बाढीपीडितका लागि विद्यार्थीदेखि मजदुरको हातेमालो


भैरहवा – रसुवाको भोटेकोशी बाढीको प्रभाव नदी तटीय भू-भागमा मात्र सिमित छैन । रसुवा–नुवाकोटमा विभिन्न जलविद्युत आयोजनादेखि बन्द व्यापार र घुमफिरका लागि पुगेका मुलुकभरका नागरिक प्रभावित बनेका छन् । बाढीको प्रभाव रसुवा, नुवाकोट, धादिङ, गोरखामा मात्र सिमित छैन । यसको असर मुलुकका सबै जिल्लामा देखिएको छ ।
बाढीको प्रभाव र पीडा खुल्दैं जानेछ । तर, बाढी प्रभावितका लागि अहिले मुलुकभरका बासिन्दाले हातेमालो गरिरहेका छन् । राहत, उद्धार, उपचार, पुनःस्थापना र पुनर्निर्माणका लागि आफ्नो गक्ष अनुसार सहयोग जुटिरहेको छ । दिल खोलेर सहयोग गर्नेमा मुलुकका कर्पोेरेट हाउसमात्र छैनन्, जिल्ला–जिल्लामा विद्यार्थी, मजदूर, नागरिक संघसंस्था, आमा–युवा समूहले सहयोग संकलन गरिरहेका छन् । प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा व्यक्तिगत र संस्थागत रुपमा सहयोग जुटिरहेको छ । त्यस बाहेक पनि समाजका विभिन्न क्षेत्रमा रहेका साना बालबालिकादेखि समूहले बाढी पीडितको पीडामा मल्हम लगाउने प्रयास गरिरहेका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिकाका स्थानीयले खाद्यान्न संकलन अभियान चलाएका छन् । ठाकुरबाबा–८ र ९ का बासिन्दाले स्वःस्फुर्त यस्तो अभियान चलाएका हुन् । ती वडाका प्रत्येक घरबाट ५–१० किलो चामल, ताल र तेल संकलन गरिएको छ । भोटेकोशीको छाल र त्यसले बढारेका बस्ती देखेका स्थानीयले नाई नास्ती नगरेर सहयोग गरिरहेका छन् । यसरी सहयोग गर्नेमा विद्यार्थी पनि अग्रपङ्क्तिमा देखिएका छन् । मंगलबार भैरहवाको साइग्लोवल माध्यामिक विद्यालयका छात्रछात्राले पनि स्वःस्फुर्त प्रधानमन्त्री राहतकोषमा योगदान गरेका छन् । उक्त विद्यालयमा अध्ययनरत बालबालिकाले आफ्नो इच्छा अनुसार सहयोग जुटाएका हुन् ।
बुटवलको क्षितिज इन्टरनेशल कलेजमा अध्ययनरत विद्यार्थीले मंगलबार बाढी प्रभावित क्षेत्रमा पठाउनका लागि खाद्यान्न लगायत राहत सामग्री जुटाएका छन् । उक्त कलेजकी छात्रा शिक्षा अर्यालका अनुसार सबै विद्यार्थीले ५ सय देखि ५ हजारसम्म जुटाएर खाद्यान्न लगायत सामग्री खरिद गरिएकोे बताइन् । ‘बाढीको क्षति हेर्दा हाम्रो सहयोग एउटा परिवारलाई पनि नपुग्ला,’ उनले भनिन्, ‘तर, यस्तो दुखका बेला हामीले हातेमालो गर्नुपर्छ, हाम्रो कतव्र्य हो ।’
दुई दिन अघि भैरहवाको छिमेकी भारतको महाराजगन्जस्थित प्रेस क्लवले पनि प्रधानमन्त्री राहत कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेको थियो । प्रेस क्लवमा आवद्ध सदस्यले व्यक्तिगत रुपमा रकम संकलन गरेर सहयोग जम्मा गरेका हुन् । रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडमा कार्यरत मजदुर तथा कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले आफ्नो पारिश्रमिक कटाएर उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । विपद्का बेला पीडितलाई थोरै भए पनि साथ दिनुपर्छ भन्ने भावनाका साथ सहयोग गरिएको उनीहरूले बताएका छन् ।
उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्की र नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेका अनुसार उद्योगका तर्फबाट यसअघि नै करिब सवा करोड रुपैयाँ बराबरको सहयोग गरिएको छ । त्यसबाहेक उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले व्यक्तिगत रुपमा रकम संकलन गरी बाढी प्रभावितका लागि सहयोग गरेका हुन् ।
रुपन्देहीमा उद्योग रहेको पंचकन्या समूहका कर्मचारी र मजदूरले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । यो समूहका संचालकले १ करोड ५५ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।
विपद्का समयमा उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत मजदुर र कर्मचारीले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि सहयोग गरिएको अर्घाखाँचीमा महाप्रबन्धक कार्की बताउँछन् ।








प्रतिकृया दिनुहोस्