भैरहवा आएर उपेन्द्र यादवले भने– पर्यावरणीय संकटको न्यायसहितको क्षतिपूर्ति पाउनुपर्छ



भैरहवा– जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको पर्यावरणीय संकटको न्यायसहितको क्षतिपूर्ति आर्थिक तथा राजनीतिक रुपमा शक्तिशाली मुलुकबाट माग्नुपर्ने बताएका छन् ।
सोमबार पार्टी जिल्ला कमिटी, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नेपालको कार्बन उत्सर्जनमा योगदान नगन्य रहे पनि विकसित तथा आर्थिक रुपमा शक्तिशाली मुलुकहरुले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्दा त्यसको प्रत्यक्ष असर नेपालजस्ता हिमाली मुलुकले भोग्नुपरेको जनाए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले बढ्दो तापक्रमका कारण हिमालमा हिउँ पग्लिने दर तीव्र बन्दै गएको र यसले समग्र पर्यावरणीय प्रणालीमा गम्भीर संकट निम्त्याएको बताए । ‘नेपालले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा दृढतापूर्वक आफ्नो विषय उठाउँदै वातावरणीय क्षतिबापत न्यायसहितको क्षतिपूर्ति माग गर्नुपर्छ’, उनले भने । अन्तर्राष्ट्रिय वातावरणीय तथा जलवायु सम्बन्धी कानुन र मान्यतालाई आधार बनाएर नेपालले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष यादवले नेपाल एक्लैले नभई हिमाली तथा दक्षिण एसियाली क्षेत्रमा जलवायु संकटबाट प्रभावित भारत, बंगलादेश, पाकिस्तान, भुटान र चीनलगायत मुलुकसँग पनि साझा धारणा गराई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत हुनुपर्ने जनाए । अध्यक्ष यादवले प्रभावित राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय समुदायमाथि दबाब सिर्जना गर्न सके मात्र जलवायु न्याय र पर्यावरण संरक्षणका लागि प्रभावकारी पहल गर्न सकिने धारणा राखे ।
‘कार्बन उत्सर्जनमा कुनै योगदान नभएको नेपालले रसुवा बाढी जस्ता भयंकर समस्या भोग्नु परेको छ, त्यसैले हामीले अन्तर्राष्ट्रिय कानून टेकेर भए पनि न्याय माग्नुपर्छ ।’
अर्को प्रसंगमा अध्यक्ष यादवले पार्टी निर्णय विपरीत गएपछि लुम्बिनी प्रदेशका सांसदहरुलाई अनुशासनको कारबाही गरी पार्टीबाट निष्कासन गरिएको जनाए । यस्तै, उनले जान्नेलाई छान्ने भनेको रास्वपा नेतृत्वको वर्तमान सरकारले सुशासन र विकासका क्षेत्रमा कुनै काम गर्न नसकेको बताए । उनले अर्थतन्त्र झनपछि झन विग्रँदो अवस्थामा पुगेको जनाए ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले जुनसुकै पार्टीमा उक्त पार्टीको विधान लागू हुने जनाए । जसपामा अब पार्टी निर्णयविपरीत जाने जोसुकै नेता कारबाहीमा पर्ने जनाउँदै त्यसैको सिलसिलामा लुम्बिनी प्रदेशका सांसदहरु कारबाहीमा परेको सुनाए ।
कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य अजय बर्मा, विद्याप्रसाद यादव, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायले पार्टी विधि, विधान र सामूहिक निर्णयबाट चल्ने बताउँदै आफूखुशी अघि बढेका कारण प्रदेश सभा सदस्यहरु कारबाहीमा परेको जनाएका थिए ।








प्रतिकृया दिनुहोस्