September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

पंचकन्या समूहद्वारा रक्तदान, ४२१ युनिट रक्त संकलन

Advertisement

भैरहवा– नेपालको प्रतिष्ठित औद्योगिक घरना पंचकन्या समूहले ५४औँ वर्ष पूरा गरी ५५औँ वर्ष प्रवेशको अवसरमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको तिलोत्तमा–१५ स्थित उद्योग परिसरमा बुधबार खुला रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement

रक्तदान कार्यक्रममा उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरसँगै स्थानीय संघसंस्था, बासिन्दा तथा भैरहवा, बुटवल र तिलोत्तमा क्षेत्रका विभिन्न व्यक्तिले सहभागी भई रक्तदान गरेका थिए । कार्यक्रममा ४२१ युनिट रक्त संकलन भएको समूहले जनाएको छ ।

समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले पछिल्लो समय रसुवालगायतका क्षेत्रमा आएको बाढी तथा विपद्का कारण रक्त अभाव हुन सक्ने भएकाले त्यसमा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले रक्तदान आयोजना गरिएको बताए । उनले विपद्का समयमा मानवीय सहयोग आवश्यक हुने भएकाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर रक्तदान कार्यक्रम गरिएको बताए । रक्तदान मानवीय जीवनको महादान भएको उनले बताए ।

समूहले यस वर्षको वार्षिकोत्सवमा अन्य वर्षजस्तो विशेष कार्यक्रम आयोजना नगरी रक्तदानलाई प्राथमिकता दिएको जनाएको छ । स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै रक्तदान कार्यक्रम गरिएको हो ।

पंचकन्या समूहले यसअघि पनि विपद्का समयमा सहयोग गर्दै आएको छ । समूहले रसुवालगायत विभिन्न क्षेत्रमा विपद् प्रभावितका लागि सहयोग गर्दै आएको जनाएको छ । समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५५ लाख रुपैयाँ सहयोग गरिसकेको छ । त्यसैगरी समूहमा कार्यरत कर्मचारीहरूले पनि विपद् प्रभावितका लागि १५ लाख रुपैयाँ सहयोग रकम जम्मा गरेका छन् ।

समूहका महाप्रबन्धक देवेन्द्र साहुले हरेक वर्ष रक्तदान गरी सामाजिक क्षेत्र र मानवीय कार्यमा योगदान दिँदै आएको बताए । उनले बाढीका कारण रक्त अभाव हुनसक्ने आँकलन गरी यसपटक बृहत् सहभागितामा रक्तदान गरिएको बताए । यसले रुपन्देही र आसपासमा मात्रै नभई मुलुकका अन्य ठाउँहरुमा पनि रक्त अभाव पूर्ति गर्न सकयोग गर्ने उनको विश्वास छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । महाप्रबन्धक साहुले रेडक्रस मार्फत् संकलित रगत आवश्यक ठाउँमा प्रवाह हुने जनाए ।

पंचकन्या समूह नेपालमा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय उद्योग समूहका रुपमा परिचित छ । स्थापना भएको ५४ वर्ष पूरा गरी ५५औँ वर्षमा प्रवेश गरेको अवसरमा समूहले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिँदै जाने जनाएको छ । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले पंचकन्याले हरेक क्षेत्रमा गरेको योगदान जति स्मरण गरे पनि सानै हुने जनाइन् । उनले रक्तदान महादान भएको बताउँदै यस्तो पुण्य कामलाई सबैले साथ दिनुपर्ने बताइन् ।