October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

काँग्रेसमा दाङका चार नेताले पाए अनुशासन उल्लंघनको आरोपबाट सफाइ

Advertisement

दाङ– नेपाली काँग्रेसमा दाङका चार नेताले अनुशासन उल्लंघनको आरोपबाट सफाइ पाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका चार कांग्रेस नेताले सफाइ पाएका हुन् ।

Advertisement

सफाई पाउनेहरुमा दाङका राजु खनाल, प्रचण्डविक्रम न्यौपाने, खगराज पाण्डे र प्रज्ञान न्यौपाने छन् । राजु र प्रचण्डविक्रम लुम्बिनी प्रदेशका पूर्व मन्त्री समेत हुन् । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले उनीहरुलाई आरोप पुष्टि नभएपछि सफाइ दिएको हो ।

समितिले यसअघि उनीहरूसँग स्पष्टीकरण मागेको थियो । नेताहरूले आफूहरूमाथि लगाइएको आरोप निराधार र असत्य भएको तथा पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको दाबी गर्दै स्पष्टीकरण दिएका थिए ।

पार्टीको नीति तथा निर्देशनअनुसार आफूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उनीहरूको स्पष्टीकरणमा उल्लेख थियो । केन्द्रीय अनुशासन समितिको भदौ १८ गते बसेको बैठकले नेताहरूले पेस गरेको स्पष्टीकरण तथा सम्बन्धित मिसिलमा संलग्न कागजात अध्ययन गरेपछि आरोपबाट सफाइ दिने निर्णय गरेको हो ।

अनुशासन समितिका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको पत्रमा उनीहरूमाथि लागेको आरोपबाट सफाइ पाउने ठहर भएको उल्लेख छ । समितिले निर्णयको जानकारी नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति र दाङ जिल्ला कार्यसमितिलाई समेत गराएको छ ।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट दीपक गिरी कांग्रेसका उम्मेदवार थिए ।