विपदमा दुःखीको सहारा बनिरहेका यादव


परासी– पश्चिम नवलपरासीको सरावल गाउँपालिका क्षेत्रमा विपत्, सङ्कट वा दुःख पर्दा सबैभन्दा पहिले अग्रसर हुने एउटा परिचित नाम हो— वीरेन्द्र यादव । उद्योग वाणिज्य सङ्घ सरावलका उपाध्यक्ष समेत रहेका यादव सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै गाउँवासीका सुख–दुःखको सच्चा सारथी बन्दै आएका छन् ।
यसै क्रममा, भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका सरावल गाउँपालिका–१ नयाँ टोलका ३५ वर्षीय माधव चौधरीको पीडित परिवारलाई यादवले घरमै पुगेर राहत उपलब्ध गराएका छन् ।
वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा कार्यरत माधव बाढीपछि बेपत्ता भएपछि उनको परिवार छाक टार्नै नसक्ने अवस्थामा पुगेको थियो । घरको एक मात्र कमाउने व्यक्ति हराएपछि सहाराविहीन बनेकी श्रीमती सीता चौधरी र साना बालबालिकाको दर्दनाक अवस्था बुझेर यादव खाद्यान्न सामग्री बोकेर उनकै आँगनमा पुगे ।
यादवले परिवारलाई करिब एक महिनासम्म पुग्ने चामल, दाल, आलु, प्याज, खानेतेल लगायतका आवश्यक खाद्य सामग्री हस्तान्तरण गरेका हुन् । राहत प्रदान गर्दै उनले भने, ‘दुःखको यो घडीमा चौधरी परिवारलाई एक्लो पर्न दिने छैनौँ। खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुका साथै आगामी दिनमा पनि सक्दो सहयोग जारी राख्नेछौँ।’
यादवका लागि समाजसेवा कुनै नयाँ विषय होइन। उहाँले वर्षौँदेखि सरावल गाउँपालिकाभित्र कसैको मृत्यु हुँदा शोकसन्तप्त परिवारलाई ठूलो आर्थिक र सामाजिक राहत दिँदै आएका छन् ।
गाउँपालिकाभित्र जुनसुकै व्यक्तिको निधन हुँदा शवलाई पवित्र धार्मिक स्थल त्रिवेणी धामसम्म लैजानका लागि निस्शुल्क सवारी साधन (गाडी)को व्यवस्था र दाहसंस्कारका लागि आवश्यक पर्ने दाउरा यादवले वर्षौँदेखि आफ्नै निजी खर्चमा उपलब्ध गराउँदै आएका छन् । आफन्त गुमाएर शोकमा परेका परिवारलाई गाडी र दाउराको जोहो गर्ने थप झन्झटबाट मुक्ति दिलाउँदै उनले देखाएको यो मानवीय भावनाको सिङ्गो गाउँपालिकाभरि उच्च प्रशंसा हुने गरेको छ।
उद्योग वाणिज्य सङ्घको उपाध्यक्षका रूपमा व्यवसायीका हकहितमा आवाज उठाउने मात्र नभई, सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने यादवको यो शैलीले स्थानीय माझ उनको पहिचान एक समर्पित र भरोसायोग्य समाजसेवीका रूपमा स्थापित भएको छ।
यसैबिच, बेपत्ता माधव चौधरीकी श्रीमती सीता चौधरीले आफ्नो श्रीमान्को खोजी र उद्धारका लागि पहल गरिदिन स्थानीय प्रशासन र सम्बन्धित निकायहरूसँग अपिल गरेका छन् । संकटको बेला घरमै आएर खाद्यान्न सहयोग गरेकोमा उनले समाजसेवी यादवप्रति आभार व्यक्त गरेका छन् ।








प्रतिकृया दिनुहोस्