माण जस्ता काम भए । त्यसपछि स्वर्गीय शुधनारायण मानन्धर (२०४७–२०५१) ले चुंगीकर हटाउन पहल, भारतीय विद्युत् आपूर्तिमा देखिएको भोल्टेज समस्या समाधानका लागि नेपालमा विद्युत् माग, लुम्बिनी गुरुयोजना पूरा गर्न तथा अन्तर्राष्ट्रिय विमानस्थलका लागि काठमाडौंमा डेलिगेसन लैजाने काम गरे ।
स्वर्गीय मोहनसिंह बिजुक्छे (२०५१–२०५२) ले कठिन परिस्थितिमा संघको नेतृत्व गर्दै भन्सार, कर तथा राजस्वका विषयमा पहल गरे । साना व्यवसायीलाई संघमा आबद्ध गराउने तथा चुंगीकरको विरोधमा आवाज उठाउने क्रममा संघले प्रशासनिक दबाबसमेत सामना गरेको विवरणमा उल्लेख छ । माधवलाल श्रेष्ठ (२०५२–२०५४) को कार्यकालमा सचिवालय सुदृढीकरण, महासंघको केन्द्रीय सदस्यका रुपमा भूमिका, व्यवसायीका लागि बजार व्यवस्थापन, बिक्रीकला तथा कर परामर्श तालिम र अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल अघि बढेको थियो ।
स्वर्गीय निधानचन्द्र श्रेष्ठ (२०५४–२०५६) को कार्यकाल बजार बन्द गरी मूल्यवृद्धि कर आन्दोलनको नेतृत्व, यातायात व्यवसायीसँग समन्वय, ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माणमा संघको लगानी र संस्थालाई जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गराउने कामसँग जोडिन्छ । ध्रुवकुमार श्रेष्ठ (२०५६–२०५८) को नेतृत्वमा नेपाल सरकारसँग सम्झौता गरी संघको हातामा गुणस्तर प्रयोगशाला स्थापना, व्यवसायी धरपकड न्यूनीकरणमा पहल, महासंघको केन्द्रीय सदस्यता र योजना तर्जुमा कार्यशाला गोष्ठीको सुरुआत भयो ।
स्वर्गीय ओमप्रसाद गौचन (२०५८–२०६०) को कार्यकालमा सामुदायिक सेवा केन्द्र स्थापना, पश्चिमाञ्चल अध्यक्षहरुको भेला, संघको सचिवालय परिसरको गेट तथा कम्पाउन्ड सौन्दर्यीकरण र सदस्य निर्देशिका प्रकाशनलगायतका काम भए । रामशंकर कान्दु (२०६०–२०६२) को नेतृत्वमा लुम्बिनी राष्ट्रिय महोत्सवको शुभारम्भ, संघको स्वर्णजयन्ती कार्यक्रम र अमेरिकी कर्णेल तथा अमेरिकी राजदूतबाट संघको कार्यक्रम उद्घाटनजस्ता महत्वपूर्ण संस्थागत गतिविधि भएका थिए ।
कृष्णप्रसाद शर्मा (२०६२–२०६५) को कार्यकालमा खानीजन्य रोडाढुंगा उद्योगलाई संघमा आबद्ध गराउने, प्रदेशस्तरीय समन्वय विस्तार, लुम्बिनी राष्ट्रिय महोत्सवको आयोजना र होटल निर्माणमा आर्थिक तथा सामाजिक विकासका लागि राजनीतिक दल, निजी क्षेत्र तथा प्रशासनिक निकायबीच सहकार्यको विषय अघि बढ्यो । महेन्द्रकुमार श्रेष्ठ (२०६५–२०६८) को कार्यकालमा उद्योगी–व्यवसायीको सुरक्षाका लागि भूमिगत संगठनसँग समन्वय, संघको बहुउद्देश्यीय भवनको शिलान्यास, लुम्बिनी पर्यटन महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेला, ट्रक सिण्डिकेट हटाउन पहल, आईएसओ सेवा तथा लुम्बिनी विकास फोरम स्थापना, फुड फेस्टिबल लगायतका काम भए ।
विष्णुप्रसाद शर्मा (२०६८–२०७१) को नेतृत्वमा नगरमा सीसीटीभी जडानको सुरुआत, लुम्बिनी पर्यटन महोत्सव तथा कृषि मेलाको आयोजना, युवा स्वरोजगार कार्यक्रम सञ्चालन, यातायात कार्यालयको सेवा विस्तारका लागि पहल र नाकाको समस्या समाधानका लागि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटघाटलगायतका काम भए । यही अवधिमा संस्थाको नाम परिवर्तन गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही कायम गरिएको थियो ।
रामकुमार शर्माको (२०७१–२०७४) कार्यकालमा औद्योगिक सुरक्षाका लागि पहल, विद्युत् आपूर्तिका लागि फिडर लाइन व्यवस्थापन, संघको आधुनिक शौचालय व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि नेपाल–चीन सम्बन्धित कार्यक्रम सञ्चालन भए। मधेश आन्दोलनका क्रममा भैरहवा भन्सार नाका खुलाउन पहल गर्दै संघलाई कर छुट संस्थाका रुपमा दर्ता गराउनसमेत सफलता हासिल भएको थियो ।
कुलप्रसाद न्यौपाने (२०७४–२०७७) को नेतृत्वमा संघको बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्न पहल, सीसीटीभी जडानमा निरन्तरता, फोहोरमैला डम्पिङ साइटका लागि पहल, सातौँ लुम्बिनी पर्यटन महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना, आन्तरिक पर्यटन विकासका लागि रारा भ्रमण तथा फुड फेस्टिबल आयोजना र कोरोना महामारीका समयमा आइसोलेसन केन्द्र निर्माण तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भएका थिए ।
भीष्मप्रसाद न्यौपाने (२०७७–२०७९) को कार्यकालमा कोरोना महामारीकै बीच स्थानीय प्रशासनसँग समन्वय गरी आठौँ लुम्बिनी पर्यटन महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना, संघको बहुउद्देश्यीय भवनको अधुरो काम सम्पन्न गर्ने तथा हलको साउन्ड र कुर्सी व्यवस्थापन, दशैँ बजार सञ्चालन र स्पेनको चेम्बरसँग भगिनी सम्बन्ध स्थापना गर्ने काम भएको संघको अभिलेखमा उल्लेख छ ।
यसपछि ठाकुरकुमार श्रेष्ठ (२०७९–२०८१) को नेतृत्वमा संघले स्थापना दिवस मनाउने परम्पराको सुरुआत गर्दै सीमा नाकामा हुने अवैध आयात रोक्न भन्सार प्रज्ञापनपत्र अनिवार्य गराउने वातावरण निर्माण, नवौँ लुम्बिनी पर्यटन महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना र निजी क्षेत्रका राष्ट्रिय तथा क्षेत्रीय सरोकारलाई अघि बढाउने काम भयो । विमानस्थल संचालनमा दवाव, पर्यटकीय विकास र निजी क्षेत्रमैत्री कानून निर्माणका दवाव सिर्जना गरिएको थियो । श्रेष्ठ हाल नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षसमेत निर्वाचित भएका छन् ।
आचार्यको पहलकदमी
यी सबै चरण पार गर्दै संघ अहिले नेत्रप्रसाद आचार्यको नेतृत्वमा छ । आचार्य २०६१ सालमा संघमा प्रवेश गरेका थिए । २०६४ सालमा पहिलोपटक कार्यसमिति सदस्य निर्वाचित भएपछि तीन कार्यकाल निरन्तर कार्यसमिति सदस्य, एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै अध्यक्षको भूमिकामा पुगेका हुन् ।
अध्यक्षको जिम्मेवारी सम्हालेपछि आचार्य नेतृत्वको संघले परम्परागत रुपमा उद्योगी–व्यवसायीका समस्या उठाउने भूमिकालाई नीतिगत पैरवीसँग जोड्दै आएको छ । उनको नेतृत्वमा संघले उत्पादनमूलक व्यवसायलाई सहुलियतपूर्ण कर्जा, एकीकृत जाँच चौकीलाई रेलमार्गसँग जोड्ने, भारतीय तथा विदेशी पर्यटकका लागि सीमामै सहजीकरण, लुम्बिनीको दीर्घकालीन विकास, सीमा व्यापार व्यवस्थापन, निर्यात प्रवद्र्धन, विशेष आर्थिक क्षेत्रलाई उद्योगमैत्री बनाउने, भैरहवा भन्सारका ढुवानीसम्बन्धी समस्या समाधान तथा महोत्सवका लागि स्थायी स्थल व्यवस्थापन जस्ता विषयमा आवाज उठाइँदै आएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउने विषयमा पनि आचार्य नेतृत्वको संघ निजी क्षेत्रसँगको संयुक्त पहलमा जोडिएको छ । अघिल्लो वर्ष विमानस्थल सञ्चालनका समस्या समाधानका लागि गठन गरिएको संघर्ष समितिमा आचार्य सदस्यका रुपमा सहभागी भएका थिए । उक्त समितिले विमानस्थल नियमित सञ्चालनका लागि सरोकारवाला र राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउने तथा दबाबका कार्यक्रम अघि बढाउने योजना बनाएको थियो ।
आचार्य नेतृत्वको वर्तमान कार्यकालमा सदस्यको क्षमता अभिवृद्धि, अन्तरसंस्थागत सम्बन्ध विस्तार र व्यवसायिक सहकार्यलाई पनि प्राथमिकता दिइएको छ । संघले तालिम, अन्तरक्रिया र व्यवसायिक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न जिल्लाका उद्योग वाणिज्य संघसँग भेटघाट र अनुभव आदानप्रदानलाई निरन्तरता दिएको छ । विभिन्न समयमा अन्तरक्रिया गर्दै सीमावर्ती क्षेत्रका चुनौती र अवसरको अधिकतम उपयोग तथा अन्तरसंस्थागत सहकार्यलाई जोड दिइएको छ ।
आचार्य नेतृत्वको अर्को पक्ष सामाजिक उत्तरदायित्व पनि हो । संघले विपद्का बेला संस्थागत भूमिका निर्वाह गर्दै आएको छ । हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै संघले नेपाल सरकारको राहत कोषमा जम्मा हुने संघले ११ लाख ५१ हजार सहयोग गरेको छ । आचार्य अध्यक्ष भए पछि गौतमबुद्ध विमानस्थल संचालनमा पहल, सेजका उद्योगी–व्यवसायीका माग सम्बोधनका लागि पहल, लुम्बिनी भैरहवा लगायत रुपन्देहीका पर्यटकीय क्षेत्रको विकासमा जोड दिइएको छ । यस्तै, बेलहिया नाका व्यवस्थापन, भन्सार सेवा सरलीकृतका लागि पहल, उद्योगी व्यवसायीलाई कर प्रशासनका विषयमा प्रशिक्षण तथा समस्या समाधानमा पहल, आईसीपी समयमै सक्नका लागि सरकारसँग पहल, ट्राफिक तथा बजार व्यवस्थापनमा पहल भएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघको सात दशकभन्दा लामो यात्रालाई नियाल्दा नेतृत्व फेरिएसँगै कामको प्राथमिकता फेरिएको देखिन्छ । सुरुआतमा व्यापार मण्डल स्थापना र व्यवसायी संगठन निर्माणबाट सुरु भएको यात्रा सामाजिक सेवा, शिक्षा र स्वास्थ्य हुँदै औद्योगिक विस्तार, पूर्वाधार निर्माण, कर तथा भन्सारका मुद्दा, विद्युत्, पर्यटन, विमानस्थल, सीमा व्यापार, डिजिटल तथा संस्थागत सुदृढीकरणसम्म पुगेको छ ।
कुनै नेतृत्वले संघको भौतिक पूर्वाधार निर्माणमा जोड दिए, कसैले व्यवसायीका कर तथा भन्सारसम्बन्धी समस्या उठाए । कसैले लुम्बिनी पर्यटन र औद्योगिक व्यापार मेलालाई संस्थागत गरे भने कसैले युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिए । यही निरन्तरताको परिणामस्वरुप संघ आज भैरहवाको व्यापारिक सीमाभन्दा माथि उठेर रुपन्देहीको निजी क्षेत्रका साझा सरोकार र राष्ट्रिय आर्थिक मुद्दामा आवाज उठाउने संस्थाका रुपमा परिचित छ ।
संघको वर्तमान नेतृत्वले पनि विगतको अनुभवलाई आधार बनाएर निजी क्षेत्रको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । बिहीबार आयोजित स्थापना दिवसमा बोल्दै अध्यक्ष आचार्यले पूर्वअध्यक्षहरुको योगदानप्रति सम्मान व्यक्त गर्दै आजको संस्थागत आधार उनीहरुको त्याग र दूरदर्शिताको परिणाम भएको बताएका थिए ।
‘यो निजी क्षेत्रको इतिहास बोक्ने संस्था मात्रै होइन्, भैरहवाको व्यापारिक चेतनाबाट रुपन्देहीको औद्योगिक तथा व्यावसायिक पहिचान निर्माणसम्मको यात्रामा योगदान दिने मुख्य संस्था हो’, अध्यक्ष आचार्य भन्छन्, ‘हामीले गर्नुपर्ने धेरै छ । निजी क्षेत्र एकजुट भएर कामलाई थप प्रभावकारी बनाउँदै व्यवसायिक हीत र राष्ट्रको आर्थिक गतिविधि उकास्न लागि पर्छौं ।’ संघका हाल करिब साढे दुई हजार सदस्य छन् । कुनै समय ६–७ हजार सदस्य रहेको संस्थामा हाल आधा पनि सदस्य छैनन् । यो भने चिन्ताको विषय बनेको छ । संघजस्तै थुप्रै निजी क्षेत्रका संघसंस्था खुलेका कारण पनि व्यवसायी बाँडिएका छन् । तर, पूर्वज र वर्तमानहरुले संघलाई जुन उचाई दिएका छन्, त्यसलाई थप बलियो बनाउ सदस्य बृद्धिसँगै सबैलाई अझ गोलबद्ध गर्नुपर्नेमा पूर्वअध्यक्षहरुको जोड छ ।








प्रतिकृया दिनुहोस्