September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

सुस्तामा सीमा मानिँदै आएको सिमलको रुख बाढीले बगायो, सीमा विवाद थप जटिल बन्ने चिन्ता

Advertisement

परासी– सुस्तामा नेपाल–भारतको सीमा भनिँदै आएको सिमलको रुख बाढीले बगाएको छ । पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्टाउनका लागि दुवै देशले त्यही सिमलको रुखलाई मान्दै आएका थिए ।

Advertisement

सीमा स्तम्भ नहुँदा साङ्केतिक रूपमा सीमा छुट्याउँदै आएको रुख नै बाढीले बगाएको हो । सुस्तामा २२० घरधुरीका १४ सय ५७ घरपरिवारको बसोबास छ ।विवादलाई समाधान गर्नका लागि सुस्तासँग सीमा जोडिएका नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख र स्थानीयको सहभागितामा १८ वर्षअघि (२०६५ सालमा) सिमलको रुखलाई साङ्केतिक सीमा चिन्ह मान्दै आइएको थियो ।

सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले आपसी सहमतिमा साङ्केतिक रूपमा कायम गरिएको सिमलको रुख नारायणीको बाढीले बगाएको जनाए । नवलपरासीको नारायणी नदी पारी रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक–पटक विवाद गर्दै आएको छ । पछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्नसक्ने भन्दै तत्कालका लागि स्थानीयस्तरमा आउनसक्ने विवादतर्फ ध्यान दिन सुस्ताबासीले सम्बन्धित निकायले ध्यान दिन माग गरेका छन् ।

‘गएराति नारायणी नदीमा आएको बाढीले उक्त रुख बगाएर लगेको हो । बाढीका कारण सुस्ताको थारु टोलामा समेत पानी पसे पनि ठूलो क्षति भने पुगेको छैन’, उनले भने ।

सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा सरकारले १ सय ३२ मिटर तटबन्ध निर्माण गर्न लागेको थियो । तर उक्त तटबन्धलाई महिना दिनअघि भारतीय एसएसबीले अवरोध गरेका कारण काम अघि बढ्न नसक्दा सोही क्षेत्रबाट बाढी पसेको स्थानीयले बताएका छन् ।