मन्त्री पाण्डेय र स्वकीय देवान आक्रोशित: भने- ‘उपेन्द्र यादव मुर्दाबाद !’



भैरहवा– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको भन्दै संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित चार प्रदेशसभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि विवाद थप चर्किएको छ ।
जसपाले पाण्डेयसँगै प्रदेशसभा सदस्य तथा मन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्य हेमा बेल्बासे केसी र आदेशकुमार अग्रवाललाई कारबाही गरेको हो । उनीहरूले पार्टीको निर्णयविपरीत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएका थिए । ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा भदौ १ गते भएको मतदानमा आचार्यले ४५ मत प्राप्त गर्दै विश्वासको मत पाएका थिए ।
कारबाहीपछि पाण्डेय र उनका स्वकीय सचिव जैनउद्दिन देवान सामाजिक सञ्जालमार्फत जसपा अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक देखिएका छन् । देवानले फेसबुकमा सार्वजनिक गरेको पोस्टमा यादवलाई लक्षित गर्दै ‘लुम्बिनी प्रदेशमा उपेन्द्र यादवलाई बहिष्कार गरौँ’ भन्दै अब खुलेरै लेख्न सुरु गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै अर्को पोस्टमा देवानले यादवको ‘अहंकार र घमण्ड’लाई लक्षित गर्दै थप आलोचनात्मक अभिव्यक्ति दिएका छन् । पाण्डेयलाई समर्थन गर्दै सार्वजनिक गरिएका यस्ता अभिव्यक्तिले जसपा नेपालभित्रको विवाद सामाजिक सञ्जाल हुँदै सार्वजनिक बहसमा समेत आएको देखिन्छ ।
यस्तै, पाण्डेयको सचिवालय उल्लेख गरिएको फेसबुक पेजमा ‘लुम्बिनी प्रदेशमा उपेन्द्र यादवलाई बहिष्कार गरौं, उपेन्द्र यादवको साथ दिनेलाई समेत अब बहिस्कार गरौं । दैलोबाट लखेट्न सुरु गरौं’ भन्ने लेखिएको छ । यस्तै, पाण्डेयको अर्को स्टाटस छ, ‘उपेन्द्र यादव तिम्रो अहंकार, घमण्डलाई तोडेर अगाडि बढ्छु । तिमि दमनकारी त हो यो राष्ट्रलाई थाहा छ तर अब तिम्रो पुच्छरहरुलाई पनि पहिचान गर्ने काम हुँदै छ । तिमिसँग त अब हिसाब हुन्छ, तिमिलाई पछुतो हुन्छ ।’
यस्तै, पाण्डेयको सचिवालयले अर्को पोष्ट गरेको छ, ‘उपेन्द्र यादवले आज पटक–पटक सन्तोष पाण्डेयमाथि गरेको दमन एक दिन अरु वा हजुरमाथि पनि हुनसक्छ । म लडाइँ लड्छु आउने पिंढीको लागि लुम्बिनी प्रदेशको राजनीति पुर्वेलीको हाथमा नदेउ, अब सचेत हौँ ।’ पाण्डेय लुम्बिनी सरकारमा शहरी विकास, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री छन् । उनी पटक–पटक मन्त्री भइसकेका छन् ।
सत्ता समीकरणको केन्द्रमा पाण्डेय
रुपन्देही क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा सदस्य पाण्डेय लुम्बिनी प्रदेशको राजनीतिमा पटक–पटक सत्ता समीकरणको केन्द्रमा देखिँदै आएका नेता हुन् । उनी २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट पहिलोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि पार्टी एकीकरणसँगै जनता समाजवादी पार्टी नेपालमा पुगेका पाण्डेयले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतृत्वसमेत गरेका थिए ।
प्रदेशसभाको पहिलो कार्यकालमै उनी २०७८ वैशाखमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । त्यसबेला नेकपा विभाजनपछि सरकार अल्पमतमा परेका बेला पाण्डेयलाई मन्त्री बनाएर सरकारको समर्थन जुटाइएको थियो ।
२०७९ को प्रदेशसभा निर्वाचनमा भने पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट रुपन्देही ३(१) मा पुनः निर्वाचित भए । त्यसपछि उनी लुम्बिनी प्रदेश सरकारमा पुनः पटक–पटक मन्त्री बने । २०८० वैशाखमा डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा गृहमन्त्री बनेका पाण्डेयले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।
पछिल्लो राजनीतिक यात्रामा लोसपा र जसपाबीचको राजनीतिक फेरबदलसँगै पाण्डेय फेरि जसपा नेपालको राजनीतिमा सक्रिय भए । २०८३ साउनमा मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टी केन्द्रको निर्देशन नमानेपछि उनको मन्त्री पदसँगै पार्टीभित्रको राजनीतिक सम्बन्धसमेत संकटमा परेको छ ।
यससँगै लुम्बिनीमा लामो समयदेखि सत्ता समीकरण परिवर्तन हुँदा निर्णायक भूमिकामा देखिँदै आएका पाण्डेय अहिले भने आफ्नै पार्टी नेतृत्वसँगको टकरावका कारण चर्चामा छन् । पार्टीले निष्कासन गरेपछि पाण्डेय पक्षबाट अध्यक्ष यादवमाथि सार्वजनिक रुपमा भइरहेको आलोचनाले जसपा नेपालको आन्तरिक विवाद अझ गहिरिँदै गएको संकेत गरेको छ ।








प्रतिकृया दिनुहोस्